मंसिर ०६, २०८१, बिहीबार
               

काठमाडौँ उपत्यकामा सवारी हर्नमा कडाइ, एक दिनमै ४१३ जनालाई कारबाही

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ - ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभाबी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो।

महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारबाहीलाई तीव्रता दिइएको ट्राफिक प्रहरीले बताएको छ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए। महाशाखाले जथाभाबी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो ।

उनले भने, ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ।’ यसअघि उपत्यकामा २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो।

उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन। महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट ५०० रुपैयाँ कारवाहीस्वरुप लिँदै आएको छ। यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन्।

 


कस्तो लाग्यो ?

यो पनि