बैशाख २७, २०८१, बिहीबार
               

सडक निर्माणको माग गर्दै थलीमा यातायात अवरुद्ध

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ - चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।

सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन्। वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडक खण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले दुःखेसो पोखेका छन्।

सलम्बुटारदेखि इन्द्रायणी, नयाँ पाटी, डाँछी, थलीलगायतका सडकमा ठुला–ठुला खाल्डाखुल्डी छन्। दैनिक आवतजावत गर्नुपर्ने हजारौँ सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीयवासी जयराम पुडासैनीले बताए।

सोही विषयलाई लिएर मङ्गलवार बिहान थलीका स्थानीयवासीले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन्। स्थानीयवासीले कुनै पनि सवारीसाधन चल्न नदिई सडक अवरुद्ध गरेका थिए । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए। सडक निर्माण छिटो गर्नुपर्ने स्थानीयवासीको माग थियो।

सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक खण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

कुल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए। तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन।


कस्तो लाग्यो ?

यो पनि