यतिबेला नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली अलपत्र अवस्थामा छन् । हामीहरूमध्ये कोही आफ्नै परिवारका सदस्य गुमाएका कारण नेपाल आएका थियौँ । एकजना आमाको निधनपछि रीतिरिवाजअनुसार काजकर्म गर्ने नेपाल आएका हुन् । एक जना महिला खाना पनि खान नसक्ने दूधे बालक श्रीमानलाई केही दिनका लागि जिम्मा लगाएर नेपाल आइकी थिइन् । उनी घुम्न होइन । मनोरञ्जनको उद्देश्यले होइन विशुद्ध पारिवारिक कामको चटारोले एक साताका लागिमात्र नेपाल आएकी थिइन् । एक सातासम्म बच्चाको हेरचाह बुबाले गर्ने गरी उनी नेपाल आएकी थिइन् । यस्तै यस्तै पीडा भरिएको यथार्थ छ अहिले हामी बिचल्लीमा परेकाहरूको । परिवारसँग छुटेर अनिश्चित कालसम्म नेपाल बस्नु परिरहेको छ ।
तीन/चार महिनादेखि अलपत्र पर्दा सबैको बिचल्ली हुँदै गएको छ । पेसा व्यवसाय त चौपट्ट हुने नै भयो । बैंक ब्याज तथा कर्जा चुक्ताले पिरोलिइरहेको छ धेरैलाई ।
समस्या परिवार एक ठाउँ नभएकोमात्र होइन । अधिकांश नेपाली हङहङ आइडी पाएर त्यहाँ बसेका छन् । उनीहरूले त्यहाँ आफ्नो रोजगारी गरिरहेका छन् । कतिपयले उद्यम तथा व्यापार पनि गरिरहेका छन् । घर किनेका छन् । यी सबै काम गर्दा बैंकबाट ऋण लिइएको छ । तर तीन/चार महिनादेखि अलपत्र पर्दा सबैको बिचल्ली हुँदै गएको छ । पेसा व्यवसाय त चौपट्ट हुने नै भयो । बैंक ब्याज तथा कर्जा चुक्ताले पिरोलिइरहेको छ धेरैलाई ।
यो यथार्थ हो । बिचल्लीमा परेका हङकङवासी जो अहिले नेपालमा छन्, उनीहरूको वास्तविक कथा हो यो । पीडा र व्यथा पनि हो यो । पीडामा मलहम लगाउनु पर्छ । मलहम लगाउने नेपाल सरकारले हो । हङहङमा रहेको नेपाली कन्सुलरको कार्यालयले हो । हङकङमा रहेका अनेकन् नाममा संघ संगठनहरूले हो । गैरआवासायी नेपालीको हितमा काम गर्छु भनेर कुर्लने एनआरएनए हङकङले हो । तर सत्य तीतो हुन्छ । उनीहरू अहिले नेपालमा राहत-सहयोग बटुल्ने र सामाजिक सञ्जालमा प्रचार गराउने काममै रमाइरहेका छन् । पीडाको बोध त पीडकलाई मात्र थाहा हुँदो रहेछ । अहिले हामी पीडितहरू नेपालमा अलपत्र परिरहेका छौँ । अब त भरै के खाने र कहाँ बस्ने भन्ने अवस्थामा धेरैजना पुगिसकेका छौँ ।
नक्कली पिसिआर रिपोर्टको सहारामा नेपाली त्यता पठाइएको खबर हामीले पनि सुनेका थियौँ । त्यो गलत काम अहिले अलपत्र परेका हामीले गरेका होइनौँ । त्यसो हुँदा हामी किन आफूले नगरेको गलत कामको सजाय भोग्न विवश भइरहेका छौँ ?
प्रवासमा रहेका नेपालीहरूलाई परिआएको बाधा व्यवधान फुकाउने र उनीहरूको उद्धार तथा रेखदेख गर्न खोलिएको हो कन्सुलर कार्यालय । हामी नेपालमा बिचल्लीमा परेकाहरूले कन्सुलर कार्यालयमा लगातार सम्पर्क बढाएका छौँ । तर उताबाट खासै पहल भएको छैन । अझ भन्नुपर्दा सकारात्मक रेस्पोन्स पनि हुने गरेको छैन । विपद्मा र असहज अवस्थामा सहायता नगर्ने भए किन चाहियो कन्सुलर कार्यालय ?
गैरआवासीय नेपाली संघ हङकङ पनि छ । अनेक जाति र समुदायका फरकफरक संस्थाहरू पनि खुलेका छन् । ती सबै संस्थाहरूमा भोजभतेरका काम कार्यक्रममा भिड नै लाग्ने गरेको देखिएको छ । तर नेपालमा अलपत्र भएको महिनौँ भइसक्दा पनि ती निकायहरू कानमा तेल हालेर बसेका छन् । उनीहरू कोभिड महामारीलाई एउटा उपयुक्त बहाना बनाएर सामाजिक सेवा गरेको देखाउन र आफू त्यसमा देखिनँ तल्लीन छन् ।
नेपालबाट हङकङ उडान भर्ने क्रममा विगतमा त्रुटि गरिए होलान् । नक्कली पिसिआर रिपोर्टको सहारामा नेपाली त्यता पठाइएको खबर हामीले पनि सुनेका थियौँ । त्यो गलत काम अहिले अलपत्र परेका हामीले गरेका होइनौँ । त्यसो हुँदा हामी किन आफूले नगरेको गलत कामको सजाय भोग्न विवश भइरहेका छौँ ?
नेपाल सरकारको परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयले हाम्रो पीडामा मलहम लगाउने काम गरोस् । हङकङसँग तत्काल कूटनीतिक पहल गरी हामीलाई कर्मभूमि फर्किने वातावरण शीघ्र मिलाइयोस् । हामीले परिस्थितलाई पनि बुझेका छौँ । विश्व अवस्थाबारे पनि जानकार छौँ । त्यसैले खोप लगाएका छौँ । खोप लगाएको क्यूआर कोडसहितको रिपोर्ट कार्ड पनि लिएका छौँ । अब मात्र नेपाल सरकारको कूटनीतिक पहल चाहिएको छ । सके नियमित उडान सुचारु होस् । नेपाली नागरिकता र पासपोर्ट बोकेर नेपाल र नेपालीप्रति गौरव गर्ने हामी तत्काल नियमित उडान सम्भव नभए अलपत्र परेका हामी नेपालीका लागि चाटर्ड फ्लाइटको व्यवस्था गर्न विशेष आग्रह र माग गर्दछौँ ।
- नेपालमा अलपत्र परेका हङकङवासी नेपाली नागरिकहरू