असोज २३, २०८१, बुधबार
               

राप्रपा महाधिवेशन : अवसर कि चुनौती !

जनकराज पाठक
साउन २०, २०७८

ADVERTISEMENT

राप्रपा महाधिवेशनको तयारीमा जुटेको छ । कोभिड महामारीको प्रतिकूलतालाई चिर्दै केही गतिविधि भइरहेका छन् । महाधिवेशन भन्ने बित्तिकै नीति र नेतृत्वको बहस सबैतिर उठ्ने गर्दछु । राप्रपाको राजनीतिमा पनि यसको तरङ्ग नपर्ने कुरै भएन ।

आगामी महाधिवेशन कसरी सफल बनाउन सकिन्छ भन्ने साझा उद्देश्य लिएर केही दिनअघि काठमाडौँमा राप्रपामा सक्रिय युवाले जमघट भयो । स्थापनाकालदेखि क्रियाशील युवाको चिन्ता राप्रपा किन राजनीतिक रूपमा असफल भयो भन्नेमा केन्द्रित थियो ।

अनि अब राप्रपालाई सफल बनाउने सन्दर्भमा करिब चार घण्टा निरन्तर छलफल भयो । छलफलमा मैले पनि सहभागी हुने मौका पाएँ । छलफलपछि मनमा उब्जिएका केही विषयमा चर्चा गर्नु सान्दर्भिक ठानेको छु ।

यस्तो जनपक्षीय चिन्तन बोकेको तथा सफल नेताहरूले नेतृत्व गरेको राप्रपा किन राजनीतिक वृत्तमा कमजोर हुँदै छ ? मध्यमार्गी दलको रूपमा नेपालको राजनीतिक क्षीतिजमा राप्रपालाई कसरी उदाउँदो शक्ति बनाउने ? यो अहम् जिम्मेवारी अहिलेको नेतृत्व सामु छ । यो अवसर हो र चुनौती पनि ।

मानव जातिको उच्चतम आदर्शमा निहित न्याय, समानता र मानवतामै अडेको नेपालको धर्म-संस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरतालाई संवर्द्धनवादको रूपमा लिइएको छ भने आर्थिक, राजनीतिक, सामाजिक समावेशिता, प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा वहुलवादी प्रजातन्त्रमा आधारित सशक्तीकरणका संस्थागत आयामहरूलाई प्रगतिशील उदारवादको रूपमा हेरिएको छ ।

यो चिन्तनको धारहरूको मिश्रण र संयोजन उदारवादी चिन्तन हो । यही चिन्तन गरिबलाई मुक्ति दिलाउन र भ्रष्टाचारविरुद्धको संघर्ष तथा नयाँ समाज निर्माणको आधार पनि हो ।

बहस र चिन्तनलाई प्रोत्साहन गर्दै मेरो राज्य छ भनी जनता सुरक्षित रहने, कानुनी मात्र नभई अवसरसमेतको समानता दिने चिन्तन नै राष्ट्रिय प्रजातन्त्र पार्टीको चिन्तन हो । यो उच्च चिन्तन जगमा राप्रपाले अवसर पाएको खण्डमा दस वर्षभित्र मुलुकको कायापलट गर्न सक्छ ।

धर्म संस्कृति, मुलुकको गौरवशाली इतिहास, सदियौँदेखिको धर्मको मानवतावादी दृष्टिकोण राप्रपाको परिचय हो । बहुमतको शासन, अल्पमतको सम्मान, प्रेस तथा वाक स्वतन्त्रताको पूर्ण प्रत्याभूति, संघसंस्था खोल्न पाउने अधिकार, व्यक्तिको जिउधनको सुरक्षा राप्रपाको चिन्तन हो ।

यस्तो जनपक्षीय चिन्तन बोकेको तथा सफल नेताहरूले नेतृत्व गरेको राप्रपा किन राजनीतिक वृत्तमा कमजोर हुँदै छ ? मध्यमार्गी दलको रूपमा नेपालको राजनीतिक क्षीतिजमा राप्रपालाई कसरी उदाउँदो शक्ति बनाउने ? यो अहम् जिम्मेवारी अहिलेको नेतृत्व सामु छ । यो अवसर हो र चुनौती पनि ।

मुख्यतः आरामदायी र सजिलो किसिमले अब गन्तव्यमा पुगिन्छ वा पुग्न सकिन्छ भन्ने कल्पना राप्रपा नेतृत्वले छोड्नु पर्छ । राप्रपा अन्य दल बिग्रिएर स्थापित हुने होइन । अन्य दलसँग प्रतिस्पर्धा गरेर राप्रपालाई राजनीतिक केन्द्रमा स्थापित गर्ने अहम् जिम्मेवारी पनि अहिलेको नेतृत्वसामु छ । अर्थात् अरू बिग्रिएर होइन आफू सप्रिएर माथि पुग्नु परेको छ ।

यो चुनौतीसँग लड्न हामीले लिएको विचार, नीति र सिद्धान्त ठीक छ भन्ने सन्देश जनताको माझ कसरी लान सकिन्छ भन्ने अर्जुनदृष्टि हुन जरुरी छ ।

काठमाडौँमा आफूले दाना ख्वाएर राखेका विजुलीगारदले फेसबुकमा नीति, विचार, सिद्धान्त होइन, नेतृत्वलाई देवत्वकरण गर्ने र गर्न लाउने गलत परम्परा राप्रपामा पन्पिरहेको छ । अन्ततः त्यसले नेतृत्वलाई भड्खालोमा हाल्छ नै पार्टीलाई पनि स्थापित हुन दिँदैन । यो गम्भीर विषय हो ।

राजा, धर्म-संस्कृति, कुल-परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायती व्यवस्थामा काम गरेका, बहुदलीय व्यवस्थामा समेत सफल नेतृत्व दिएका क्षमता र दक्ष निष्कलंक नेताहरूका साथै नीति, विचार र सिद्धान्त पनि हाम्रो अब्बल हुँदाहुँदै हामी कहाँनिर चुक्यौ ?

राप्रपाको नीति, प्रतिबद्धता वा नेता के माथि जनताले प्रश्न उठाएका छन् ? यस पक्षमा गम्भीर भएर विश्लेषण गर्ने कि नगर्ने ? गम्भीर विश्लेषण गरेर यसको निरूपण गर्दै जाने हो भने अझै पनि राप्रपाको राजनीतिक भविष्य सुनिश्चित छ । युवापुस्ताको राजनीतिक भविष्य पूर्ण सुरक्षित हुने छ ।

मुलुकमा केही समयअघि वामपन्थी सरकार आफ्नै कारणले विस्थापित भयो । एमालेका केपी शर्मा ओलीलाई कांग्रेसका शेरबहादुर देउवाले प्रतिस्थापन गरे । मुख्यतः प्रेस, अख्तियार, अदालतमाथि को नियन्त्रण प्रयास अनि आफूभन्दा फरक मत राख्नेलाई पूर्ण निषेध गर्ने वामपन्थी सरकार राप्रपाको रोजाइको थिएन नै । २०५१ सालदेखि ५६ सालसम्मको राजनीतिमा सबैभन्दा विवादास्पद देखिएका देउवा पनि राप्रपाका लागि प्रिय होइनन् । यी दोहरिएका पात्र तिनै हुन् जसले प्रवृत्ति पनि सँगै ल्याएका छन् । पात्र परिवर्तनभन्दा प्रवृत्ति परिवर्तन आजको आवश्यकता हो । यस्ता पात्रबाट परिवर्तनको कुनै सम्भावना राप्रपाले देख्न हुन्न ।

राप्रपा फरक मान्यता र दृष्टिकोण बोकेर हिँडेको छ । राप्रपा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कलासंस्कृति, भेसभुसा संरक्षणमा प्रतिबद्ध छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, यातायात, आवास, व्यक्तिको जिउधनको सुरक्षा, महँगी नियन्त्रण र भ्रष्टाचारविरुद्ध अझ विशेषगरी राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन राप्रपा दत्तचित्त छ । राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धर्म-संस्कृतिको जगलाई मजबुत बनाउन र राष्ट्र निर्माणमा उल्लेख्य योगदान गरेको राजसंस्थालाई पुनर्स्थापना गर्न राप्रपाले भंयकर खालको आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

अन्तिम पटक इतिहासले वर्तमान नेतृत्वलाई एक अवसर दिएको छ । यो अवसरको सदुपयोग गर्दै आफ्नो मूल विषयमा आन्दोलनको आँधीबेहरी सिर्जना गरी राप्रपालाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी दलको रूपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन ।

यी विषयमा आउने जनसमर्थनलाई राप्रपाले मूल पुँजीको रूपमा लिँदै सदुपयोग गर्नु पर्छ । उल्लेखित विषयहरूमा सशक्त ढंगले नेतृत्व लाग्ने हो भने राप्रपा जुरुक्कै उठ्छ । राप्रपाले लिएको विचार संघर्षबाट मात्र स्थापित हुन सक्छ त्यो संघर्षस्थल केवल सडक मात्र हो । आफैँद्वारा पालितपोषित चार-छ जनालाई सञ्जालमा आफ्नो व्यक्तित्व बढाउने र देवत्वकरण गर्न लगाउने प्रवृत्ति राप्रपाका लागि कदापि हितकर छैन । 

कुनै दिनको सर्वशक्तिमान् राप्रपा आज अस्तित्वको लडाइँमा छ । कसरी ? कारण खोज्ने कि ? एकले अर्काको अस्तित्व स्वीकार गर्ने कि नगर्ने ? समीक्षा गर्न ढिला भइसकेको छ । पार्टीले धेरैलाई नेता बनायो । परिचय दिलायो । लाभको पद दिलायो । धेरैले पार्टीलाई प्रयोग गरेर सुख आर्जन गरे तर आज पार्टी थला परेको छ । हिजो लाभ लिनेहरू बाटो लागिसकेका छन् । कतिलाई नेतृत्वले नै छोड्न बाध्य पार्दै छ ।

यी प्रश्न व्यक्ति विशेषका होइनन् । साझा हुन् । महाधिवेशनमा यस्ता प्रश्नका चाङ लिएर कार्यकर्ता आउँदै छन् । अँध्यारो भविष्य र समाजमा असुरक्षित हुँदाहुँदै राप्रपाको विरासत थामेर महाधिवेशनमा उपस्थित हुने कार्यकर्ताहरू नेतृत्वको प्राण हुन् । यस्तो प्राणले चित्त बुझ्दो उत्तर नपाए उडेर जान सक्छ ।

नेतृत्वमा पनि जालझेल, छलकपट रहन हुन्न । वर्तमानमा हाम्रो नेतृत्वको जुन उचाइ छ त्यो केवल राप्रपाको नाममा प्राप्त भएको बिर्सन हुन्न ।

अन्तिम पटक इतिहासले वर्तमान नेतृत्वलाई एक अवसर दिएको छ । यो अवसरको सदुपयोग गर्दै आफ्नो मूल विषयमा आन्दोलनको आँधीबेहरी सिर्जना गरी राप्रपालाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी दलको रूपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन ।

जालझेल र छलकपटबाट मुक्त हुँदै दृढ संकल्पका साथ नेतृत्व तह मेहनत गर्दै लाग्ने हो भने अबको केही वर्षमै राप्रपा राजनीतिको मूलधारमा स्थापित हुनेछ । राप्रपाले मुलुकको नेतृत्व गर्नेछ ।

यस्तो चासो, चिन्ता, अवसर र चुनौतीबीच युवामा पनि राप्रपालाई स्थापित गराउने सकारात्मक प्रतिबद्धता देखिएको छ त्यसलाई नेतृत्वले मनन गर्दै परिचालन गर्न सक्नु पर्छ । किनकि अवसर सदैव आउँदैन । फलामलाई ताकेकै बेला आकार दिने हो । 

लेखक राप्रपा केन्द्रीय सदस्य हुन् ।

कस्तो लाग्यो ?

यो पनि