चैत १५, २०८०, बिहीबार
               

अपवाद बनुन् देउवा, शुभकामना !

अर्जुन खड्का
असार २९, २०७८

ADVERTISEMENT

२०४६ सालयता हरेक प्रधानमन्त्रीको आगमन उत्साहवर्धक थियो । कतिपय त धेरै शक्तिशाली ढंगले सिंहदरबार छिरेँ । केपी शर्मा ओली नै दोस्रोपटक प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्दा कसैले कर्के नजर लगाउने हिम्मत गर्ने अवस्था थिएन । उनी 'चक्रवर्ती' नै थिए । सत्तारोहणमा सबैमा उत्साह थियो । ओलीमा पनि ।

बहिर्गमनको अवस्था भने ठीक उल्टो छ । औसत सरकारहरूले ६ महिनामै आफ्नो लोकप्रियता गुमाउने गरेका छन् । सरकार गठनताका गरिएका अपेक्षा त्यो सीमित अवधिभित्रै मरिसकेको हुन्छ । यसमा अनपेक्षित अपेक्षा पनि एउटा कारक होला । तर मुख्य कारण शासकले जनतालाई भुल्नु नै हो । उत्तरदायित्व बिर्सनु नै हो ।

पछिल्ला दशकहरूको राजनीतिमा सर्वाधिक सफल ठानिएका गिरिजाप्रसाद कोइरालाको समेत सत्ताबाट बहिर्गमन सहज भएन । सन्त नेता कृष्णप्रसाद भट्टराईले २०४८ सालमा आम निर्वाचन गराए । त्यसअघि त्यो सरकारले २०४६ सालको परिवर्तनलाई संस्थागत गर्न संविधान बनाउने काम गर्‍यो, मस्यौदा समितिमार्फत । संविधान जारी गरेपछिको निर्वाचनमा भट्टराई स्वयं पराजित भए । तर उनले सहज रूपमा सत्ता हस्तान्तरण गरे । सत्ताबाट उनको यो विवाद अझै सम्मानित छ ।

त्यसयताका बहिर्गमन भने निकै दुखदायक छन् । २०५१ सालमा कांग्रेसकै कारण गिरिजाप्रसादको कुर्सी गुम्यो । विद्रोह र जनआन्दोलनको रापतापमा आएका प्रचण्डले पनि पहिलोपटक सिंहदरबार निकै असहज परिस्थितिमा छोड्नु परेको थियो ।

संसदीय राजनीतिमा विसंगति भित्र्याएकोसमेतका संगीन आरोप झेलेका देउवाले सामाजिक न्याय र रुपान्तरणमा निकै सकारात्मक कदम चालेका थिए । कमैया मुक्ति, महिला आयोग, आदिवासी जनजाति प्रतिष्ठान गठनलगायतको गठनमा उनकै अग्रसरतामा भएको थियो ।

शेरबहादुर देउवा आफ्नो प्रधानमन्त्रीको पाँचौँ इनिङ्स सम्हाल्दै छन् । यसअघिको सिंहदरबार यात्रा उनको त्यति मीठो छैन । पछिल्लोपटक शासनको बागडोर सम्हाल्दा उनी निकै विवादमा मात्र परेनन्, कांग्रेसको आकार खुम्चाउने दोस्रो सभापति (पहिलो संविधानसभामा गिरिजाप्रसाद थिए) बन्न पुगे । 

इतिहासले देउवालाई फेरि कुर्सीमा ल्याएको छ । यसपटक उनलाई अवसर नै अवसर छ । चुनौतीका पहाड खडा छन् । ती चुनौतीको सामना गर्न सक्नु नै अवसर हो । बिना चुनौतीको अवसरले कीर्तिमान बनाउने होइन । जनता कोरोना महामारीबाट प्रभावित छन् । खोप पाइरहेका छैनन् । व्यापार व्यवसाय डुबेका छन् । भ्रष्टाचार झनै चुलिएको छ । नेपालमा बाह्य चासो र प्रभाव बढ्दो छ । विषम परिस्थितिको सामना गर्दै जनतालाई सुबिस्ता दिन सक्नु नै प्रधानमन्त्रीको दायित्व हो ।

नवनियुक्त प्रधानमन्त्री अनुभवको खानी हो । सर्वाधिक बढी सरकारको नेतृत्व सम्हालेका नेता हुन् देउवा । अनुभव पनि एउटा पाठशाला हो । अबका दिनमा देउवाबाट अपेक्षित कामहरू हुन सकुन् । उनले जनपक्षीय कदम चाल्न सकुन् । कुर्सी स्थायी होइन । उनले पनि छोड्नै पर्छ । तर अबको देउवाको विवाइ भव्य बन्न सकोस् । विगतमा आलोचना र विवादमा तानिएका देउवा यसपटक सिंहदरबारबाट बाहिरिँदा अपवाद बनुन् देउवा । शुभकामना ! 

खड्का nepalflash.com का सम्पादक हुन् ।

कस्तो लाग्यो ?

यो पनि