बैशाख १५, २०८१, शनिबार
               

ओखती मुलो नभए पनि सलामी दिने गोली त जोहो गरेकै हाेलाउ नि, सरकार !

चेतन पाण्डे
बैशाख १५, २०७८

ADVERTISEMENT

हिजोआज मन बेचैन छ । सहर बस्ती फेरि एक पटक कोरोनाको आक्रमणले मुर्छित बन्न थालेका छन् । मरिन्छ कि भन्ने त्रास फेरि बढेको छ । जसले नागरिकलाई बचाउने पहिलो कार्य गर्नु पर्थ्यो उहाँ त घुम्ने कुर्सीमा कालो चस्मा लगाएर फनफनती गोल चक्कर मात्र खाइ बक्सिरहेको छ । नागरिकको बाँच्ने आधारहरूमा निषेधाज्ञा ठोकेर ।

घुमिफिरी रुम्जाटार ! कोरोनाको कहर कम हुँदै गर्दा ताका अब त मरिन्न कि भन्ने भ्रमपूर्ण विश्वासको श्वास फेरेर बाँच्न पाइएको थियो । जिन्दगीभन्दा पनि ठुलो भ्रम रहेछ, कोरोना । कहिले, कहाँ, कसलाई निल्ने हो, पत्तै नपाइने । अब त हिजो बाँचे भनेर राहतको श्वास फेर्नुभन्दा पनि भोलि मरिन्छ कि भन्ने भयमा बाँच्नु पर्ने दिन आएको छ । दैलो ठोकेर नआउने कोरोनाबाट अचानक मरिन्छ कि भन्ने त्रासलाई अँगालोमा बेरेर हरेक पल मर्नु पर्ने दिन आएको छ । हुन त एक वर्ष अगाडि पनि यस्तै भयको बादलमा मडारिएर बाँचिएकै थियो । त्यही अवधिमा कतिलाई कोरोना भाइरसले टप्प टिपेर लगेको पनि देखियो । अरू मरे भनेर दुख मनाउनुको सट्टा म मरिन भनेर खुसी मनाउनु पर्‍यो । बेइमान हुँदो रहेछ, बाँच्ने चाहना । त्यही कारण माया गर्नेका लास अगाडि पनि जान सकिएन । आफू पनि मर्ने हो कि भन्ने भयले । 

जनता फेरि एक पटक मूल ढोका बन्द गरिएको पशुपतिनाथको शरणमा पुगेका छन् । सरकार त कुर्सी कै दाउपेचमा व्यस्त छ । जसरी एक वर्ष अगाडि थियो ।

कोरोनाले सामाजिक दुरी मात्र होइन मनको दुरी पनि बढाएकै रहेछ । फेरि बढाउने छ । अब त झन् बढाउने छ । आउने दिनमा लासको गन्ती बढाए झैँ ।

लागेको थियो । कोभिड कारखानामा मरेका लासहरू देखेर राज्य केही लायक बन्छ कि भन्ने । जनताका बारेमा सोच्ने भयो कि भन्ने । भ्रम रहेछ । मेरो राज्यले त अहिलेसम्म ताते ताते पनि गर्न जानेकै रहेनछ । कोभिड सङ्क्रमणसँग जुध्न । त्यसैले जनता फेरि एक पटक मूल ढोका बन्द गरिएको पशुपतिनाथको शरणमा पुगेका छन् । सरकार त कुर्सी कै दाउपेचमा व्यस्त छ । जसरी एक वर्ष अगाडि थियो । सिन्को समेत भाच्न सकेको रहेनछ । हिजोको स्वरुपमा आज केही परिवर्तन छैन । परिवर्तन त छ, राजनीतिक छलकपटमा । अनियमितताको शैलीमा । सत्ताका लागि जतिसुकै निहुँरिन सक्ने क्षमतामा । राजनीतिक ढोँगमा । हिजो नेकपा एक थियो, अहिले दुई भयो । जनताका मन त झन् हजारौँ टुक्रा टुक्रामा बाँडिएका छन् । आक्रोशको तापमा रन्किएको छ । टुक्रिएका र रापिएका मनलाई राज्यले न सम्हाल्न सक्यो, नत शान्त बनाउन नै । 

लाग्न थालेको छ, अब केही दिन वा महिना पछि म पनि अस्पतालमा त्यसरी नै छटपटाउने छु, जसरी हिजो मेरा प्रियजनहरू छटपटाएका थिए । म पनि त्यसरी नै आर्यघाटमा लड्ने छु जसरी हिजो मेरा प्रियजनहरू लडेका थिए । जाने छु बिदा भएर यो लोकबाट सेनाको बन्दुकको सलामी खाएर । मेरो राज्यले दिन सक्ने भनेको त्यही केही गोलीको सलामी त रहेछ । न बचाउने हात छ, नत बाँच्ने ग्यारेन्टी । राज्यले छाती मै नठोके पनि मेरा नाममा केही सग्लो गोली सलामत राखेकै होला । नागरिकको उपचारको जोहो गर्न नजान्ने राज्यले हतियारको जोहो गर्न त जानेकै हुन्छ ।

०००

मेरा मामाका छोरा, अनिल दाइ । जिन्दगी जिउन जान्ने कमै मध्ये एक ! सबैसँग मिठै बोल्थे । जिन्दगीमा ईर्ष्या गर्ने बढी भए पनि शत्रु कमै कमाएका थिए, शायद । झन्डै ९० वर्षको हाराहारीमा पुगेका बाबुको एक मात्र सहारा । दुई सन्तानका अभिभावक अनि मायालु पत्नीका पति ।

कोरोनाले आफ्नो त्रासमा केही कमी ल्याइ सकेको थियो । नेपाल जस्तो मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाइ सकेको थियो । नेकपाभित्र खुट्टा तानातान चरम बिन्दुमा पुगी सकेको थियो । राज्य सञ्चालकहरू जनताको दुख–सुखमा जुट्नु पर्ने अवस्थामा कुर्सीको लुछाचुँडी मै व्यस्त थिए । सिंहदरबारबाट बालुवाटार सरेको कुर्सी बचाउने र ढलाउनेहरूले जनताको कष्ट महसुस गर्न सकिरहेका थिएनन् । न मुलुकका अस्पतालहरूमा भेन्टिलेटर थपिएका थिए, नत आइसियु बढाइएका थिए । कोरोनाको दोस्रो लहरका लागि आवश्यक उपचार सामग्री र भौतिक पूर्वाधारको जोहोमा राज्यको ध्यान तानिएकै थिएन । हो, त्यही समयताका अनिल दाइ कोरोना सङ्क्रमित बने ।

खान पिउनका सौखिन थिए । मौका मिल्दा मासु र ह्विस्कीको स्वाद लिइन्थ्यो, एकसाथ । खास शब्दमा भन्ने हो भने रसिक थिए । बिन्दास थिए, अनिल दाइ । सकेसम्म कसैको चित्त दुखाउन नचाहने । आफ्नो दुखमा मन कुँडिएको बेला पनि अरूलाई सहयोग गर्न पाउँदा खुसी भइदिने । भगवानको कारखानामा शायद कमै उत्पादन हुन्छन् होला, त्यस्ता मनुवा । 

मरेपछि हर कसैको प्रशंसा गर्नु पर्छ भन्ने मानसिकताले ग्रस्त छ, हाम्रो समाज । तर, अहँ ! म छैन, त्यस्तो । तर, लायक व्यक्तिको मन खोलेर प्रशंसा गर्न कहिल्यै छाड्दिन । नालायक मरे भने पनि गाली गर्न छाड्दिन । लाग्छ, कोही मर्दैमा उसको अवगुणले सफाइ पाउन सक्दैन । गुणीको प्रशंसा चाकडी हुँदैन । म यस्तै सोच्छु । किनकि म यस्तै छु ।

अनिल दाइ कोरोना सङ्क्रमित हुँदा लकडाउनका कारण सासू ससुरा बन्ने सपना तुहिएर बसेका कतिपय माता–पितालाई आफ्ना सन्तानको बिहे गर्दिहाल्ने हतारो थियो । वर्षामा कोरोनाका कारण भोज खुवाएर भव्य बिहे गर्न नपाएकाहरूका लागि उपयुक्त समय थियो, मङ्सिर-पुसको महिना । एक धनाढ्य मित्रको छोराको बिहे भोजमा सरिक हुँदा उनी ज्यानै जाने रोगबाट सङ्क्रमित बने । जसको छोराको बिहे थियो, उनै मित्र कोरोना सङ्क्रमित बनिसकेका रहेछन्, भोज खुवाउने दिनसम्म । न उनले थाहा पाए, नत अरूले नै । थाहा भएको भए, भोजको आयोजना कै किन गर्थे होलान् र’ ? मात्र मेरो शङ्का ! 

त्यो भोजमा मेरा अर्का एक मित्र पनि सरिक बनेका थिए । तर, उनको अगाडि कोरोना टिक्न सकेन वा अगाडि नै पर्न सकेन । खानपिन र स्वभावमा अनिल दाइ जस्तै । तर, कोरोनाले अनिल दाइलाई छाडेन । अर्का मित्रलाई छुन पनि सकेन । बेइमान भाइरस । कसैलाई कप्लक्कै निल्ने, कसैको छेउमा पनि टिक्न नसक्ने । दुईमा केही फरक थियो त एउटै मात्र । मेरा मित्र अत्यधिक शारीरिक व्यायाम गर्ने, अनिल दाइ चाहिँ म जस्तै अल्छी । व्यायाम नै नगर्ने ।

केही दिन त चिसोका कारण बिरामी भइयो भन्ने भ्रममा घर मै बसेका थिए । घरेलु उपचार गर्दै । जब शरीरले कोरोनाको आतङ्क सहन सकेन सिधै आइसियुमा भर्ना भए । भेन्टिलेटरमा पुगे । झन्डै एक साता जति बसे, स्टार हस्पिटलमा । हुन पनि उपचारका लागि न औषधी बनेको छ, नत अरू उपाय नै पत्ता लागेका छन् । जीवन जोगाउने उपचार नै नपाएर बिते अनिल दाइ । निकै दुख पाएर । भेन्टिलेटरले पनि बचाउन सकेन । उपचारको कुनै औषधी नै नबनेको रोगका बिरामीलाई एक साता जति स्याहार गरेको अस्पतालले झन्डै ११ लाख रुपैयाँको बिल थमाएछ । लाग्यो, मानिसको रगत चुसेर कोरोना जति आनन्दमा छ, त्योभन्दा बढी दंगदास त निजी अस्पतालका मालिकहरू पो छन् कि ? कोभिडको दोस्रो लहर आउँदा सबैभन्दा हर्षित उनीहरू नै छन् कि ? मनमनै भन्नु पर्दा, मानवतामा आएको ह्रास शायद यस्तै हरकतलाई भन्छन् जस्तो पनि लाग्यो । संवेदनाहीन, मानवता विहीन !

म पनि कति न संवेदनशील जस्तो ! कोरोना कै डरले गइएन, उनको अन्तिम संस्कारमा पनि । भाउजूलाई भेट्न मात्र एक पटक गएँ । भाउजू मलाई अति माया गर्नु हुन्छ । तर, उनको आँसुलाई जति बेला हामी जस्ता आफन्तको निकटता आवश्यक थियो । त्यही बेला मृत्युको भयले उनीसँग टाढा भइयो । शायद भाउजूको मनले मेरो बाध्यता बुझेको हुनु पर्छ । तर, अहिले पनि आफैँलाई ‘कन्भिन्स’ गर्न सकिरहेको छैन । म निष्ठुरी हैन भनेर । बस्, नमर्ने रहर मात्र गरेको थिएँ ।

अहिले लाग्छ, अति मायालु पति गुमाएकी भाउजूले अब जीवनमा एक्लै सङ्घर्ष गर्नु पर्ने छ । देखावटी ढाडस दिने त सयौँ होलान् तर, मनदेखि उनको पीडा बुझ्ने को होला र ? म जस्ताले गर्न सक्ने भनेको उनले दुई थोपा आँसु चुहाउँदा मैले एक थोपा आँसु झार्ने मात्र त हो । कसैले नाटक गर्लान् त कसैको मनदेखि निस्किएलान्, आँसुका थोपा । कसैको लोक लाजका लागि, त कसैको भावनासहित । वास्तवमा भन्ने हो सक्दिन म, उनको आँसु पुछेर उनका वियोगलाई कम बनाउन । म मात्रै के ? कसैले सक्दैन, उनको पीडा कम गराउन । किनकि उनले अति मायालु पति गुमाएकी छन् । जिन्दगीभरको सहारा गुमाएकी छन् । अनि अनिल दाइका झन्डै ९० वर्षको हाराहारीमा पुगेका पिताको मनको पीडा कसले पो बुझ्न सक्ला र’ ? उनी जति दुखी जीवनमा कोही पनि छैन कि जस्तो पो लाग्यो, अनिल दाइ बितेको दिन । जन्माएका चार सन्तान र पत्नीको वियोग व्यहोरेका मेरा मामाका आँखा अब थामिन सक्छ जस्तो लागेन । शायद यही वियोग उनलाई लाने कारण पनि बन्छ कि भन्ने पनि लाग्यो ।

अनि बाबुसँग सधैँ लुटुपुटु गर्नु पर्ने अनिल दाइका दुई सन्तानले पहाड जस्तो जीवनमा कति पटक पिता सम्झिएर आँसु बगाउनु पर्ने हो ? त्यसको लेखाजोखा कसले पो राख्न सक्ला र ! 

कोरोनाले लैजाने ज्यान एउटै भए पनि मर्न त धेरैको आत्मालाई मर्ने रहेछ ।

०००

मेरा सासू र ससुरा पनि कोभिड सङ्क्रमित बने । सासूलाई त अस्पताल नै भर्ना गर्नु पर्‍यो । धन्य सरकारी अस्पताल मै बेड पाइयो । उपचारका नाममा सिभिल अस्पतालले ठगेन मेरा ससुरालाई । अनिल दाइको परिवारलाई झैँ । बचाएर पनि पठाए, मेरी सासू आमालाई ।

म पनि कयौँ पटक अस्पताल भर्ना भएकै छु । मनदेखि कुरा मिल्ने मान्छे वरिपरि खोजी नै रहन्छ त्यस्तो बेला । तर, कोरोनाले आफन्तलाई पनि टाढा बनाइदिँदो रहेछ । एक्लै बसिन् मेरी सासू आमा अस्पतालमा । घरबाट खाना लैजानु पर्थ्यो तर, कैदीलाई जस्तै बाहिरै राखी दिनु पर्ने । सामाजिक दुरीको नाममा मनको दुरी बढाइ दिँदो रहेछ, कोरोनाले त । शायद अस्पताल नगएकै कारण होला, निको भएर आएपछि केही दिन घुर्क्याइन् पनि परिवारलाई । आफ्ना बुढासँग त केही दिन राम्रोसँग कुरा पनि गरिनछन् । घर आएर पहिलो पटक भेट्दा मसँग पनि ठुस्किएकै थिइन् । हैट ! मनको दुरी नै बढाइ दिने, यो कस्तो रोग ?

मेरा धेरै आफन्त कोरोना सङ्क्रमित भए । नजिक कसैको जान सकिएन । बुझ्नेले बाध्यता बुझे । नबुझ्ने अहिले पनि आँखा तर्छन् । तर धन्य, मार्टिन कुपरले मोबाइल फोनको आविष्कार गरिदिएका थिए । हालखबर बुझ्न गाह्रो भने थिएन ।

अरूको घरको कुरा गरेपछि आफ्नै घरको त छुटाउनै मिलेन । मेरी पत्नी पनि शायद कोरोना सङ्क्रमित बनेकी थिइन् लक्षण सबै कोभिड कै थियो । त्यही पनि घरको एउटा कोठामा कैदी सरह राख्नै पर्‍यो । लक्षण देखिएको सुरुवाती दिन तिरै अनि १४–१५ दिनपछि गरी दुई पटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ नै आयो । म खुसी थिएँ तर, उ दुखी । उसलाई भने नतिजा पोजेटिभ नआएको दुख अहिले पनि छ । भन्छिन्, ‘कोरोना लागेकाहरूले झैँ मैले पनि दुख व्यहोरेकै थिएँ तर, बिमाबाट आउने एक लाख गुमाए । कुनै लक्षण नदेखिएकाहरुले समेत घरमा आराम गरेर एक लाखको चेक पाए । मैले त्यति दुख पाउँदा ठेँगा मात्र पाए,’ अनि अलि अलि रिसाए झैँ गरेर सबैलाई भन्छिन्, ‘मैले बिचमा पनि पिसीआर गर्न लगिदेऊ भनेकै हो । बुढाले लगेन ।’ म फिसिक्क हाँस्छु मात्र अनि उ पनि ।

ठट्टाबाट पीडामा फर्कने हो भने यो एक वर्षमा कोरोना कै कारण वा अरू रोगले मरेका कसैको अन्त्येष्टिमा त गइएन नै, किरिया पुत्रीलाई समेत भेट्न गइएन । अनेकौँ छन्, एक वर्षको अन्तरालमा मनमा गडेका यस्ता तीता अनुभव । मनलाई मनबाट टाढा बनाउने अनुभवका चाङ ।

सरकार ! सक्छौ भने अब त जनता बच्ने उपाय गर । मरे पनि उपचार पाएर मर्ने वातावरण बनाऊ ! नत्र मेरा मात्र होइन, तिम्रा सन्तानले पनि आफ्ना रगतलाई धिक्कार्ने छन् ।

कोरोनाको दोस्रो कहरमा, सबैको चाहना झैँ मेरो पनि एउटै चाहना छ । कोरोना सङ्क्रमित बन्न नपरोस्, बनियो भने पनि त्यसैको कारण मर्न नपरोस् । कदंकदाचित बनियो र मरियो भने पनि मेरो लासभन्दा अगाडि अस्पतालले थमाउने लाखौँको बिलको तनाव परिवारले सहन नपरोस् । रकमको जोहो गर्ने तनावमा मेरी पत्नीले मेरो लास अगाडि आँसु खसाल्न बिर्सनु नपरोस् । मलाई रहर छ, म मरेपछि मेरा भन्नेहरूको आँखाबाट दुई थोपा आँसु झरोस् । तर, मेरा आफन्तले आँसु झार्नु सट्टा जनतामाथि अस्पताल र राज्यको निकृष्ट व्यवहारलाई गाली गर्दै समय कटाउन गर्न नपरोस् । जनताको उपचार गर्न नसक्ने तर, करोडौँ खर्चेर आफ्नो उपचार गर्न नछाड्ने नेताहरूलाई सराप्न नपरोस् । 

म चाहन्न त्यस्तो मृत्यु जहाँ मेरो मलामी दुई–चार अपरिचित सैनिक बनुन् । अनि म चाहन्न, अनिल दाइ जस्ता प्रिय आफन्तको अन्त्येष्टि मेरो उपस्थिति बिना होस् । अनि म चाहन्न, मेरा सन्तानले उपचारको अभावमा मरेको बाबुको लास हेरेर अपसोच जताउनु परोस् । राज्यलाई धिक्कार्नु परोस् । आफ्नो भाग्यलाई सराप्न परोस् । भित्तामा झुन्डिएका बाबुको तस्बिर टुलुटुलु हेरेर आँसु झर्न परोस् । म चाहन्न सरकार ! म चाहन्न । म मात्र होइन, कसैले रोज्दैन त्यस्तो मृत्यु ।

सरकार ! सक्छौ भने अब त जनता बचाउने उपाय गर । मरे पनि उपचार पाएर मर्ने वातावरण बनाऊ ! नत्र मेरा मात्र होइन, तिम्रा सन्तानले पनि आफ्ना रगतलाई धिक्कार्ने छन् ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि