सबैसित अतीत हुन्छ । मीठा नमीठा सम्झनाहरू हुन्छन् । मसित पनि छन् । मीठा उस्तै, नमीठा उस्तै । तर, जब आफ्नै अतीतसित वार्तालाप गर्न थालिन्छ, बितेर गएका सबै पलहरू सुन्दर लाग्छन् । अर्थपूर्ण पनि लाग्छन् । अतीतको सम्झनाले हामीलाई फेरि पुराना समयसित जोड्छन् । त्यो समयको आर्थिक, सामाजिक र राजनीतिक स्थितिसित जोड्छन् । समाजको तत्कालीन मनोविज्ञानसित पनि जोड्छन् र त्यो समयमा आफ्नो भूमिका, मनोदशा, संघर्ष, सफलता, असफलतासँगै त्यसका कारक र कारणहरूसित पनि जोड्छन् । बेलाबेलामा त्यसैले अतीतलाई खोतलिरहनु राम्रो लाग्छ मलाई । यसपटक पनि त्यही गर्दैछु ।
क्यामराम्यानले दृश्य खिच्नुलाई सिर्जनात्मक काम ठानेको छैन । बस्, जागिरे कर्म ठानिरहेछ । जागिर खाइरहेछ ।
नेपाली सिनेमासित करिब अढाई दशकको संगत भयो । त्यस बखत संगत भयो, जब नेपाली सिनेमा सत्तरीको दशकका हिन्दी सिनेमाका ठिमाहा सन्तान भएर भटाभट उत्पादित थिए । देशमा गार्मेन्ट र गलैँचा उद्योगको हालीमुहाली थियो । सिनेमाका निर्माता निर्देशकका लक्षित समूह तिनै थिए । मूलधार भनिने सिनेमाबाट रचनात्मकता गायब थियो र सिर्जनासित त्यसको टाढाटाढाको साइनो थिएन । र, म त्यस्तो बेलामा नेपाली सिनेमासित जोडिएको थिएँ । सिनेमासितको उधुम आकर्षणले मलाई त्यसरी जोडिन विवश बनाएको थियो । आज सिनेमासित जोडिएको आफ्नो अतीतका केही दृश्यहरू मेराअगाडि चलायमान भएर उपस्थित भएका छन् । त्यो अतीतलाई यसरी दृश्यहरूमा आफैँले अनुभूत गर्दा हाँसो पनि उठ्दो रहेछ । दिक्क पनि लाग्दो रहेछ । असाध्यै खुसी पनि हुँदोरहेछ र उधुम पश्चाताप पनि हुँदोरहेछ । तर, पीडा कहाँनेर हुन्छ भने सिनेमासित जोडिएको आफ्नै अतीतको पटकथामा मैले गर्व गर्न लायक एउटै पनि दृश्य फेला पार्न सक्दिनँ । त्यो अढाई दशकसितको मेरो गुनासो यही हो ।
यो पटकथाको अर्को रोचक पक्ष भने छ । जब म सबै दृश्यहरूलाई एक ठाममा राखेर हेर्छु, एउटा गजबको सिनेमा चाहिँ आँखाअगाडि तयार भैहाल्दो रहेछ । त्यो सिनेमामा देखिँदो रहेछ, त्यो अढाई दशकको नेपाली सिनेमा, त्यससित जोडिएका लेखक, निर्देशक र कलाकारहरूको रोचक झाँकी ।
ल, हेर्नुस्, सुरु भयो त्यो सिनेमा ।
दृश्य-१
२०४५ सालतिरको कुनै दिन । समय रातिको आठ–साढे आठ बजेको हाराहारी । जाडो या गर्मी दिन, त्यो भने मैले सम्झन सकिनँ । म शंकरदेवनिरको एउटा किराना पसलभित्र छु र बीस इन्चीको रंगीन टेलिभिजनतिर बडो उत्सुकतापूर्वक हेरिरहेछु । आज मैले पटकथा र संवाद लेखेको पहिलो टेलिफिल्मको प्रसारण हुँदैछ । ‘त्याग’ शीर्षकको टेलिफिल्म । लगभग आधा घण्टाको । निर्देशक रमेश बुढाथोकी । यो टेलिफिल्म निर्माण वापत नेपाल टेलिभिजनबाट उनले छ हजार रुपैयाँ पाउने छन् । लेखक, निर्देशक, कलाकार, व्यवस्थापक र सुटिङ अवधिभरिको खाजालगायत सबै खर्च त्यही छ हजारबाट पुर्याउनु पर्छ । क्यामरा, एडिटिङ र प्राविधिकहरू भने नेपाल टेलिभिजनले नै उपलब्ध गराउँछ । रमाइलो कुरा के छ भने, यतिखेर निर्देशक पनि मसँगै त्यही किराना पसलको बीस इन्चीको टेलिभिजन अगाडि बसेका छन् । अरु केही कलाकारहरू पनि
जबजब कुनै साहित्यिक कृतिमा नेपाली सिनेमा बने, लेखकलगायत कथा पढिसकेका पाठकहरूको प्रायः एउटै गुनासो रह्यो, धेरै थपथाप भएछ । चेन्ज भएछ । उपन्यास पढेजस्तो मजा सिनेमामा आएन ।
उत्सुकतापूर्वक टेलिफिल्मको प्रसारणको प्रतीक्षामा छन् । टेलिफिल्म शुरु हुन्छ । मैले लेखेका कतिपय संवादहरू फेरिएका छन् । कतिपय इन्डोर दृश्यहरू सुटिङको सुविधाको लागि आउटडोर बनाइएका छन् । इन्डोर दृश्यहरूमा लाइटहरू बाल्नु पर्छ । समय लाग्छ । तर, आउटडोर दृश्यहरूमा सामान्य रिफ्लेक्टरमात्र प्रयोग गरे पुग्छ । समयको बचत हुन्छ । किनभने नेपाल टेलिभिजनले आधा घण्टाको टेलिफिल्मको छायांकनका लागि तीन चार दिनभन्दा बढ्ता क्यामरा उपलब्ध गराउँदैन । क्यामराम्यान लगायतका प्राविधिकहरू सबै जागिरे छन् । त्यसैले उनीहरू दश बजे अफिस आउँछन् । हाजिर गर्छन् । स्टोरबाट क्यामरा, नागरा र बुम लगायतका उपकरणहरू बुझ्दाबुझ्दै एघार–बाह्र बजिसक्छ । स्पटमा आउँदा बाह्र–एक बजिसक्छ र पाँच बजेपछि उनीहरूको ड्युटी सकिन्छ । त्यसपछि उनीहरू फर्किन्छन् । क्यामराम्यानले दृश्य खिच्नुलाई सिर्जनात्मक काम ठानेको छैन । बस्, जागिरे कर्म ठानिरहेछ । जागिर खाइरहेछ ।
टेलिफिल्मको बीचतिर एउटा दृश्य थियो । खासमा त्यो दृश्य एउटा कोठाको थियो, जहाँ एकजना प्रौढ पात्र स्टुलमा चढेर बल्ब फेर्दैछन् । तर, त्यो दृश्य अब आउटडोर भएको छ र संवादहरू पनि फेरिएका छन् । अब ती प्रौढ कोठाको बल्ब फेरिरहेका छैनन्, आफ्नो घरअगाडिको सानो बगैँचामा गोडमेल गरिरहेका छन् । पानी हाल्दैछन् । अर्को पात्रको प्रवेश हुन्छ दृश्यमा । प्रौढ पात्र संवाद बोल्छन्- ‘रातभरि परेको पानीले सबै फूलहरू मुर्झाएछन् ।’
ओइलाएछन् या झरेछन् होइन, मुर्झाएछन् । म दिक्क भएँ । पहिलो गाँसमै ढुंगा लागेको अनुभव भयो मलाई । मैले निर्देशकसित भनेँ- ‘मुर्झाएछन् भन्ने शब्द ठीक भएन । हिन्दी भयो ।’
उनले भने- ‘चल्छ ।’
त्यसपछि अढाई दशकभरि मैले शब्द र भाषाको यस्तो अपहत्ते नेपाली सिनेमामा चलिरहेकै देखेँ ।
पञ्चायती चिन्तनमा हुर्किएका त्यतिबेलाका नेपाल टेलिभिजनका अधिकृतहरू दिनभरि प्रजातन्त्रलाई गाली गर्थे । तर, आफ्नो पदोन्नतिका लागि भने साँझ बिहान भने खुसुक्क नेताहरूको चाकडी पनि गर्थे ।
दृश्य-२
नेपालमा छयालीस सालको जनआन्दोलनको सफलतापछि बहुदलीय प्रजातन्त्र स्थापना भयो । त्यसकै हाराहारीको कुनै दिन । मैले नेपाल टेलिभिजनको एउटा टेलिफिल्म निर्माण र निर्देशन गर्ने मौका पाएँ । त्यसवापत टेलिभिजनले नौ हजार दिने भयो । तिनताक केही समय कथायात्रा अन्तर्गत नेपाली साहित्यका राम्रा कथाहरूमा टेलिफिल्म बनाउने लहर चलेको थियो । धेरै निर्देशकले काम पाएका थिए । मैले पनि पाएँ । मैले मनु ब्राजाकीको ‘अर्थमुक्त’ भन्ने कथा रोजेँ । पटकथा लेखेँ । टेलिफिल्मको नाम भने ‘शब्दकोश’ राखेँ । त्यसमा सानो भूमिकामा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पनि अभिनय गर्नु भएको छ । मुख्य भूमिकामा रुद्रराज पाण्डेले अभिनय गर्नु भएको थियो । टेलिफिल्म प्रसारण भयो । केही दिनपछि मनु ब्राजाकी मेरो मैतिदेवीस्थित डेरामा आउनु भयो । गुनासो गर्नु भयो, ‘तपाईँले मेरो कथाको नाम पनि चेन्ज गर्नु भएछ । नयाँ दृश्यहरू पनि थप्नु भएछ । कथामा भएका सबै दृश्यहरू राख्नु भएन । हुबहु बनाउनु पर्थ्यो ।’
सिनेमा फरक माध्यम हो र दृश्य माध्यममा आउँदा पठनका लागि लेखिएका कथाहरूमा कतिपय दृश्यहरू थप्नु या हटाउनु पनि पर्ने हुन्छ भन्ने समझ त्यतिबेला साहित्यकारहरूमा थिएन । जबजब कुनै साहित्यिक कृतिमा नेपाली सिनेमा बने, लेखकलगायत कथा पढिसकेका पाठकहरूको प्रायः एउटै गुनासो रह्यो, धेरै थपथाप भएछ । चेन्ज भएछ । उपन्यास पढेजस्तो मजा सिनेमामा आएन ।
सिनेमा र साहित्यमा सादृश्य खोज्ने त्यो परिपाटी हालसम्म पनि हटेजस्तो लागेको छैन ।
दृश्य-३
‘शब्दकोश’ बनाउँदाकै हाराहारीको समय हो । परशु प्रधानको चर्चित कथा ‘डल्ले खोला’मा टेलिफिल्म बनाएको छु । भर्खर भर्खर प्रजातन्त्र आएको छ देशमा । अभिव्यक्तिको स्वतन्त्रताको सार्थक उपभोग गर्न पाइन्छ भन्ने विश्वास छ ममा ।
कथामा गाउँका नेताहरूले कसरी पूललगायतको निर्माणमा भ्रष्टाचार गर्छन् र विकाश भन्ने कुरा कागजमा सीमित हुन्छ भन्ने देखाइएको छ ।
तर, नेपाल टेलिभिजनले ‘डल्ले खोला’ को प्रसारण रोक्छ । आरोप लाग्छ मलाई, ‘तपाईँले राजनीतिक विषयवस्तु उठाउनु भयो । नेताहरूमाथि व्यंग गर्नु भयो ।’
निर्देशकको अगाडि शाहजीले त्यस्तो कुरा गरेपछि मैले अपमानित अनुभव गरेँ । छिट्टो रिसाउने बानी मेरो । तात्तिइहाल्छु र भन्छु, ‘यस्तो सोचले तपाईँ शिरीषको फूलको निर्देशन गर्न सक्नु हुन्न । सिनेमा चौपट हुन्छ । तपाईँले निर्देशन गर्ने हो भने म यो फिल्म लेख्दिनँ । गेटआउट ।’
मानौं मैले ठूलै वर्जित काम गरेको थिएँ । पञ्चायती चिन्तनमा हुर्किएका त्यतिबेलाका नेपाल टेलिभिजनका अधिकृतहरू दिनभरि प्रजातन्त्रलाई गाली गर्थे । तर, आफ्नो पदोन्नतिका लागि भने साँझ बिहान भने खुसुक्क नेताहरूको चाकडी पनि गर्थे ।
भर्खर आएको प्रजातन्त्र त्यस्तै व्यक्तिहरूको चाकडी र चाटुकारितामा फसेको थियो ।
म लाचार हुन्छु र सोच्छु, ‘प्रजातन्त्र कसलाई आयो ?’
दृश्य-४
५४-५५ सालको गर्मी दिन ।
निर्माता मलाई नायिका जल शाहलाई पातलो सेतो साडी लगाइदिएर अंगप्रत्यंग देखिने गरी दृश्य खिच्न दबाब दिँदैछन् । म यस्तो दृश्यको औचित्य छैन भनेर सम्झाउँदैछु उनलाई । तर, उनी मानिरहेका छैनन् । भन्दैछन्- ‘हिरोइनलाई अलिकति भए पनि एक्सपोज गर्नु पर्छ ।’
संयोग या दुर्घटना । जे भने पनि हुने । एउटा ठूलो पर्दाको सिनेमाको निर्देशन गर्नु पर्ने जिम्मा आइलागेको छ मलाई । सपना देखेँ र आफैँसित संवाद गरेँ- ‘यो फिल्ममार्फत प्रविधिको राम्रो ज्ञान हासिल गर्छु र पछि त्यो अनुभव सार्थक सिनेमाको निर्देशनमा प्रयोग गर्छु ।’
मलाई मेरै सपनाले दुःख देला भन्ने के थाहा ! तर दियो, मज्जाले दियो । र, आज सुन्दरीजलको एउटा झरनास्थलमा त्यही दुःख भोग्दैछु । पटकथामा आवश्यक छैन । तर, निर्माता मलाई नायिका जल शाहलाई पातलो सेतो साडी लगाइदिएर अंगप्रत्यंग देखिने गरी दृश्य खिच्न दबाब दिँदैछन् । म यस्तो दृश्यको औचित्य छैन भनेर सम्झाउँदैछु उनलाई । तर, उनी मानिरहेका छैनन् । भन्दैछन्- ‘हिरोइनलाई अलिकति भए पनि एक्सपोज गर्नु पर्छ । बजारले यस्तै खोज्छ । दर्शकहरू ओइरिन्छन् ।’
यसरी बजारमा ‘सिर्जना’ मजाक पो बनिरह्यो । र, मैले आफ्नै पहिलो सिनेमाको प्रिमियरमा पनि जाने हिम्मत गर्न सकिनँ । गइनँ ।
दृश्य-५
वाह ! प्रकाश थापासित बसेर स्क्रिप्ट लेख्न पाइने भयो । आज म कति खुसी छु कति ! कान्छी, कन्यादान, मायाप्रितिजस्ता व्यावसायिक रुपमा सफल भएका सिनेमाका निर्माता भगवानदास श्रेष्ठले यो अवसर जुराइदिएका छन् । किशोरावस्थादेखि नै सुनेको र सम्मान गरेको नाम- प्रकाश थापा । जीवनको कुनै मोडमा तिनैसित सँगै बसेर पटकथा लेख्न पाइएला भन्ने कल्पना पनि गरेको थिइनँ । तर, आज त्यो अवसर जुर्यो । लागेको छ, पटकथाका धेरै भित्री कुराहरू सिक्न पाउने छु । दिउँसो दुई तीन बजेतिर नक्साल आसपासको भगवानदास श्रेष्ठको अफिसमा बसेर पटकथा लेखनको शुरुवात गर्ने सल्लाह बमोजिम म यहाँ आएको छु । एकैछिनमा अग्ला, गोरा र प्रभावशाली व्यक्तित्वका धनी प्रकाश थापा आइपुगे । चरण स्पर्श गरुँझैँ लाग्यो । तर, निहुरिएर नमस्कार गरेँ । खासमा यो फिल्म प्रकाश थापाका पुत्र विजय थापाले निर्देशन गर्नु हुनेछ । छोराको पहिलो फिल्म भएकोले पिता प्रकाश थापाले मलाई पटकथा लेखनमा अभिभावकत्व प्रदान गर्ने भएका छन् ।
लीलबहादुर दाइले दुखेसो पोखिहाल्नु भयो, ‘मलाई त निर्माता, निर्देशकले अहिलेसम्म सिनेमा पनि देखाएका छैनन् । बसाइँलाई सिनेमा बनाए वापत कुनै रकम पनि दिएका छैनन् ।’
सामान्य कुराकानीपछि भगवानदास श्रेष्ठले खुसुक्क भने मसित- ‘भरे घरजाँदा बालिका बधु भन्ने हिन्दी सिनेमाको भिएचएस क्यासेट लिएर जानु ल ?’
अनि मलाई थाहा भयो, जुन फिल्मको पटकथा, संवाद लेख्नका लागि मलाई बोलाइएको छ, त्यो ‘बालिका बधु’कै अघोषित रिमेक हो । नक्कल हो । म लाचार भएँ । पैसाको कुरा थियो, नक्कल गर्न वाध्य भएँ । मलाई वोध भयो, प्रकाश थापाहरूलाई पटकथा लेखक चाहिएकै होइन, नेपाली भाषा राम्रो जान्ने कारिन्दा चाहिएको हो । मेरो नियति, मैले कारिन्दा बन्न अस्वीकार गर्न सकिनँ ।
अब प्रकाश थापा र भगवानदासहरू मेरोअगाडि मैनझैँ पग्लिए र विलीन भए ।
पचासको दशकको अन्ततिरको कुनै दिन यस्तै एउटा दृश्य दोहोरियो । एकजना निर्माता हिन्दी फिल्म ‘अनाडी’को क्यासेट ल्याएर दिए मलाई र भने- ‘एक दुई दिनभन्दा बढी लाग्दैन । यो फिल्म पूरै अनुवाद गरिदिनुस् । निर्देशक चाहिँ भारतबाट आएका राजकुमार शर्मा हुन् ।’
पैसाको लोभ । मैले अनुवाद गरेँ । तर, शर्त राखेँ- ‘पटकथा लेखकमा मेरो नाम प्रयोग गर्न पाइन्नँ ।’
पटकथा लेखकको नाम देखेर सिनेमाको स्तर र हैसियत छुट्टिने बेला थिएन । निर्माताले सहर्ष मेरो शर्त स्वीकार गरे । मैले एक रातमै पूरै सिनेमा अनुवाद गरेँ । नाम राखेँ -‘चोर’ ।
यस्ता अनेक अनेक चोरीले तिनताक नेपाली सिनेमाको मौलिक छवि बन्नै दिएन ।
दृश्य- ६
पारिजातको प्रख्यात उपन्यास ‘शिरीषको फूल’को पटकथा लेख्ने जिम्मा पाएको छु । सायद २०५४–५५ सालको कुनै दिन हो यो । एकजना नयाँ निर्देशकले त्यो सिनेमा बनाउने भएका छन् । एकदिन मैले लेख्दै गरेको स्क्रीप्टबारे छलफल गर्न उनी मेरो बत्तीसपुतलीस्थित डेरामा आएका छन् । नयाँ टेलिफिल्मको पटकथा संवाद लेखाउन त्यतिबेलाका चर्चित निर्देशक रमेश बुढाथोकी पनि यही बेला मेरो कोठामा आइपुगेका छन् । ‘शिरीषको फूल’को निर्देशन गर्न तम्सिएका शाह थरका ती निर्देशकले शुरुमै मलाई भने- ‘शिरीषको फूलको पहिलो सिनमै कुनै दमदार कमेडी सिन राख्नु पर्छ है सर !’
उनको कुरा सुनेर म स्तब्ध भएको छु । ‘शिरीषको फूल’मा कमेडी सिन ? अर्को निर्देशकको अगाडि शाहजीले त्यस्तो कुरा गरेपछि मैले अपमानित अनुभव गरेँ । छिट्टो रिसाउने बानी मेरो । तात्तिइहाल्छु र भन्छु, ‘यस्तो सोचले तपाईँ शिरीषको फूलको निर्देशन गर्न सक्नु हुन्न । सिनेमा चौपट हुन्छ । तपाईँले निर्देशन गर्ने हो भने म यो फिल्म लेख्दिनँ । गेटआउट ।’
लामो अन्तरालपछि ‘शिरीषको फूल’ एकजना जापानी निर्देशकले बनाए । उनीसित मेरो कहिल्यै देखभेट भएन । तर, पटकथामा मेरो नामसँगै आफ्नो नाम पनि थपेका छन् । सिनेमाको प्रिमियरमा निम्ता आएको थियो । मलाई जानै मन लागेन । चलचित्र विकाश बोर्डले राष्ट्रिय चलचित्र महोत्सवको निर्णायक बनाएपछि मैले त्यो फिल्म हेरेँ । मलाई लाग्यो, पारिजात बाँचेको भए निर्देशक र पारिजातबीच काटाकाट हुन्थ्यो र म त्यो हिंसात्मक दृश्यको लाचार साक्षी हुन्थेँ । सिनेमामा ‘शिरीषको फूल’को पूरै हत्या भएको छ । निर्देशकले कथा, त्यसको मर्म, त्यसको चिन्तन कसैलाई पनि समात्न सकेका छैनन् । रोचक के छ भने, सिनेमाको अन्तिम दृश्यमा सकम्बरीलाई मन्दिरको शरण पर्छे । सिनेमा निर्देशकको माध्यम भएकोले उसलाई कतिपय कुराहरू थपघट गर्ने छुट होला । तर, त्यसरी थपघट गर्ने तमिज भएन भने बिजोग हुँदोरहेछ ।
दृश्य- ७
आदरणीय कवि द्वारिका श्रेष्ठको आतिथ्यमा लेखकहरूको ठूलो समूहसित म पनि चितवनको सौराहामा पुगेको छु । उहाँले हरेक वर्ष यसरी नै साहित्यकारहरूलाई सौराहास्थित आफ्नो रिसोर्टको भ्रमणमा लैजाने गर्नु हुन्छ । सम्भवतः २०५९ सालतिरको कुरा हुनुपर्छ यो । यहीँ भेट भएको छ मेरो आख्यानकार लीलबहादुर क्षेत्रीसित । मैले परिचय दिएँ र भनेँ, ‘तपाईँको उपन्यास बसाइँमा मैले पटकथा लेखेको हुँ ।’
त्यसपछि लीलबहादुर दाइले दुखेसो पोखिहाल्नु भयो, ‘मलाई त निर्माता, निर्देशकले अहिलेसम्म सिनेमा पनि देखाएका छैनन् । बसाइँलाई सिनेमा बनाए वापत कुनै रकम पनि दिएका छैनन् ।’
मलाई लाग्यो, नेपाली सिनेमाले श्रष्टालाई प्रयोग गर्न त अलिअलि जान्यो । तर, सम्मान गर्न जानेन ।
दृश्य-८
बत्तीसपुतलीस्थित डेराको बैठक कोठामा बसेर एउटा सिनेमा लेख्दैछु । निर्मातासित एउटा दृश्यबारे फोनमा सरसल्लाह भैरहेको छ । नजिकै होमवर्क गरिरहेको मेरो कान्छो छोरा नीलाभका कान ठाडा हुन्छन् । उसको ध्यान हाम्रो फोनवार्तातिर एकोहोरिन्छ । उसले निर्माता र मबीच भैरहेका दृश्यको छलफलबाटै कुरो बुझ्छ र मैले फोन राखेपछि प्वाक्क बोल्छ, ‘त्यो त बबी देओलको फिल्मको सिन हो नि ।’
म चकित हुन्छु । ग्लानिले भरिन्छु । पहिलोपल्ट नेपाली सिनेमासितको आफ्नो सम्बन्धमाथि पुनर्विचार गर्नु पर्ने अनुभूति जन्मिएको छ मभित्र । सोच्छु, मेरा सन्तानले अलिकति पनि गर्व गर्न नसक्ने यो काममा के म अझै लागिरहनु उचित हुन्छ ?
मैले त्यसै दिन मनमनै निश्चय गरेँ, अबदेखि सिनेमा लेख्दिनँ ।
टेलिफिल्म र टेलिश्रृंखलाहरूसितको साइनो भने कायम राख्ने निश्चय पनि गरेँ । सोचेँ, कथा या पटकथामा नवीन कुरा केही लेख्न नसके पनि संवाद लेखन भने टेलिश्रृंखलाहरूमा मज्जा हुन्छ । त्यस्तै बेलामा आफूले लेखेको टेलिश्रृंखलाको एउटा संवाद सम्झन्छु । एउटा नेता पात्र अर्कोसित भनिरहेछ, ‘राजनीतिमा आफ्नो उत्थानको लागि जति प्रयत्न गर्नुपर्छ, कहिलेकाहीँ त्योभन्दा बढ्ता प्रयत्न अर्कोको पतनको लागि गर्नु पर्छ ।’
कथा या पटकथाले सिर्जनात्मक सुुख नदिए पनि यस्ता संवादहरू लेख्दा आनन्द भने आउँछ ।
दृश्य-९
सिनेमा लेख्न छाडेपछि अचेल टेलिश्रृंखलाहरूको लेखनमा निकै व्यस्त भएको छु । लगभग हरेक दिनजसो नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनबाट मैले लेखेका टेलिश्रृंखलाहरू प्रसारित भैरहेका छन् । भ्याइ नभ्याई छ मलाई । सिर्जनात्मक सन्तुष्टिलाई मारो गोली, पैसा भने ठीक ठाक कमाइरहेछु ।
साठीको दशकको मध्यतिरको कुनै दिन हो यो । नुमाफुंग बनाएर नेपाली सिनेमालाई गरिमापूर्ण बनाउनु भएका निर्देशक नवीन सुब्बासित भेटने सल्लाह भएको छ । त्यसैले म कमलादीनिरको एउटा रेष्टुरेन्टमा आएको छु । नवीन सुब्बासित हार्दिक कुराकानी भैरहेको छ । उहाँले भन्नुभयो, ‘नयनजी, कुनै राम्रो कन्सेप्टमा काम गरौँ । समय लगाएर लेख्नुस् । सँगै काम गरौँ ।’
हार्दिक कुराकानीपछि घर फर्किँदैछु । नवीनजीको प्रस्तावले खुसी भएको छु । पटकथाको महत्व बुझेकासित काम गर्न पाउनु सौभाग्यकै कुरा हो । तर, घर पुगुुन्जेलसम्म मथिंगलमा धेरै कुरा सल्बलाउन थालिसके । काठमाडौँको बसाई मेरो । लेखनलाई नै पेशा बनाएको छु । गतिलो पटकथा लेख्नै सकेको छैन । तर, थोरै मेहेनत गरेर छोटो समयमै लेखिसक्ने पटकथावापत ठीकठाक पारिश्रमिक पाइरहेछु ।
वैकल्पिक धारको सिनेमा लेखनमा के दुई तीन वर्ष खर्चिन सक्छु ? त्यति धैर्य छ ममा ? अनि त्यति धैर्य गरेवापत के मैले दुई वर्ष मेरो खर्च धान्ने पारिश्रमिक पाउँछु ? दुई वर्षमा दश-बाह्रवटा सिनेमा लेखेर वा टेलिश्रृंखलाका पाँच सात सय एपिशोड लेखेवापत पाउने पारिश्रमिक के म त्यस्तो एउटै फिल्म लेखेर पाउन सक्छु ? पाउने भए म तत्काल नवीनजी जस्ता निर्देशकसित ढुक्कले उत्साहसाथ सहकार्य गर्न तम्सने थिएँ ।
मेरो मनले सकारात्मक जवाफ दिएन । सिर्जनाको मेरो भोकलाई, पैसाको आवश्यकताले जित्यो । नवीनजीसित त्यसपछि लामो समयसम्म भेट गर्न सकिनँ ।
सिनेमा र श्रब्यदृश्यसितको साइनोले मेरो जीवनयापन केही सजिलो बन्यो । त्यति सजिलो नभएको भए सायद म उत्साहसाथ साहित्यसित जोडिइरहन सक्ने पनि थिइनँ ।
खराब सिनेमाहरूले मलाई असल साहित्यसित जोडिने सौभाग्य दिइरहे ।
मेरो उपलब्धि यही हो ।