नागरिकको चाहना थियो । स्थिर सरकार अनि समृद्ध मुलुक ।
जनताले काँग्रेस कम्युनिस्ट हेरेनन् । जसले यो देश बनाउन सक्छ जस्तो सोचे, त्यसैलाई मत दिए । लामो समयपछि मुलुकले स्पष्ट बहुमतप्राप्त सरकार पायो । अब देश समृद्ध बन्ने सपनामा जनता आ–आफ्नै काममा लागे । तर, भाग्य परिवर्तन हुन त चमत्कार नै हुनुपर्ने रहेछ । मिठा भाषणले मात्र देश बन्दैन रहेछ । त्यस्ता भाषण त घाँटीको कब्जियत सफा गर्ने कलाकारिता मात्र पो हुँदो रहेछ । समयले यस्तै बोल्दै छ ।
देशभक्ति, राष्ट्रवाद जस्ता नारा पनि जनता झुक्क्याउने खेल हुँदो रहेछ । बच्चामा खेलिने लुकामारी जस्तै । कहिले दक्षिणतिर त कहिले उत्तरतिर आश्रय खोज्ने बहानालाई पो यो मुलुकमा राष्ट्रियता भनिँदो रहेछ । हामी जनता पनि त्यस्तै बनेछौँ, बनाइएका छौँ । उत्तरतिर हात हल्लाउँदै दक्षिणतिर पिसाब फेर्नेलाई राष्ट्रवादी मान्छौँ । भाषणमा रगत उम्लिने रसायन मिलाएर गलाको कब्जियत सफा गर्नेहरूलाई राष्ट्रवादी मान्छौँ । नेतालाई पनि थाहा भइसक्यो, हामी कस्तो भाषणमा ताली पड्काउँछौ भन्ने । हामी निमेषभरमा नेताहरूको विगत बिर्सन्छौँ । फेरि उस्तै भाषणमा ताली ठोकी हाल्छौँ ।
त्यही कारण हामीले दुई तिहाइ बहुमतले सत्तामा आसीन गराएको सरकारले पनि जनताको नाममा केही गर्न सकेको छैन । संसदमा दुई तिहाइ बहुमतप्राप्त सरकार पार्टीभित्र सधैँ अल्पमतमा रहन्छ । खै यो कस्तो देश हो, जहाँ मुलुकको समृद्धिभन्दा पनि व्यक्तिगत समृद्धिले महत्त्व पाउँछ । जनताभन्दा व्यक्तिको महत्त्वाकाङ्क्षा सर्वोपरि हुँदो रहेछ । जनताको ज्यानभन्दा निर्जीव कुर्सी प्यारो हुँदो रहेछ । अनि के भन्ने यस्तो सरकारलाई । जसका हरेक रात भोलि बहुमत जुटाउनु पर्ने तनावमा कट्छ । हरेक दिन अहङ्काररूपी षडयन्त्रका तानाबाना बुन्दैमा बित्छ । अनि देश र जनताका बारेमा सोच्ने फुर्सद कहिल्यै पाएन यो सरकारले ।
जनताले भोट मार्फत उनीहरूलाई देश लुट्ने प्रमाणपत्र पनि दिएकै हुँदो रहेछन् । नत्र आजसम्म कुन राष्ट्रपति, कुन प्रधानमन्त्री वा कुन मन्त्री, मुख्यमन्त्री, सांसदले गरिब भएको स्वघोषणा गरेर राज्यको धनबाट उपचार गराएका छन् ?
यो सरकार अहङ्कारवादी पनि छ । अनि हैकमवादी पनि । कोरोना सङ्क्रमणले मुलुकलाई शिथिल बनाइसक्यो । सरकारसँग आफ्ना आसेपासे र नजिकका इष्टमित्रको फोकटमा उपचार गर्न प्रशस्त पैसा छ । मन्त्री सांसदलाई हेलिकप्टरमा चढाएर राजधानीका सुविधा सम्पन्न अस्पतालको छतमा ओराल्ने अनि ‘फ्री’ मा उपचार गर्ने पैसा पनि छ । त्यो पनि, जनताले पसिना चुहाएर कमाएको रकमको भाग लगाएर करका रूपमा सरकारलाई भेटी चढाएको पैसाबाट । तर, मुखमा माड लगाउन द्यौ द्यौ परेका जनताको उपचार गर्ने पैसा छैन, हाम्रो भोटले सिंहदरबारमा कब्जा जमाएकाहरूसँग ।
गरिबीले जिन्दगी नै छियाछिया बनेका जनताले म ‘दरिद्र’ छु भनेर लाप्चे ठोक्ने हो भने मात्र सरकारले नागरिकको बाँच्न पाउने हक सुनिश्चित गर्छ रे यो देशमा ! कर तिर्ने जनताले नेपाली कागजमा लाप्चे ठोकेर आफूलाई दरिद्र प्रमाणित गर्दै विभिन्न निकायको तोक लगाउन सके मात्र सिंहदरबारले उसलाई गरिब मान्दो रहेछ । अनि राज्यको सुविधा उपयोग गर्न पाउँदो रहेछ । तर, त्यही जनताको करबाट सिंहदरबारको आलिशान कुर्सीमा बस्नेहरूले राज्यको ढुकुटीबाट सुविधा लिँदा दरिद्रताको कुनै प्रमाण पेस गर्नु पर्दैन । जनताले भोट मार्फत उनीहरूलाई देश लुट्ने प्रमाणपत्र पनि दिएकै हुँदो रहेछन् । नत्र आजसम्म कुन राष्ट्रपति, कुन प्रधानमन्त्री वा कुन मन्त्री, मुख्यमन्त्री, सांसदले गरिब भएको स्वघोषणा गरेर राज्यको धनबाट उपचार गराएका छन् ?
जनतासँग यस्ता प्रश्नको जवाफ माग्ने समेत अधिकार छैन । सरकारमा आसीनहरूको अहिले मुख्यतः दुइटा मात्र काम छ । पहिलो आफ्नै कुर्सी बचाउने अनि दोस्रो जनताको मनमा चक्कु चलाउने । यो मेरो पनि मुलुक हो भन्ने अनुभूति गर्न कहिल्यै पाइएको छैन । यो नागरिकको राज्य भएको भए त सरकारी अस्पतालले समेत कोभिड बिरामीहरूसँग पहिले धरौटी मागेर मात्र उपचार सुरु गर्ने परिपाटीको विकास हुँदैन थियो होला । निजी अस्पतालले उपचारको नाममा ब्रम्हलुट मच्चाउने अधिकार पाउने थिएनन् होलान् ?
बस्, नागरिक अधिकार त संविधानको प्रस्तावनाबाट सुरु भएर त्यही हरफको पूर्णविरामसँगै टुङ्गिएको छ । सर्वोच्च अदालतले कोरोनाको निःशुल्क उपचार गर्न सरकारको नाममा आदेश दिँदा पनि जनताको आस्थाको अन्तिम केन्द्रलाई समेत सिंहदरबारले लोप्वा ख्वाइ दिएको छ । जनताले रोइलो गर्ने अन्तिम निकायलाई समेत पङ्गु बनाइएको छ ।
राज्य जनताको दुखमा पनि तमासे बन्छ भने डढेलो झैँ फैलिरहेको कोरोना सङ्क्रमणबाट ढल्ने हरेक लासको चिताको लप्कासँगै तेर्सिने धारे हाते श्रापले समेत शासकलाई बिस्तारै जलाउने छ ।
अदालतको आदेश निरकुंस मानिएको शाही सरकारले समेत मानेको थियो । तर, यो सरकार शाही सरकारभन्दा पनि एक कदम अगाडि बढेको हो कि भनेर अब प्रश्न किन नगर्ने ? विदेशीले ढाड कन्याइ दिएको भरमा केही दिन सत्तामा काबिज हुन त सकिएला । तर, राजनीतिमा स्थायित्व पाउन जनता कै मन जित्नु पर्छ ।
दायाँ, बायाँ छिर्के लगाउँदैमा आजीवन राज्य शक्ति आफ्नो मुठ्ठीमा बन्द हुन्छ भन्ने जङ्गबहादुर सोचले अब काम गर्दैनन् । जनता निमुखा छन् । बोल्न सक्दैनन् । तर, जुन दिन चुनावका रूपमा बल जनताको कोर्टमा आउँछ । त्यो दिन जनताका बाहुलीबाट निस्कने आँधीले अहङ्कारयुक्त बालुवाका महलहरू ध्वस्त बनाउँछन् । सपनामा रेटेका सारंगीका धुनहरू बिलाएर जान्छन् । तानाशाह बन्ने सोच काला बादल झैँ हावाको वेगसँग उडेर जान्छन् ।
अहिले जनताको चाहना धेरै छैनन् । बस्, केही छन् । पहिलो त कोरोनाको सङ्क्रमणबाटै आफैँ बच्ने । जसका लागि सरकारले गर्न सक्ने जति कार्य त गर्नै पर्छ । अहिले जस्तै निदाएको भान नपारी रहोस् । सङ्क्रमित भइहालेको अवस्थामा उपचारका लागि कसैसँग दयाको याचना नगरीकनै राज्यबाट सुविधा पाइयोस् । हामी गरिब छौँ, सारा संसारलाई थाहा छ । उपचार कै खातिर फेरि हामीले आफूलाई गरिब प्रमाणित गर्न नपरोस् ।
राज्यले कोसिस गर्दा गर्दै पनि कोही मर्छ भने कसैले केही गुनासो गर्दैनन् । तर, राज्य जनताको दुखमा पनि तमासे बन्छ भने डढेलो झैँ फैलिरहेको कोरोना सङ्क्रमणबाट ढल्ने हरेक लासको चिताको लप्कासँगै तेर्सिने धारे हाते श्रापले समेत शासकलाई बिस्तारै जलाउने छ । अनि विदेशबाट आयात गरिएका कपनमा उठाइएका करले आफ्नै मात्र निःशुल्क उपचार गर्नेहरूले मरे पनि बाँचे पनि त्यस्ता श्रापबाट कहिल्यै उन्मुक्ति पाउने छैनन् । अनि लासमाथि सजाइएका कुर्सीमा कुन नाक लिएर बस्न सक्लान्, यी शासक ।