बैशाख १३, २०८१, बिहीबार
               

राज्य छ भन्ने भ्रम टुट्न नदिने प्रधानमन्त्रीज्यू !

चेतन पाण्डे
असोज २३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्रीज्यू ! यहाँ अस्वस्थ हुनुहुन्छ, थाहा छ ।

सम्भावित कोरोना सङ्क्रमणका जोखिम हुनुहुन्छ । सबैभन्दा बढी त कमजोर स्वास्थ्यका कारण । अनि बालुवाटारमा छिरिसकेको कोरोना भाइरस यहाँको ओछ्यानसम्म पुग्न सक्ने सम्भावित कारणले ।

प्रधानमन्त्रीज्यू ! हुनत यहाँ सर्व ज्ञाता हुनुहुन्छ । संसारले पत्ता लगाउनु अगावै यहाँले कोरोनाको उपचार पनि पत्ता लगाइसक्नु भएको थियो । बेसार पानी खाएर हाच्छ्युँ गर्नु पर्छ, अनि कोरोना चैट ! भन्नु भएकै थियो । यहाँका सचिवालयका सदस्यहरूले यहाँको निर्देशन मानेछन् । अनि पो जादु गरे झैँ एक साता पनि नबित्दै निको पनि भएछन् । बधाई छ सबैलाई !

प्रधानमन्त्रीज्यू ! यो मुलुकका कोरोना सङ्क्रमित र सङ्क्रमित हुने दिन कुरेर बसिरहेका जनता भने त्यति छिटो निको भएका छैनन् । उनीहरू स्वास्थ्योपचारको पहुँचबाट टाढिँदै छन् । हिजोसम्म सुगम त्यसमाथि राजधानीका जनता हरेक सुविधाको नजिक छन् भन्ने भ्रम पालिएको थियो । आज त्यो भ्रम पनि टुटेको छ । राजधानी कै जनता आइसियु र भेन्टिलेटर नपाएर भकाभक मर्दै छन् । यहाँको सरकार देखे पनि नदेखे झैँ गर्न बाध्य छ ।

प्रधानमन्त्रीज्यू ! यहाँको सरकारले किन लकडाउन गर्‍यो, किन हटायो ? निषेधाज्ञा पनि गर्‍यो, किन हटायो ? नागरिकले कहिल्यै बुझ्न सकेन । बस्, बुझेका छन् । सरकारको ती हर्कतले जनतालाई खान नपाउने बनायो अनि गरिब मुलुकलाई झन् गरिब । 

अँ साँच्ची, जनताले कर तिर्न छुटाएका छैनन् । राज्यले जनताको जति सक्छ, त्यति दोहन गर्न पनि छाडेको छैन । तर, त्यही कर तिर्ने नागरिक भेन्टिलेटरका लागि पनि मम खान झैँ टोकन लिएर ‘क्यू’ मा बस्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ । कति जना त भेन्टिलेटरको प्रतीक्षा मै भगवानको प्यारो बनिसकेका छन् । आसा गरौँ, आसेपासेले यस्ता समाचार त यहाँसम्म पुर्‍याउँछन् नै होलान् । कि जनताको दुखसँग यहाँ अहिलेसम्म अनभिज्ञ हुनु हुन्छ ।

यहाँलाई थाहा नहुन पनि सक्छ । साधारण नागरिकको दुखबाट यहाँ टाढिन थाल्नु भएको पनि वर्षौँ बित्यो होला । भोट माग्ने बेलामा निर्वाचन क्षेत्र घुमेपछि जनताको घरदैलो चहार्न पनि छाड्नु भयो होला । अँ, साँच्चै नेपालको नक्साको आकारमा बनेको जन्मदिनको केक काट्न यहाँ सङ्खुवासभा जानु भएको थियो । हरेक आन्दोलनलाई सफलतामा पुर्‍याए पनि परिवर्तन कहिल्यै आभास नपाएर दिक्क भएका जनताको मन यहाँले मुलुकको नक्सारूपी केकलाई चक्कुले चटक्क काट्दा पनि चसक्क भएकै थियो । अहिले त यहाँको स्वास्थ्यले नै हिँडडुललाई वर्जित गरेको छ । तर, मान्नुस् जनता अहिले निकै पिडामा छन् । यहाँ जनतापछि यति असंवेदनशील हुनुहुन्थ्यो जस्तो लागेको थिएन । तर, हरेक सोच सही हुँदैन रहेछ ।

प्रधानमन्त्रीज्यू ! यहाँको सरकारले किन लकडाउन गर्‍यो, किन हटायो ? निषेधाज्ञा पनि गर्‍यो, किन हटायो ? नागरिकले कहिल्यै बुझ्न सकेन । बस्, बुझेका छन् । सरकारको ती हर्कतले जनतालाई खान नपाउने बनायो अनि गरिब मुलुकलाई झन् गरिब । यहाँको सरकारले घरायसी समान मात्र होइन औषधी किनेर घर फर्कन लागेका नागरिकलाई समेत राम धुलाइ गर्‍यो । तर, यहाँ कै सरकारको आदेशमा राजश्व तिर्न ठेलम् ठेल गर्ने नागरिकमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुन्छ भन्ने बुझेन । राजश्व सङ्कलन गरिरह्यो । कुनै जमिनदारले सलामी बापतको रकम उठाए झैँ ।

कर तिर्ने जनताले राज्यबाट कुनै राहत पाउन सकेका छैनन् । नतिर्नेले त झन् के आशा गर्नु । अब ढुक्क हुनुस्, प्रधानमन्त्रीज्यू ! चाहे कोरोना सङ्क्रमित हुन् वा चाहे भोक सङ्क्रमित, उनीहरूले राज्यको मुख ताक्न छाडिसकेका छन् । यहाँलाई ठुलो तनावबाट मुक्ति दिलाइ सकेका छन् । बस्, अब यहाँहरू सत्ता जोगाउने र भत्काउने खेलमा मात्र लाग्नुस् । 

गरिब देशमा जन्मिनु अभिशाप हो भन्ने भनाइ यकिनमा बदलिएको छ । तर, बुझ्न नसकेको कुरो एउटै बच्यो । राज्यले कर कसका लागि उठाउँदो रहेछ ? मैले बुझेसम्म अरू देशले त राज्यले जनतासँग उठाएको अधिकांश कर जनता कै हितका लागि खर्च गर्दा रहेछन् । विश्वका कति मुलुक यस्ता पनि रहेछन्, जसले जनताबाट उठाएको करबाटै जनता कै आधारभूत आवश्यकता पुरा गरिदिँदा रहेछन् । नागरिकका सन्तानको पढाइ लेखाइ, नागरिकको स्वास्थ्योपचार, बृद्ध बृद्धालाई आवश्यक हरेक सहयोग राज्यको तर्फबाट पाइँदो रहेछ । जनताले उपचार नपाएर मर्नु पर्ने कुरा त त्यस्ता मुलुकमा सोच्न पनि नसकिने रहेछ ।

प्रधानमन्त्रीज्यू ! हामीले थाहा पाइ सक्यौँ । राज्य निरीह बनिसक्यो । जनताका अगाडि मात्र केही विकल्प छाडिएका छन् । पहिलो त आफैँ सङ्क्रमित बन्नबाट जोगिनु पर्छ । कसरी बच्ने भनेर त आफैँ पहिल्याउनु पर्छ । कदंकदाचित खल्तीमा पिसीआर गर्ने पैसा जोगिएको रहेछ भने त्यो परीक्षण पनि गराउनै पर्छ । अनि कोरोनाबाट सङ्क्रमित भइएको पत्ता लाग्यो भने खोपामा यस्तै दिनका लागि लुकाएर राखेको पैसाबाट केही बेसार किन्नु । बेसार पानी खानु । बाँचियो भने बाँचियो नत्र आफ्नो मृत्युको दिन कुरेर बस्नु । सरकारले मुख खोलेर सिधै नभने पनि दिएको आदेश यही हो ।

न अब लकडाउन वा निषेधाज्ञाले अमेजनको जङ्गलमा सल्किएको डढेलो झैँ हाम्रो मुलुकमा फैलिएको कोरोना सङ्क्रमणलाई रोक्न सक्नेछ । यो रोगले ढिलो चाँडो सबैको घरको सङ्घार नाघ्ने छ । त्यसपछि बाँच्ने मर्ने सबै कुरो भगवान भरोसा छाड्नुपर्ने छ । किनकि सरकारी अस्पतालमा बेड छैनन्, निजी अस्पतालमा उपचार गराउन सक्ने हैसियत अधिकांश नेपालीको छैन ।

प्रधानमन्त्रीज्यू ! अब बस्, एउटै प्रार्थना छ । थप लकडाउनको बोझ हाम्रो काँधमा नराखिदिनु होला । गरी खानु पर्ने जनतालाई भोको पेटले आजित बनाइसक्यो । यसले अपराध बढ्छ कि भन्ने भय पनि छ । यहाँलाई त एउटा बिरामीका लागि अस्पताल र चिकित्सकको कति आवश्यकता पर्छ भन्ने राम्रै जानकारी छ । 

प्रधानमन्त्रीज्यू ! हामीलाई थाहा छ । तहै तह राजश्व नउठाए यहाँहरूको हठमा बनेका ३ तहका सरकारलाई पाल्न सकिँदैन । प्रदेश र सङ्घका हजारौँ सांसदलाई पाल्न सकिँदैन । यहाँको आसेपासे, नजिकका ठेकेदार र व्यापारीको चित्त बुझाउन सकिँदैन । वर्षौँदेखि नबनेका विकास योजनामा थप कमिसन खाने चक्करमा पानी झैँ रकम निकासा गर्न पनि सकिँदैन होला । अनि राज्यले गर्ने हरेक खरिदमा अनियमितता गर्न सकिँदैन । हामीलाई थाहा छ, यहाँको देश र जनताप्रतिको उदासीनता ।

प्रधानमन्त्रीज्यू ! खाडीको तातो बालुवाको भुङ्ग्रोमा रगत सुकाउनेहरूले पनि यो मुलुकलाई धेरै दिएका छन्, केही लिन पाएका छैनन् । यहाँहरूले राज्यको ढुकुटीलाई रेमिट्यान्सले भरिदिने नागरिकको उद्दारमा समेत व्यापार गर्नु भयो । दैनिक बाकसमा बन्द भएर मुलुक भित्रिने लासहरू देख्दा समेत यहाँहरूको चित्त दुख्दैन रहेछ । अनि दैनिक श्रम गरेर खाने, करको दायराभन्दा बाहिर रहेका नागरिकले भेन्टिलेटर नपाएर मर्नु पर्दा यहाँको चित्त खै के दुख्ला र ?

प्रधानमन्त्रीज्यू ! अहिले साँच्चै लाग्न थालेको छ । यो मुलुकलाई कर्मभूमि बनाएर ठुलो गल्ती गरिएछ । बरु समयमा नै विदेश भासिएको भए उपचार नै नपाएर मर्ने अवस्था त आउँदैन थियो होला । लाग्थ्यो, जन्मभूमिलाई छाडेर हिँड्ने कायर हुन् । होइनन् रहेछ, बाठा रहेछन् । आफ्नो भविष्यप्रति सचेत रहेछन् ।

प्रधानमन्त्रीज्यू ! अब बस्, एउटै प्रार्थना छ । थप लकडाउनको बोझ हाम्रो काँधमा नराखिदिनु होला । गरी खानु पर्ने जनतालाई भोको पेटले आजित बनाइसक्यो । यसले अपराध बढ्छ कि भन्ने भय पनि छ । यहाँलाई त एउटा बिरामीका लागि अस्पताल र चिकित्सकको कति आवश्यकता पर्छ भन्ने राम्रै जानकारी छ । किनकि यहाँले त्यस्ता दिन देखिसक्नु भएको छ । बरु सकिन्छ भने अस्पतालका बेड थप्ने अनि व्यवस्थित आइसोलेसन केन्द्रहरू बनाउने तर्फ ध्यान दिनुस् । किनकि यो रोगले चाँडै बिदा लिने छाँट पनि छैन । ढिला त निकै भइसक्यो । आजका लागि उपलब्ध नभएका सुविधा भोलिका लागि तयार पारौँ । पहिले जनता बचाउने विषयमा ध्यान दिऔँ । बरु देशको विकास पछि गरौँला । जनताको मनमा दबिएको मेरो राज्य पनि छ र ! भन्ने भावनालाई गलत साबित गराउने मौका पनि यही हो ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि