चैत १५, २०८०, बिहीबार
               

पहिलो किताबको कहानी

नयनराज पाण्डे
भदौ १२, २०७७

ADVERTISEMENT

म तँलाई अच्छासित चिन्छु बे । तेरो नाम नयनराज पाण्डे हो । कथाकहानीका झन्डै एक दर्जन किताब लेखिसकिस् । दुईचार सयले चिन्छन् पनि होला तँलाई । तर, तँलाई मैले जति कसैले पनि चिन्दैन । एक दर्जन जति किताब छापियो भनेर तैँले जति नै गर्व गरे पनि तैँले आफ्नो पहिलो ‘नाबेल’ छाप्ने बेलामा के कति लफडा गरेको छस् त्यो मलाई बाहेक अरू कसलाई थाहा छ ? भन्दिऊँ सबैलाई तेरो बारेमा ? खोल्दिऊँ तेरो पोल ?

०००

नेपालगन्जको सुर्खेत रोडमा तेरो हेडमास्टर पिताजीले बनाएको दुई तले पक्की घरको पहिलो तलामा बस्थिस् तँ । पूर्वतिर सडक भएकोले त्यतै फर्केको थियो तेरो घर र माथिल्लो तलाको सबैभन्दा पूर्वतिरकै कोठामा बस्थिस् तँ । वैशाख, जेठको गर्मीमा खलखली पसिना बगाउँदै लेखेको होस् तैँले आफ्नो पहिलो उपन्यास । नाम राखिस्- ‘नाङ्गो मान्छेको डायरी’ । डायरी शैलीको यो उपन्यास काठमाडौं जस्तै महानगरमा बस्ने एउटा बेरोजगार मान्छेको बारेमा लेखेको थिइस् तैँले । तँलाई त अहिले सबैले तराई-मधेसको कथाकहानी लेख्ने लेखक भन्छन् । तर, पहिलो उपन्यासमा तैँले आफ्नो गाउँठाउँ या तराई-मधेसको कुरा किन लेखिनस् बे ? पहिलोमा मात्र किन ? दोस्रो र तेस्रो उपन्यासमा पनि तैँले मधेसलाई टच पनि गरिनस् । किनभने त्यतिखेर तेरो दिमागमा काठमाडौँ या सहरको कथा लेख्यो भने मात्र राष्ट्रियस्तरको लेखक भइन्छ भन्ने तगडा भ्रम थियो । तँ त्यसैले भरमाई गएको थिइस् । तराई या गाउँठाउँको कहानी लेख्दा ‘आन्चलिक लेखक’ भनेर समालोचकहरूले अर्को कित्तामा राखिदेलान् भन्ने त्राहि थियो तँ लठुवालाई । आन्चलिकता पनि साहित्यको विशिष्ट स्वभाव हो भन्ने चेतना तेरो खोपडीमा घुसेकै थिएन । तँलाई त बस्, लेखक बन्नु थियो ।

तेरो उपन्यास छाप्न पैसाको आवश्यकता परेको पनि उनले चाल पाए । उनले भने, ‘चुनावका लागि मेरो घोषणापत्र लेखिदेऊ, म पैसा दिन्छु ।’

नाङ्गो मान्छेको डायरी भन्ने किताब तैँले एउटा डिमाइ साइजको डायरीमै लेखेको थिइस् । त्यसको कभर हरियो रङ्गको थियो भन्ने अहिले पनि याद छ तँलाई । नास्तिक हुँ भन्छस् अचेल । तर, तैँले त्यति बेला पाण्डुलिपिको पहिलो पानामा बडेमानको ॐ लेखेको थिइस् । साले, बाहुन भन्छस् आफूलाई । तर, जीवनमा तैँले केके अभक्ष घिचिस् भन्दिऊँ सबलाई ? काठमाडौंको ठमेलको कोतो रेस्टुरेन्टमा गएर तैँले केको मासु हसुरिस् भन्दिऊँ ? कुरा लगाइदिऊँ विश्व हिन्दू परिषद्‍मा गएर ? तँ त डाइरेक्ट नरकमा जान्छस् बे । एक दर्जन गाई दान गरे पनि तेरो पाप काटिनेवाला छैन ।

०००

तैँले उपन्यासको पाण्डुलिपी गगनगन्जमा बस्ने सनत रेग्मीलाई देखाइस् । उनले अच्छा छ भनिदिए । तँ फुर्किहालिस् । त्यतिबेलाका चर्चित कथाकार नन्दराम लम्सालले पनि राम्रो छ भनेपछि तँ आकाशमा उड्न थालिहालिस् । लगभग सात हजार शब्दको किताब थियो त्यो । त्यत्रो त कथा नै हुन्छ । तैँले लघु–उपन्यास भनिस् । त्यति सानो साइजको किताबमा पनि पच्चिस च्याप्टर छ । कुनै कुनै च्याप्टर त सात–आठ लाइनको पनि छ । के तैँले उपन्यासकार हुने रहरले त्यत्रो पिद्दी साइजको किताबलाई उपन्यास भनेको होस् ? तर, तँलाई लाग्यो, कृशकाय भए पनि त्यो कथाको भित्री बनोट उपन्यासकै पाराको हो । त्यसैले तैँले उपन्यास भनिदिइस् । पछि उपन्यासको भूमिकामा डा. ध्रुवचन्द्र गौतमले लेखिदिनु भयो- ‘यस्तो प्रश्न उठ्न सक्छ, यो उपन्यास उपन्यासिका किन हो, एउटा लामो कथा किन होइन ? मलाई यसमा भन्नु के छ भने, यसको पृष्ठगत लम्बाइ जतिसुकै भए पनि यसको आन्तरिक विस्तार एउटा उपन्यासकै छ । त्यसैले यसलाई लामो कथा भन्न मिल्दैन ।’

बस्, ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाले यति लेखिदिएपछि तैँले निःशर्त उपन्यासकारको पगरी पाइहालिस् । मोज भो तँलाई ।

०००

लेखक गोविन्द गिरी प्रेरणासित तेरो चिनजान थियो । उनले आफ्नो छोराको नाम राखेर अनुभव प्रकाशन पनि खोलेका थिए । अशेष मल्ल र किशोर पहाडीको कथाकोण शीर्षकको संयुक्त कथासंग्रह त्यही प्रकाशनबाट छापिइसकेको थियो । उनले तेरो लघु उपन्यास छाप्ने रुचि देखाए । पहिलो उपन्यास नै काठमाडौंबाट छापिने भएपछि तँ भुइँमा न भाँडोमा भइहालिस् । तर, आर्थिक समस्या तेर्सियो । एक हजारप्रति उपन्यास छाप्न दुई हजार लाग्ने भयो । एक हजार गोविन्द गिरी प्रेरणाले बेहोर्ने र बाँकी एक हजार तैँले बेहोर्नु पर्ने भयो । यसअघि तैँले सिर्जना नामक पत्रिका निकाल्ने नाममा पिताजीको दुई तीन हजार रकम डुबाइदिइसकेको थिइस् । त्यसैले तैँले पिताजीसित पैसा माग्ने हिम्मतै गरिनस् ।

‘तिमी त बहुत अच्छा लेख्दो रहेछौ । मान्छे पनि यस्तो पप्पु छौ । अब अर्को नाबेल बहुत सेक्सी लेख्नू । छाप्ने पैसा म मिलाइदिन्छु । त्यसमा केटा र केटीको बेडसिन पनि राख्नू ताकि सबैले आफ्नो आफ्नो नुनी यसरी समातेर तिम्रो नाबेल पढुन् ।’

नगर पञ्चायतको चुनावको बेला थियो । एकजना मुस्लिम नेता तेरो घरमा आए । तेरो पिताजीसित उनको राम्रै चिनजान थियो । बडेमानको भुँडी, मध्यम उचाइको शरीर र आत्मीय अनुहार । नेपाली मीठो बोल्थे । त्यस भेगका पञ्चायत पक्षधर चर्चित नेता फत्तेसिंह थारुका खास मान्छे थिए तिनी । केही वर्षअघि फत्तेसिंह थारु नेपालगन्ज आएका बेला उनैले एक थान फोन तेरो घरमा जडान गराइदिएका थिए । फोन आएपछि तेरो फुर्तिफार्ती नै अर्कै भएको थियो । त्यसबखत सोझै नम्बर डायल गरेर बातचित गर्न पाइँदैनथ्यो । फोन उठाएपछि अपरेटरले नम्बर सोध्थे र त्यसपछिमात्र उनले कुरा गर्न चाहेको ठाउँमा फोन जोडिदिन्थे । तिनताक तेरै घरबाट तेरो एउटा बालसखाले अञ्चलाधीशको निवासमा फोन गरेर उनकी छोरीलाई ‘आइ लभ यु’ भनिदिएपछि सानोतिनो लफडा नै भएको अझै याद छ मलाई । मलाई तेरो सबै खुराफात थाहा छ ।

पछि उनी तेरो पिताजीको स्कुलको सञ्चालक समितिका सदस्य या अध्यक्ष पनि थिए । पिताजी मार्फत लेखनमा तेरो रुचि रहेको उनले थाहा पाए । तेरो उपन्यास छाप्न पैसाको आवश्यकता परेको पनि उनले चाल पाए । उनले भने, ‘चुनावका लागि मेरो घोषणापत्र लेखिदेऊ, म पैसा दिन्छु ।’

तैँले कुरो मानिहालिस् । क्याम्पसमा नेविसंघको राजनीतिमा लागेको थिइस् । तर, किताब छाप्ने रहरको लागि तँ मण्डलेको चुनावी घोषणापत्र लेख्न तयार भइस् । छपाई खर्च पाउने लोभमा तेरो आदर्शले सुसाइड गर्‍यो । त्यसैले लेखकहरू इमानदार, नैतिक र सच्चरित्र हुन्छन् भन्नेमा तेरो ताल देखेरै विश्वास छैन मलाई । एकेडेमीमा प्राज्ञ बन्न विभिन्न पार्टी कार्यालय र नेताहरूको घरघरमा चहार्ने अवसरवादी लेखकहरूको बहुतै ठुलो जमान पनि देखेको छु मैले । पेन्सन पनि खाने र आजीवन प्राज्ञको भत्ता पनि हसुरेर दोहरो सुविधामा रजाइँ गर्ने लोभीपापी र चुतियाहरू प्रतिष्ठित लेखक भनेर पूजनीय हुने समाज न हो यो । तँ पनि कौन सा इमानदार होस् ।

तँ नेताजीको रानीतलाउनिरको घरमा गइस् । सडकसँगै जोडिएको घर थियो उनको । त्यो दिन तँ उनको घर पुग्दा आँगनमा दरी ओछ्याएर बिहानको नमाज पढिरहेका थिए उनी । नमाज सकेर उनले दरी पट्याएर कुनातिर राखे र तँलाई उत्साहसाथ अँगालो हालेर आफ्नो निजी शयन कक्षमा लगे । तँ उनको आत्मीयताबाट प्रसन्न भइस् ।

शयन कक्षमा तख्तामा उनको ओछ्यान लागेको थियो । नजिकै स्टुल थियो, जसमा स्टिलको जगमा पानी भरेर राखिएको थियो । माथि ओरिएन्ट कम्पनीको सिलिङ फ्यान ठुलो हल्लीखल्ली गर्दै फनफनी घुमिरहेको थियो । भित्तामा मक्का मदिनाको फोटोवाला क्यालेन्डर पनि झुन्डिएको थियो, जसमा उर्दुमा कुरानका केही पङ्क्तिहरू लेखिएका थिए सायद ।

सडकतिरका झ्यालहरू पुरै बन्द थिए । पूर्वतिरका झ्यालका खापा पनि पुरै खोलिएका थिएनन्, त्यसैले कोठामा उज्यालो राम्ररी पस्न पाएको थिएन । कोठामा भित्री ढोका पनि थियो, जो अर्को कोठा या प्यासेजमा खुल्थ्यो । घर निकै पुरानो खालको थियो । भित्र लगाइएको हरियो रङ्ग फिक्का भइसकेको थियो र भित्ताका प्लास्टरहरू उप्किन थालिसकेका थिए । सिलिङमा पनि प्लास्टर उप्किएर इँटा र फलामे छड देखिन थालेका थिए । एउटा अँध्यारो युगको साक्षीझैँ देखिन्थ्यो त्यो घर, जो अब चाँडै ढल्ने तरखरमा छ । त्यो घर ढलेसँगै मानौँ बदलिने छ त्यो अँध्यारो युग, फेरिने छ नेपालको राजनीति । उज्यालो छाउने छ नेपालमा । कवि रिमालले भनेकै थिए- एक युगमा एकदिन एकचोटी आउँछ । कवि रिमालले त बहुतै सपना देखाएका थिए कवितामा । तर, कविताले देखाउने सपना सजिलै कहाँ पूरा हुँदो रहेछ र ! हजारौँको त्याग र बलिदानपछि केही नेता र टाठाबाठाको सपना त पूरा हुने रहेछ । तर, आम जनताको सपना तिनको आँखाबाट हत्तपत्त बाहिर आउन सक्दो रहेनछ । आफ्नै सपनाबाट तर्सिन थालेका तिनै जनता जनार्दनतिर हेरेर रात्रि भोजनपश्चात् सुविधा सम्पन्न घरको अध्ययन कक्षमा बसेर कर्ण शाक्यहरू लेखिरहन्छन्- ‘भैया, सकारात्मक सोच राख । एकदिन नेपाल सुन्दर हुनेछ ।’

तँ नेताजीको शयन कक्षमा पुगिस् । तर, त्यो उनको शयनकक्षमात्र थिएन, पाहुनाहरू बसाल्ने बैठक पनि थियो । किनभने कोठाको एउटा कुनामा प्लास्टिकको जाली बुनेर बनाइएको सोफा पनि थियो, जसमा चकटी राखिएको थिएन । सोफाअगाडि आकाशे रङ्गको सनमाइकावाला टिटेबल पनि थियो ।

उनले तँलाई साथीलाईझैं अँगाल्दै र पिठ्युँतिर सुमसुम्याउँदै सोफामा बसाले र तेरो गालामा चिमोट्दै भने, ‘मान्छे त यति लल्लु छौ । गाला यति मुलायम छ । ठीकसँग मुछ पनि आएको छैन । तर, तिमी त किताब लेख्ने भइसकेछौ ।’

तँ नेपाली काँग्रेसको तर्फबाट बुथमा खटिइस् । दिउँसोतिर तँलाई सहर्ष एक हजार दिलाइदिने ती नेता बुथ निरीक्षण गर्न आए । तँलाई अर्को पार्टीबाट खटेको देखेर उनले अँध्यारो अनुहार लगाएर भने, ‘तिमीले त तगडा धोका दियौ बे ।’

तँ गमक्कै परिस् ।

‘कस्तो किताब लेखेको छौ ?’, उनी पनि तँसँगै सोफामा बसे र सोधे ।

‘उपन्यास’, तैँले उत्साहसाथ जवाफ दिइस् ।

‘अच्छा, नाबेल लेखेको ? प्यार मुहब्बतको कहानी छ ?’, उनले फेरि तेरो ढाडतिर सुमसुम्याए । तँ अलिक असहज भइस् ।

‘बेरोजगार मान्छेको कथा हो ।’, तैँले उपन्यासको विषयतिर सङ्केत गर्दै भनिस् । नेताजी तेरो कुरा सुनेर एकछिन चुप लागे । तर, एकैछिनमा अनुहार उज्यालो पारेर भने, ‘नाबेल म पनि पढ्छु । रानु, गुलशन नन्दा र वेदप्रकाश शर्माको सबै पढेको छु ।’

अनि सोधे तँसित, ‘दब्ने सफीको पढेको छौ ?’

तैँले पढेको थिइनस् ।

‘पढ तिमीले पनि दब्ने सफी । तगडा जासुसी लेख्छ । दिमागको ढक्कन खोलिदिन्छ ।’

‘हस्, पढ्छु ।’, तैँले आज्ञाकारी बालकले झैँ जवाफ दिइस् । उनी झन् उत्साहित भए ।

‘नाबेलमा अलिक प्यारमोहब्बतको कुरा लेख्नु पर्छ । चुम्माचाटी पनि देखाउनु पर्छ । हिरो हिरोइनको बेडसिन पनि राख्नुपर्छ । अनि नाबेल हिट हुन्छ ।’

तँ केही बोलिनस् । उनको र तेरो साहित्यिक समझ फरक छ भन्ने कुरा तैँले बुझिसकेको थिइस् । त अब कुराकानीको विषय परिवर्तन होस् भन्ने चाहन्थिस् । उनी भने नाबेलकै कुरा गर्न चाहिरहेका थिए ।

‘बेडसिन राख्यो भने किन नाबेल हिट हुन्छ थाहा छ ?’, उनले प्रश्न गरे तँसित । तर, उनले तेरो जवाफ पर्खिएनन् । तेरो कम्मरमुनि इशारा गरेर आफैँले जवाफ दिए, ‘किनभने त्यस्तो सिनले लौन्डाहरुको नुनीमा असर गर्छ र लौन्डियाहरुलाई पनि त्यस्तो कुरा बहुत मजा लाग्छ । त्यसैले त्यस्तो नाबेल सबैले छुपछुपकर पढ्छन् ।’

तँ केही बोलिनस् । उनले प्रसङ्ग फेरे ।

‘अच्छा, अब मेरो पर्चा लेखिदेऊ ।’

उनले अर्को कोठातिर टाउको फर्केर चिच्याए र कसैलाई बोलाए । एउटा केटो आयो । छोरो हो या काम गर्ने केटो, तैँले चिनिनस् । केटोलाई उनले कपी र डटपेन ल्याउने आदेश दिए । केटोले एकैछिनमा लिएर आयो । उनले आफ्नो चुनावी पर्चामा लेख्ने कुराहरू भने । तैँले भाषा मिलाएर लेख्न थालिस् । तर, उनको घोषणापत्र लेखिदिँदै गर्दा त्यो हरामी नेताका अश्लील हातहरू तेरो जिउमा सलबलाउन थालेको तैँले अनुभव गर्न थालिस् । तँलाई उनको स्पर्शले दिगमिग भइरहेको थियो ।

‘तिमी त बहुत अच्छा लेख्दो रहेछौ । मान्छे पनि यस्तो पप्पु छौ । अब अर्को नाबेल बहुत सेक्सी लेख्नू । छाप्ने पैसा म मिलाइदिन्छु । त्यसमा केटा र केटीको बेडसिन पनि राख्नू ताकि सबैले आफ्नो आफ्नो नुनी यसरी समातेर तिम्रो नाबेल पढुन् ।’

उनले पाइन्टमाथिबाटै तेरो जननेन्द्रिय च्याप्पै समाते । नेताजीको व्यवहार तेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । तँ आत्तिइस् । पसिना पसिना भइस् । तैँले उसको नियत बुझिहालिस् । तैँले खै, के के बहाना बनाइस् । जुरुक्क सोफाबाट उठिस् । घोषणापत्र र डटपेन उनको जिम्मा लगाएर तँ त्यहाँबाट टाप कसिस् । एकैपटक घरमा आएर साँस फेरिस् ।

अब तैँले ती नेताबाट पैसा पाउने कुरै भएन । तेरो किताब छापेर उपन्यासकार हुने सपनाको महल गड्गडाएर ढल्यो । खुच्चिङ !

०००

तर, चुनावको मौसम भएकोले तँलाई फलिफाप भयो । विविध परिस्थितिवश प्रधानपञ्चका पञ्चायत पक्षधर अर्का उम्मेदवार फेरिए । नयाँ उम्मेदवार पनि तेरो घरमा आए । उनले पनि तेरो साहित्यिक अभिरुचि थाहा पाए । उनी पहिलेदेखि नै नगर पञ्चायतमा कार्यवाहक प्रधानपञ्च थिए । उनले एक हजार दिने भए तँलाई । तर, सर्त राखे- ‘नयन बाबुले मेरो प्रचारप्रसार गरिदिनु पर्छ ।’

तैँले नाइँ भन्न सकिनस् । हुन्छ भनिदिइस् । तैँले आर्थिक सहायताको लागि निवेदन दिइस् । उनले तोक लगाइदिए । एक हजार पाइस् । मण्डले नेताले दिएको त्यो एक हजार तैँले प्रकाशकलाई पठाइदिइस् । तेरो उपन्यास छापिने भयो ।

तेरो वार्डको चुनावको बुथ तेरै घरपछाडिको आँपको बगैँचामा थियो । त्यो त्यही बगैँचा थियो, जहाँ बाल्यकालमा भूत लाग्छ भनेर तँ जान डराउँथिस् । तँ नेपाली काँग्रेसको तर्फबाट बुथमा खटिइस् । दिउँसोतिर तँलाई सहर्ष एक हजार दिलाइदिने ती नेता बुथ निरीक्षण गर्न आए । तँलाई अर्को पार्टीबाट खटेको देखेर उनले अँध्यारो अनुहार लगाएर भने, ‘तिमीले त तगडा धोका दियौ बे ।’

तेरो बोल्ती बन्द भयो । तैँले शीर उठाएर उनीतिर हेर्नै सकिनस् । उनले त्यसभन्दा बढ्ता केही बोलेनन् । तर, जति शब्द बोले, त्यति नै शब्द तेरो कानमा तातो फलाम भएर पसे । ती शब्दहरू कानमै मात्र पनि बसिरहेनन्, तेरो मुटुमा तीर बनेर पसे र तँलाई आहत बनाए । जति गफ लगा दोस्त ! तर पहिलो किताब तैँले धोकाधडी गरेरै छापेको होस् । जीवनमा उन्नति गर्लास् । नाम पनि कमाउलास् । तर, यस्तो घटिया धोकाधडीको टिस तेरो मुटुमा रही नै रहनेछ ।

आफ्नो पहिला उपन्यासको भर्‍याङ उक्लिएर तँ साहित्यमा त लागिस् । तर, तेरो पहिलो उपन्यास प्रकाशनसित दुइटा अश्लील घटनाक्रमहरू जोडिएका छन् । नेताजीको अश्लीलता त लेखिस् । तर, एक हजारको लागि तैँले प्रतिगामी विचारको अर्को नेतासित जसरी साँठगाँठ गरिस्, तेरो त्यो व्यवहार पनि कम फोहोर होइन । कम अश्लील होइन । अब त्यस्तो नगर्नू !

अब तेरो पहिलो किताबको कहानीको क्लाइमेक्स सुन् दोस्त !

जुन नेताले तँलाई एक हजार दिए, तिनले चुनाव जितेनन् । अर्को नेता, जसले तँसित अश्लील हर्कत गरे, ती नेता तेरो उपन्यास छापिनुअघि नै हर्ट अट्याक भएर अल्लाहको प्यारा भए । तैँले सायद बिर्सिसकिस् तर मलाई याद छ, तँ तिनको जनाजामा सामिल भएको थिइनस् ।

०००००

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि