बैशाख १३, २०८१, बिहीबार
               

बाठो (कथा)

नयनराज पाण्डे
बैशाख १९, २०७७

ADVERTISEMENT

उमेर तीस ।

तर ऊ अझै राम्री छे । आकर्षक छे । सिपालु छे । बोलीमा मिठास छ । चर्चित छे ।

ठाडै भनूँ ऊ वेश्या हो र उसभित्र रहेका यतिका विशेषताहरूले उसको व्यवसायलाई सजिलै धानिरहेछन् ।

रातभरि उसलाई थुप्रैले माया गर्छन् । थुप्रैले ज्यान प्राण दिन्छु भन्छन् । थुप्रैले तिमी मेरी हौँ पनि भन्छन् । र बिहान ? उज्यालोमा उसलाई कसैले पनि माया गरेन आजसम्म । कसैले ज्यान प्राण पनि दिएन । कसैले तिमी मेरी हौ पनि भनेन ।

(उज्यालो त्यसैले उसको पक्का शत्रु हो ।)

(यो कथामा अर्को पात्र पनि छ ।)

ऊ मलाई अलिकति नैतिक ठान्छे अरूभन्दा । अलिकति इमानदार पनि ठान्छे । त्यसैले कहिलेकाहीँ (वास्तवमा धेरैपटक) ऊ मलाई आफ्ना पीडाहरू भन्छे । आफ्ना व्यथाहरू पनि भन्छे । उसलाई यस भासबाट निकाल्ने एउटा दिगो (त्यागी पनि) पुरुषको आवश्यकता छ पनि भन्छे ।

म ।

म पनि उसकहाँ जान्छु । उसलाई माया गर्छु । ‘ज्यान प्राण दिन्छु’ भन्छु र ‘तिमी मेरी हौ’ पनि भन्छु । भन्नु न हो जे पनि भनिदिन्छु । फोहोर संवाददेखि आदर्शका उत्कृष्ट डाइलगसम्म ।

ऊ मलाई अलिकति नैतिक ठान्छे अरूभन्दा । अलिकति इमानदार पनि ठान्छे । त्यसैले कहिलेकाहीँ (वास्तवमा धेरैपटक) ऊ मलाई आफ्ना पीडाहरू भन्छे । आफ्ना व्यथाहरू पनि भन्छे । उसलाई यस भासबाट निकाल्ने एउटा दिगो (त्यागी पनि) पुरुषको आवश्यकता छ पनि भन्छे ।

म भने हरेकपल्ट उसलाई आश्वासन दिन्छु ।

'एकदिन । एकदिन म तिमीलाई यो नर्कबाट मुक्त गर्छु ।'

ऊ विश्वास गर्छे । मैले भनेको ‘एक दिन’ लाई पर्खिरहन्छे ।

०००

स्वाभाविकै हो, उसको र मेरो सम्बन्धको सुरुवात शरीरबाटै भएको हो । हालसम्म पनि हाम्रो सम्बन्धको क्षेत्रफल त्यहीँ स्थिर छ । यो मेरो विचार । तर ऊ ठान्छे, म साँच्चिकै कुनै दिन उसलाई उद्धार गर्नेछु र ऊसित बिहे पनि गर्नेछु । कति मीठो सपना देखिरहेकी छ ऊ ?
र त्यसैले पनि ऊ मप्रति बढी उदार छे, सहिष्णु छे, सहयोगी छे । म उसको यो उदारता, सहिष्णुता र सहयोगको प्रशस्त उपभोग गर्छु ।
वास्तवमा ऊसित मेरो शरीर बाहेक ‘अर्थ’को पनि सम्बन्ध छ । आर्थिक सम्बन्ध ।

ऊ मलाई उधारो दिन्छे । मेरो खाँचो टारिदिन्छे । ‘भएको बेला तिर्नू’ पनि भन्छे ।

गोष्ठी, सेमिनार तथा लेखरचनाहरुमा आदर्श र नैतिकताका भाषणहरू फलाकेर पेट भरिँदैन थाहा छ, त्यसैले खाँचो टार्न म निर्धक्क ऊसित सापट माग्छु ।

सापट लिने दिन म उसको घरमा प्रायः सबैभन्दा अन्त्यमा पुग्छु । किनभने त्यतिखेर ऊसित पैसा हुन्छ । प्रशस्त पैसा हुन्छ । ऊसित हिसाबकिताब लिने उसकी एउटी बुढी आमामात्र छे । आमालाई ढाँट्न उसलाई त्यति गाह्रो पर्दैन । त्यसैले ऊ मलाई सहर्ष सहयोग गर्छे ।
खासमा ऊसित सापट लिन मलाई उत्प्रेरित उसैले गराएकी हो । भन्थीऔ- 'चाहिए माग्नु ।' अनि मैले माग्न थालेँ । निर्धक्क । निर्लज्ज ।

०००

ऊ कहिल्यै मसित पैसा फिर्ता माग्दिन । तर 'मलाई कहिले उद्धार गर्ने ?' जस्तो भावमा प्रश्नहरू ऊ पटकपटक गर्छे । म एउटै जवाफ दिन्छु । - 'एकदिन ।'

उसकी एउटी छोरी पनि छे । छ वर्षकी ।

उसले छोरीको नाम सीता राखेकी छ । भन्छे- 'यो पूर्णमानकी छोरो हो ।'

उसलाई आफ्नी बनाउने बलियो सपना देखाएर पूर्णमानले ऊसित छोरी जन्मायो । र छोरी जन्मेपछि उसकहाँ आउनै छाड्यो ।

त्यो दिनदेखि उसले लोग्ने मान्छेमाथि विश्वास गर्न छाडी ।

तर किन हो, ममाथि विश्वास गर्छे । भन्छे, 'मलाई तिम्रो नैतिकतामा विश्वास छ ।'

नैतिकताको ठीकठीक उच्चारण ऊ जान्दिन । तर पनि सङ्गतले टाकनटुकन  बोलिटोपल्छे ।

म पनि नैतिक छु हालसम्म । उसबाट पाएको रकमलाई पचाइहाल्ने पक्षमा छैन । एकदुई ठाउँमा पैसा अड्केको छ मेरो । त्यो फुत्केपछि तिर्छु । उसलाई यस्तै भनिदिएको छु र ऊ आश्वस्त छे । उसलाई अझ बढी आश्वस्त गराउन म आफ्नो आम्दानीको स्रोत पनि उसलाई खुलाउँछु । जस्तै-

फलानो गोष्ठीको पैसा लिन बाँकी छ ।

फलानो रचनाको पारिश्रमिक लिन बाँकी छ ।

फलानो पुस्तकको रोयल्टी लिन बाँकी छ । आदि आदि ।

त्यसैले ऊ कुनै कोणबाट पनि ममाथि अविश्वास गर्न सक्दिन । निर्धक्क रकम दिइरहन्छे । यसरी लिनेदिने सुरु भएको पनि निकै भइसक्यो ।
ऊ कहिल्यै मसित पैसा फिर्ता माग्दिन । तर 'मलाई कहिले उद्धार गर्ने ?' जस्तो भावमा प्रश्नहरू ऊ पटकपटक गर्छे । म एउटै जवाफ दिन्छु । - 'एकदिन ।'

 ऊ त्यो एक दिनलाई फेरि नयाँ क्रमले पर्खन थाल्छे ।

अस्ति ऊ भन्दै थिई ।

'म छोरीलाई आफूजस्ती बनाउन चाहन्नँ । यसलाई पढाउँछु, ठूली बनाउँछु, ठूली मान्छे बनाउँछु ।' र मैले भनेँ,

'हो, यसलाई ठूली मान्छे बनाउनुपर्छ ।'

ऊ त्यतिखेर आफ्नो भविष्यतिर हेर्दै थिई । पूर्ण आशा र विश्वासका साथ ।

शरीरकार्य सकेपछि उसले भनी ।

'अचेल जीउ साह्रै गलेको छ । पाँचजनाभन्दा बढी थेग्न अप्ठ्यारो पर्छ । भित्रभित्रै खोक्रो हुँदै गएजस्तो लागिरहेछ ।'

मैले पनि चिन्ता व्यक्त गरेँ ।

तर ऊ मेरो चिन्ताले मात्र सन्तुष्ट देखिइन । उसले याचना गरी र भनी- 'मलाई चाँडोभन्दा चाँडो यो भासबाट निकाल ।'  

मैले पनि फेरि उसलाई चाँडोभन्दा चाँडो यस भासबाट निकाल्ने आश्वासन दिएँ । बलियो आश्वासन ।

ऊ विश्वस्त भई ।

०००

यसरी धेरै दिन चल्छ जस्तो लागेन ।

सोचेँ- 'निष्कर्ष निस्कनै पर्छ ।'

कहिलेसम्म उधारो लिइरहनु र कहिलेसम्म उसलाई पर्खाइरहनु ?

किनभने स्पष्ट छ । म उसलाई उद्धार गर्न सक्दिनँ । उसकी छोरीलाई स्वीकार गर्न सक्दिनँ । ऊसित बिहे गर्न सक्दिनँ । त्यसो भए मैले कतिन्जेल उसलाई भ्रममा राख्नु ?

तर म त्यति सारो बेइमान पनि बन्नु हुँदैन । ऊसित लिएको रकम तिर्नैपर्छ ।

हिसाब गरेँ । अक्षरेपी सात सय पचास ।

रोयल्टी बुझेँ ।

सातसय पचास छुटयाएँ ।

यतिन्जेल उसकहाँ नगएको आठ दस दिन भइसकेको थियो ।

केही उत्तरहरू तयार पारेँ । जस्तै-

उसले सोध्ली- 'त्यसोभए मलाई किन सपना देखाएको त ?'

 र म भनुँला- 'रमाइलो लागेर । वेश्याहरूलाई सपना देखाउनु मजा हुन्छ ।'

उसले भन्ली- 'तिमी पनि यति नीच ? पूर्णमान जस्तै ?'

र म पनि जंगिएर भनुँला- 'नीच भए तँ रण्डीलाई यो ७५० फिर्ता गर्न आउँथे ?'

अनि ऊ निरुत्तर होली । रुन थाल्ली । आँशुको नदी बगाउली । त्यो भन्दा बढी के गर्न सक्ली र त्यसले ?

०००

अँध्यारो भयो ।

सोचेँ, अब यतिखेर उसकहाँ कोही आउँदैन ।

अनि लुक्दै, आफूलाई जोगाउँदै उसको घर पुगेँ । बाहिरबाट दुईचार जना रोइरहेको सुनेँ ।

सम्भवतः कुनै ग्राहकसित हातपात भएछ यस्तो सोचेँ र ह्वात्त उसको कोठामा पसेँ ।

स्तब्ध हुनुभन्दा अर्को कुनै उपाय थिएन ।

ऊ त लास भइसकेकी रै छ ।

उसकी बुढी आमा रोइरहेकी थिई ।

उसकी छोरी, जसलाई ऊ ठूली मान्छे बनाउँछु भनेर सोच्थी, त्यो पनि रोइरहेकी थिई ।

मेरो हात सहसा आफ्नो खल्तीतिर गयो । उसलाई तिर्न ल्याएको ७५० यही खल्तीभित्र त छ नि । रनभुल्लमा परेँ, यो रकम कसलाई दिनु ? बुढीलाई कि छोरीलाई ?

मैले मृत वेश्याको शान्त अनुहारतिर हेरेँ ।

गर्मी याम भनेर के गर्नु ? सपना त हिउँ नै भएर उसको अनुहारभरि जमेको थियो । मैले मनमनै उसको सपनालाई सलाम गरेँ र आफ्नो भावुकता र नैतिकताको परिचय दिएँ ।

र पैसा ?

यो त अझै मेरो खल्तीभित्रै थियो । रोयल्टीबाट आएको पैसा । मेरो सिर्जनात्मक कार्यबाट आएको पैसा ।

मनले भन्यो- 'यो पैसा उसकी छोरीका हातमा दिएर जा ।' र मैले मनलाई भनेँ- 'वेश्याकी छोरी कसरी ठूली मान्छे बन्छे ? यो त वेश्यै बन्छे मेरो सिर्जनात्मक कार्यबाट आएको पैसा किन एउटी वेश्यालाई दिऊँ ?'

वास्तवमा यो मेरो उच्च सोचाइ थियो, यथार्थ थियो र ठीक समयको ठीक निर्णय थियो ।

७५० लाई खल्तीबाट निस्कने अवसर नै नदिएर म त्यहाँबाट फर्के । आफ्नो नैतिकता र भावुकतासहित फर्के ।

बुढी र छ वर्षे सीता अझै रोइरहेका थिए । फर्कनुअघि मैले एक पटक उसको मृत तर सपनाहरू जमेको अनुहारतिर हेरेँ ।
र मनमनै भनेँ- 'लाटी ।'

 

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि