कात्तिक १८, २०८१, आइतबार
               

मानिसको घमन्डलाई निरीह बनाउँदै कोरोना

चेतन पाण्डे
चैत १६, २०७६

ADVERTISEMENT

हामी लक डाउनमा छौँ । कुरा पुरानै भइसक्यो । तर, खुसी छौँ । किनकि हामी मर्नबाट बचिरहेका छौँ । 

जीवनको मूल्य कहाँ सस्तो हुन्छ र ! अनि कहिले काहीँ बाँच्नका लागि पनि महँगो मूल्य चुकाउनै पर्छ । अहिले हामी बाँच्नका लागि जति मूल्य चुकाइरहेका छौँ, त्यो त अति न्यून छ । एक पटक विश्वभर नजर दौडाउने हो भने मानिस ठुलो मूल्य चुकाएर पनि मृत्युलाई जित्न सकिरहेका छैनन् । मानिसबाट लास बन्न बाध्य छन् । मलामी बिना मसानको अन्तिम यात्रा गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीले झैँ नागरिकको जीवनलाई लोकतान्त्रिक मूल्यसँग दाँजेको भए आज नेपाल पनि कोरोना भाइरसको ठुलै सङ्क्रमणमा फसेको हुन्थ्यो । विश्वका धेरै मुलुकले अहिले साबित गरिदिएका छन्, जनताको मृत्यु टार्ने कुनै प्रयास लोकतान्त्रिक वा अधिनायकवादी सोचको उपज हुँदैन ।

विश्व महामारी घोषित कोरोना भाइरसको ताण्डव अझै चल्ने छ । सजिलै रोकिनेवाला पनि छैन । कसैको तथास्तुको भरमा कोरोना भाइरसले पृथ्वीमा स्थापित गरेको साम्राज्यबाट सजिलै बिदा लिँदैन पनि ।

चीनले त्यही गर्‍यो, जे सही थियो । संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतले पनि त्यही गर्‍यो, जे सही थियो । अर्थात् नागरिकको ज्यानलाई कुनै राजनीतिक मूल्य मान्यतासँग जोडेनन्, ती देशले । आज नेपाल झैँ भारतभर पनि लक डाउनमा छ । त्यसैले सङ्क्रमण फैलिने गति पनि युरोप–अमेरिकामा भन्दा निकै कम छ ।

हुन त चीनमा पूर्ण विराम लागी सकेको कोरोना सङ्क्रमणको क्रम फेरी सुरु भएको छ । तर, चीनले भर्खरै अपनाएका नीतिलाई अनुसरण गर्दै यो गतिलाई तीव्र हुन दिने छैन । तर, लोकतन्त्रको राटानमा लागेर आफैँलाई प्रजातन्त्रको हिमायती मान्ने मुलुकहरू अहिले निकै सङ्कटमा छन् । तर पनि, प्रजातन्त्र कै राग अलापिरहेका छन् । अनि हरेक दिन मर्ने जनताका लास गनिरहेका छन् । कति अधिनायकवादी चरित्रका मुलुकले पनि लक डाउनलाई पाप सम्झिएका छन् । उनीहरू जनताको लासको खातमाथि खात लगाउँदै छन् ।

विश्व महामारी घोषित कोरोना भाइरसको ताण्डव अझै चल्ने छ । सजिलै रोकिनेवाला पनि छैन । कसैको तथास्तुको भरमा कोरोना भाइरसले पृथ्वीमा स्थापित गरेको साम्राज्यबाट सजिलै बिदा लिँदैन पनि । विश्व स्वास्थ्य सङ्गठन कै भनाइलाई मान्ने हो भने यो रोगले अहिलेभन्दा निकै ठुलो रूप लिँदै छ । यसमा विशाल जनसङ्ख्या भएका मुलुकहरूको नचाहिँदो घमन्डले भरिएको नीतिले ठुलै काम गरिरहेको छ ।

ब्राजिल, मेक्सिको जस्ता विशाल मुलुक अर्थतन्त्र ध्वस्त हुने नाममा यो रोगको फैलावट रोक्ने कुनै योजना बनाइ रहेका छैनन् । राज्यको नागरिकमाथिको दायित्वलाई विखण्डित गरिरहेका छन् । सिधा भन्नु पर्दा नागरिक अधिकारको हत्या गरिरहेका छन् । जनतालाई सजिलै मृत्युको गाँस बनाइ रहेका छन् ।

उता दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत अर्थतन्त्र धराशायी हुन नदिने अडानमा जनता मार्न तल्लीन छ । ठुला देशको ज्यादतीका कारण हामी जस्ता गरिब मुलुकहरूको अर्थतन्त्रमा निकै ठुलो भूकम्प जाने पक्का छ । किनकि यो महामारीबाट सकेसम्म छिटो पार पाउने लालसा उनीहरूमा देखिँदैन । उनीहरू नजोगिएसम्म हामी जस्ता मुलुक कहिल्यै जोगिन सक्दैनन् । यही नै तितो यथार्थ हो । जनता मारेर जोगाएको अर्थतन्त्रको कुनै मूल्य पनि त  हुँदैन । अब त बुझ्नै पर्छ, आफूलाई शक्तिशाली मान्ने मुलुकहरूले । यो महामारीबाट पार पाउन उनीहरूका कुनै अस्त्र सफल नभएपछि चीनले सफलता पाएको अस्त्र उनीहरूले प्रयोग गर्नै पर्छ । अहिले नभए पनि भविष्यमा यो उनीहरूको बाध्यता बनेर अगाडि आउने छ । तर, त्यो बेलासम्म निकै ढिलो भइसक्ने हो कि भन्ने डर भने छ ।

सत्य यही हो, आफूलाई यो लोकको मसिहा मान्ने राष्ट्रहरूले अधिनायकवादी चरित्र देखाएर भए पनि यो रोगलाई जित्ने प्रयास गर्नु पर्छ । जसरी हामीले गरिरहेका छौँ ।

अहिले सर्व शक्तिमान अमेरिका कोरोनाको सर्वाधिक प्रकोपमा पर्ने मुलुकको पहिलो नम्बरमा पुगेको छ, चीनभन्दा पनि अगाडि । अमेरिकी मिडियाहरूले गरेको सर्वेक्षणले त्यहाँ ४ देखि २० लाखसम्म मानिस मर्न सक्ने आङ्कलन गरिएको छ । यस्तो अवस्थामा ट्रम्प प्रशासन कोरोनाबाट सबैभन्दा पीडित न्युयोर्कलाई लक डाउन त के क्वारेन्टाइनमा राख्ने निर्णय गर्नबाट समेत पन्छिएको समाचार आएको छ ।

आखिर जसले जे भने पनि अमेरिकामा हुने हलचलले सारा विश्वलाई असर पार्छ । भूगोलका आधारमा अमेरिकाभन्दा निकै सानो इटाली र स्पेन जस्ता मुलुकले पनि हरेक दिन सयौँ लासको गन्ती गनिरहनु परेको छ ।

अब कोरोना कुनै एक राष्ट्रको टाउको दुखाइ रहेन । हामी सुरक्षित छौँ कि छैनौँ भन्ने हामीलाई नै थाहा छैन । विदेशमा पढ्न गएका बालबच्चालाई सुरक्षित राख्ने उपाय पनि हामीसँग छैन । तर सत्य यही हो, आफूलाई यो लोकको मसिहा मान्ने राष्ट्रहरूले अधिनायकवादी चरित्र देखाएर भए पनि यो रोगलाई जित्ने प्रयास गर्नु पर्छ । जसरी हामीले गरिरहेका छौँ । किनकि कोरोनाको सङ्क्रमण नै यस्तो छ कि यसले कुनै भूगोल र सीमाको बन्धन मान्दैन । आज अमेरिकामा महामारी बनेको यो रोग निमेषभरमा हाम्रो ठुलो टाउको दुखाइ बन्न सक्छ । अनि हामी लास गन्ने अवस्थामा पुग्न सक्छौ ।

सबैलाई थाहा छ, नेपाल स्वास्थ्य सेवाका आधारमा पनि निकै कमजोर मुलुक हाेे । कोरोनाबाट सङ्क्रमित अधिकांशका लागि भेन्टिलेटरमा राख्ने अवस्था आउँदो रहेछ । भोलि यो महामारीले हामीलाई पनि ग्रस्त बनायो भने हामीसँग ती कुनै साधन छैनन्, जसले बिरामी मात्र नभएर उपचारमा खटिने डाक्टरको ज्यान जोगाउन सकोस् । त्यसमाथि निजी अस्पतालको असहयोगी व्यवहारले मातृभूमिलाई झनै रुवाएको छ । यस्तो अवस्थामा विश्वभर यो सङ्क्रमण नरोकिएसम्म सरकारले असहयोगी निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भएको छ । जनताको ज्यानका खातिर राज्यले बढाउने कुनै पनि पाइलालाई अधिनायकवादी सोचको उपज मान्न सकिँदैन । त्यो पनि यस्तो सङ्कटको समयमा ।

अर्को तिर, हामीलाई थाहा छ । विश्वभर कोरोनाको सङ्क्रमण नरोकिए पनि सरकारले लक डाउनको निर्णय फिर्ता लिन्छ भने त्यसपछि सङ्क्रमण फैलने दरमा पनि निकै वृद्धि हुनेछ । त्यसपछि निम्तिने सङ्कट हाम्रो कल्पनाभन्दा पनि भयावह हुनेछ । अहिले हामी घरभित्र छौँ र पो सुरक्षित छौँ । सडकमा निस्किएको दिन हामी पनि कोरोना भाइरसबाट सङ्क्रमित बन्ने सम्भावना ह्वात्तै बढ्छ ।

लक डाउन सुरु नै गरेपछि सरकारले यसलाई मझधारमा पनि छाड्न सक्दैन नै । हामीले बुझ्नै पर्छ । अब जनता कोरोनाको सङ्क्रमणबाट मुक्त छन् भन्ने नलागेसम्म यो निर्णयमा ‘ब्रेक’ लगाउन पनि निकै जोखिम छ । जनता दिन प्रति दिन झनै त्रसित हुँदै छन् । लक डाउनको सुरुवाती दिनमा मृत्युलाई पनि जित्न सक्छु भनेर सडकमा निस्किएकाहरू आज घरमा चुकुल लगाएर बसिरहेका छन् ।

सङ्क्रमण रोक्नभन्दा पनि नचाहिँदो अहम् पालेर बसेका मुलुकहरूलाई घचघचाएर लक डाउन जस्तो कठोर निर्णय गर्न लगाउन सारा विश्व एक हुनुपर्ने अवस्था छ ।

यथार्थको धरातलमा उभिएर भन्ने हो, हामी लामै समय लक डाउनमा बस्ने छौँ । शायद सरकारको सोच पनि यही हुनसक्छ । बरु, जनता अत्तालिएलान् भनेर ७–७ दिन गरेर लक डाउनको समय बढ्दै जाला । त्यसमाथि यो विश्व महामारीमा हामी सुरक्षित छौँ भनेर कहिल्यै भन्न सक्दैनौ, जबसम्म सारा संसार सुरक्षित बन्दैन । त्यसैले यो लक डाउनको भविष्य विश्वमा यो रोगको फैलावटको गति कस्तो रहन्छ भन्ने कुरामा पनि निर्भर गर्छ । अझ हाम्रो नजिकको भारतमा यो सङ्क्रमण नरोकिएसम्म हामी सुरक्षित छौँ भनेर पनि कहिल्यै भन्न सक्दैनौँ । हामी भाग्यमानी रहेछौँ, अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमणले भयावह रूप लिएको छैन । ताण्डव मच्चाएको छैन । यसका लागि सरकारले लिएको निर्णयलाई हामीले विरोध होइन, भित्र मनदेखि समर्थन गर्नु पर्छ । सरकारले पनि नागरिकका साना ठुला समस्याका रूपमा रहेका अड्चनका गाँठालाई कसरी सही ढङ्गबाट फुकाउने भन्ने निर्णय पनि लिनै पर्छ ।

साथै, सङ्क्रमण रोक्नभन्दा पनि नचाहिँदो अहम् पालेर बसेका मुलुकहरूलाई घचघचाएर लक डाउन जस्तो कठोर निर्णय गर्न लगाउन सारा विश्व एक हुनुपर्ने अवस्था छ । किनकि कोरोना भाइरसको सङ्क्रमणले मुलुक मुलुक बिचको सीमा भत्काएको छ । विज्ञानका चमत्कारलाई प्रकृतिका अगाडि निरीह बनाएको छ । मानिसको घमन्डमाथि पनि राज गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । मृत्युलाई निकै सस्तो र सुलभ बनाएको छ । जिउन कति सङ्घर्ष गर्नु पर्छ भन्ने पाठ पढाएको छ । तर पनि हामी आफ्नो घमन्डलाई जित्न सकिरहेका छैनौँ । जसरी कोरोनाको सङ्क्रमणलाई पनि जित्न सकिरहेका छैनौँ । 

त्यसैले हामीले पनि कोरोनाले उसलाई त कुन्नि मलाई चाहिँ मार्न सक्दैन भन्ने अहम् त्याग्नै पर्छ । सरकारले पनि जनताको जीवनको सुनिश्चितता गर्न जतिसुकै कडा कदम चाल्न परे पनि चाल्नु पर्छ । तर, ध्यान यति दिनु पर्छ, कोरोनाले मार्न नसकेका जनतालाई भोक र स्वास्थ्य सेवाको पहुँचको अभावले नमारोस् । यति बुझ्नै पर्छ, कोरोनाले कहिले मार्ला, कहिले ? भोकले त तत्काल मार्छ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि