मंसिर ०६, २०८१, बिहीबार
               

आत्मबल नै बाँच्ने आधार

चेतन पाण्डे
चैत १२, २०७६

ADVERTISEMENT

सहर–बस्ती आजकाल सुनसान छन् । मसानबाट फर्किएका अनुहार जस्तो । अस्पताल बाहिर आफन्तको मृत्युमा एकोहोरो टोलाएको आँखा जस्तो ।

लामो समयपछि देखिँदै छ, कोलाहलमुक्त सहर अनि देश । तर, यो रिक्तताले मनमा सुखी दिएको छैन । स्वच्छ वातावरणमा श्वास फेर्न पाए पनि मनमा आनन्द छैन । मन गह्रुङ्गो मात्र बनिरहेको छ । जीवन भोलि झन् कष्टकर बन्ने हो की भन्ने अज्ञात भयले ।

२०४६ सालमा पहिलो पटक कर्फ्युको अनुभव गरियो । सधैँ मस्त देखिने काठमाडौँ एकाएक ढलेको थियो । घाइते र लासको सङ्ख्या बढ्दो थियो । परिवर्तनको चाहनामा । केही नारा जुलुसमा सहभागी त भइयो । तर, धेरै जसो पछाडिको पङ्क्तिमा बसेर । थाहा थियो, पुलिसले गोली ठोक्दा अगाडिबाटै ठोक्छ भन्ने । ज्यान त्यति प्यारो लाग्थ्यो, मलाई । अहिले कोरोना भाइरसले कताबाट ठोक्छ, पत्तै नहुने ।

प्रशासनलाई आदेश दिन लगाएर सरकारले लगाउने कर्फ्युको पनि अवज्ञा गरियो । आँटका साथ । तर, मन आज जति विचलित छ, त्यो बेला त्यति भएको थिएन । अहिले सरकारको उर्दि नमाने मर्ने सम्भावना पनि त छ ।

२०४६ सालको परिवर्तनपछि त बन्द, कर्फ्यु जस्ता कडा वाक्य सामान्य बन्न थाल्यो । तर पनि, मन अत्तालिँदैन थियो । आज अत्तालिएको छ । बेचैन बनेको छ । नचाहेर पनि शरीर आलस्य बढेको छ । लक डाउनले मनलाई पनि लक गरेको छ ।

२०७२ सालको भूकम्प नै थियो । अन्तिम पटक मन र मस्तिष्कलाई छियाछिया पारेर बिथोल्ने । हो, त्यति बेला अत्तालिएका थिए । यो बस्तीका बासिन्दा ।

कोरोनाको महामारी मै नजाकिए पनि हाम्रो मन मस्तिष्क कोरोनाग्रस्त भइसकेको छ । थप एक सङ्क्रमित भेटिएका छन्, काठमाडौँ । यही एउटा समाचारले सारालाई त्रसित बनाएको छ । मनमा महामारी ल्याइदिएको छ ।

मर्न कसलाई मन हुन्छ र ? त्यो बेला मरिने डरले सबै घर बाहिर आएका थिए । आज फेरी मरिने डरले घरभित्र लुक्न बाध्य छन् । त्रासको वेग फरक हुँदो रहेछ । हावाको वेग जस्तो, घामको राप जस्तो । आनन्द आउँदा सेकिएर बस्ने, शरीरले थेग्न नसक्दा त्यसैबाट बच्न ओत खोज्ने ।

मृत्युभन्दा पहलमान कोही रहेनछ । सत्य हो । मानिसले बनाएका हरेक वस्तु प्रकृतिभन्दा कमजोर हुँदा रहेछन् । भूकम्पले झैँ अहिले  पनि धनी र गरिबको भेद छुट्ट्याएको छैन, कोरोनाले । धनी वा गरिब कसलाई पो कालले  राहत दिएको छ र ? अहिले दिन्छ की भनेर आस गर्ने । त्यसैले त अहिले सम्पन्न मुलुकहरू समेत मसानमा परिणत भइरहेका छन् । अनि हरेक दिन लासको गन्ती गरेर बसिरहेका छन् । 

बरु हामी गरिब देशले अहिले देखिएको महामारीका कारण लास गन्नु परेको छैन । धनी देशहरू लाचार छन् । कस्तो बिडम्बना धनले काललाई किन्न सकिँदैन रहेछ । अहिले नबुझे, कहिले बुझ्ने ? अरुको मन दुखाएर, अनियमितता गरेर धन थुपार्नेहरुले त अब बुझ्नै पर्छ ।

भूकम्पले त सीमित भूगोललाई निशाना बनाएको थियो । अनि पो धनी मुलुकले हामीलाई माया गरेका थिए । अहिले उनीहरूप्रति माया देखाउने औकात छैन, हाम्रो । हामीलाई माया गर्ने समय र फुर्सद छैन, उनीहरूसँग । 

कोरोनाको महामारी मै नजाकिए पनि हाम्रो मन मस्तिष्क कोरोनाग्रस्त भइसकेको छ । थप एक सङ्क्रमित भेटिएका छन्, काठमाडौँमा । यही एउटा समाचारले सारालाई त्रसित बनाएको छ ।  मनमा महामारी ल्याइदिएको छ । यो सङ्क्रमण बिस्तार भएको खण्डमा हाम्रो जिन्दगी पशुपतिनाथको भरोसामा जानेछ । किनकि समाजप्रति अनुत्तरदायी सोच भएका निजी अस्पतालको पकडमा छ, अहिले हाम्रो मुलुकको स्वास्थ्य सेवा । त्यसैले मुलुक लक डाउनमा फसेको छ । 

भूकम्पको झैँ झट्का फेरी ५ वर्षपछि हामी महसुस गर्दै छौँ । सहर–बस्तीमा छाएको मृत्युको सन्त्रासले नै अहिले मन पोल्न थालेको छ । त्यसमाथि मुलुक आर्थिकरुपमा ध्वस्त हुने सम्भावना पनि प्रशस्त छ नै ।

एउटा छिमेकीबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले पृथ्वीको एक चक्कर लगाएर अर्को छिमेकीको टाउको दुखाइ बनिसकेको छ । अहिलेसम्म मात्र एक–दुई जनामा देखिए पनि मुलुकको अर्थतन्त्रलाई कोरोनाको सङ्क्रमणले छोइसकेको छ । भन्नु पर्दैन, हामीलाई पनि कोरोनाले ढाल्दै छ ।

भूकम्पले त झट्का दिएको समयमा मात्र मार्न सक्छ । तर, कोरोना भाइरस त कुनै छापामार लडाकु जस्तो पो बनेको छ । कति बेला कताबाट पसेर कसलाई आक्रमण गर्छ भन्ने पत्तो पनि छैन । मृत्यु झैँ । खबर नगरी हुँडरी मच्चाएर जाने ।

सरकारले कोरोनाको सङ्क्रमण भित्रिन नदिन अहिले जे जस्तो तयारी गरेको छ, त्यो प्रशंसायोग्य नै छ । आखिर कसले प्रकृतिलाई जित्न सकेको र छ, हामीले सक्छौँ भनेर घमन्ड गर्ने । तर, सत्य यो पनि छ, कोरोनाबाट सङ्क्रमित हुँदैमा मरिँदैन, पक्का ।

सञ्चार माध्यम पनि कोरोनाबाट मरेका मानिसको गन्ती गर्न मै व्यस्त छन् । रोग हो बच्ने उपाय अपनाउनु नै पर्छ । तर, कोरोनालाई कुनै आणविक अस्त्र जस्तो मृत्युको हुलाकीका रूपमा प्रचार गरिनु पनि दुर्भाग्यपूर्ण नै छ ।

होला, विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरिसकेको छ । हो अहिले यो रोगबाट धेरै देश आक्रान्त छन् । तर, सङ्क्रमित र मर्नेको सङ्ख्या दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा आणविक बम खसाल्दा झैँ पनि छैन । कोरोना कुनै आणविक अस्त्र पनि त होइन नि । 

अहिलेसम्म विश्व जनसङ्ख्याको मात्र ० दशमलव ००५ प्रतिशत जति मानिस सङ्क्रमित भएका छन् । त्यसमाथि त्यही रोगबाट सङ्क्रमित भएर मर्नेको सङ्ख्या ४ दशमलव ५ प्रतिशतको हाराहारीमा मात्र छ । अर्थात् यो रोगबाट सङ्क्रमित भएर बाँच्ने कै सङ्ख्या मर्नेभन्दा निकै बढी छ । साढे ९५ प्रतिशतभन्दा बढी ।

अनि किन हामीले सधैँ नकारात्मक सोच मात्र पाल्ने ? सङ्क्रमित भएपछि बाँच्नेको सङ्ख्या बढी नै रहेको अवस्थामा पनि हामी किन यसरी घिटीघिटी मरिरहने ? फेरी यसको अर्थ सङ्क्रमित भएर केही हुँदैन भन्ने पनि होइन । सङ्क्रमणबाट बच्ने सबै उपाय अपनाउनु पर्छ । तर, मनमा हरेक क्षण मर्ने भय पालेर बाँच्नु मेरा लागि सह्य छैन । शायद कसैका लागि पनि नहोला । 

हामी मेसिन बनिसकेका छौँ । सामाजिक बन्धनहरू भत्कँदै छन् । अहिले कोरोनाले यस्ता बन्धनका गाँठाहरू कस्ने मौका दिएको छ । सामाजिक प्राणी बन्ने मौका दिएको छ । मेसिनबाट मानिस बन्ने मौका दिएको छ । आफन्तसँग खुलेर कुरा गर्ने मौका दिएको छ, टेलिफोन मै सही । घरमा बन्धक बनाइएको जिन्दगीलाई अत्तालिनभन्दा पनि मौकाका रूपमा लिन सकेको खण्डमा कोरोना अभिशापभन्दा पनि वरदान बन्न सक्छ ।

जिन्दगी मेरो हो, यसलाई कसरी जिउने भन्ने अधिकार पनि मसँगै छ । यस्तै सोच लिएर अहिलेसम्म बाँचिएको छ । शायद आगोको लप्का मुखमा नराख्दासम्म मेरा सोच पनि मबाट टाढा जाँदैन जस्तो लाग्छ ।

२०६८ सालको पुस महिनामा हृदयाघात भएपछि मेरो जिन्दगीले अर्कै मोड लियो । यहाँका डाक्टर बिरामीप्रति संवेदनशील छैनन् भन्ने सुनिएको थियो । त्यो बेला भोगियो नै । एक जना नाम चलेका डाक्टरले दुई–चार पटक नै एन्जियोग्राफी गर्न आनाकानी गरेको कारण बाध्य भएर नयाँ दिल्लीको एस्कर्ट अस्पतालमा त्यो परीक्षण गराउन बाध्य भएको थिएँ । तर, बिगारे विदेशी डाक्टरले झनै । एन्जियोग्राफीपछि गरेको एन्जियोप्लास्टि । झन्डै नमरेको । हाल्नुपर्ने नशामा नहालेर अर्कैमा हालेछन्, धमनी खोल्ने स्टेन्ट ।

राजेश खन्नाको अभिनय मात्र होइन । जीवनको अन्तिम श्वाससम्म कसरी हाँसेर बाँच्ने भन्ने कौशल सिएका छन्, आनन्दले । वास्तव मै आनन्दको जिउने र मर्ने शैलीले निकै मन छाएको थियो र छ ।

यहाँ नाम चलेका डाक्टर भगवान् कोइरालासँग बाइपास शल्यक्रिया नै गराउनु पर्‍यो । बाइपास गराउँदा कोरोनाभन्दा पनि बढी मर्ने जोखिम हुँदो रहेछ । अहँ पटक्क डर लागेन । म पनि हाम्रा प्रधानमन्त्री जस्तै  वा उनीभन्दा केही कम आँटिलो रहेछु, अहिले लाग्दै छ । जिन्दगी धान्न त औषधी त चाहिन्छ नै, साथमा आत्मबल पनि । 

समयले दुई–चार पटक नै कालको मुख देखाएर फर्काएको छ । तर, कहिल्यै बाँच्ने आशा मारिएन । अनि त्यो ती दिन सम्झिँदा पनि आङ सिरिङ्ग हुँदैन । रोमाञ्चकता जाग्छ । मैले पनि कोरोनालाई त्यही पारामा जित्ने योजना बनाएको छु । त्यसैले फेरी आत्मबल जुटाएको छु । संक्रमणबाट बच्ने सबै उपाय अपनाउँछु । त्यो पछि त किन सजिलै बग्ला, मेरो राख बाग्मतीमा ।

म जन्मिनुभन्दा पनि अगाडि भारतीय चलचित्र निर्देशक ऋषिकेश मुखजीले ‘आनन्द’ बनाएका थिए । सन् १९७१ मा बनेको त्यो चलचित्र मौका मिल्दा आज पनि हेर्छु । मनमा बसेका छन्, आनन्द । राजेश खन्नाको अभिनय मात्र होइन । जीवनको अन्तिम श्वाससम्म कसरी हाँसेर बाँच्ने भन्ने कौशल सिकाएका छन्, आनन्दले । वास्तव मै आनन्दको जिउने र मर्ने शैलीले निकै मन छोएको थियो र छ । ज्यानै जाने गरेर सिकिस्त बिरामी हुँदा पनि मेरो मनबाट आनन्दको जिउने शैली टाढा जान सकेन । त्यसैले आज पनि चाहन्छु, प्राण त्याग्दाका बेला मेरो पनि ओठ हाँसेकै होस् । बस्, यही चाहन्छु । तर, मन कहाँ सधैँ हाँस्छ र ?

अहिले कोरोनाभन्दा पनि नेपालका निजी अस्पतालको रवैयाले मन दुखाएको छ । सारा मुलुक यो रोगविरुद्ध एकजुट हुँदा निजी अस्पतालले काँधमा काँध मिलाउने कुरा गरेका छैनन् । सुने अनुसार अहिले धेरैजसो मुलुकले मलेरियाको औषधीबाट कोरोना सङ्क्रमितको उपचार गर्दै छन् । शायद उपचारमा मोटो नाफा नहुने देखेरै निजी अस्पताल जिम्मेवारीबाट भाग्न खोजेका पो हुन् कि ? नत्र अहिले जुन क्षेत्र सक्रिय हुनु पर्थ्यो, त्यही क्षेत्र निष्क्रिय बनेका छन् । यसले स्वास्थ्य क्षेत्र कति नाफाखोरी बनेका रहेछन् भन्ने बुझाइ रहनु नपर्ला पनि ।

भोलि कोही सङ्क्रमित भएको खण्डमा हामी उपचार गर्छौ भनेर आँट गर्ने निजी अस्पताल एउटै देखिएका छैनन् । बरु कोरोना झैँ लक्षण देखिएका बिरामीलाई कसरी सकेसम्म छिटो सरकारी अस्पताल तिर भगाउने भन्ने षडयन्त्र पो रच्दा रहेछन्, निजी अस्पतालहरू । यस्ता समाचार दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छ ।

राज्य र समाजप्रति अनुत्तरदायी यस्ता अस्पतालहरूलाई सीमित व्यक्तिको स्वार्थपूर्ति र आय आर्जनको दरिलो माध्यम बन्न दिनुभन्दा यस्तो सङ्कटमा सरकारले कब्जा गरे राम्रो हुन्थ्यो कि ? भन्ने पो मनमा लाग्न थालेको छ । 

मन मानिससँग मात्र होइन, राज्यसँग पनि हुनु पर्छ अनि राज्यका हरेक संयन्त्रसँग पनि । मन नभएका निजी क्षेत्रले त राज्यलाई उकास्ने भन्दा डुबाउने काम गर्छन् । अहिले निजी अस्पताल त्यही पथमा हिँडेँ जस्तो छन् । सारा विश्व महामारीसँग लडिरहेको अवस्थामा किन हाम्रा निजी अस्पताल मौन छन् ? किन भोलि कोही सङ्क्रमित भएको खण्डमा हाम्रो अस्पतालमा उपचार गर्न आऊ भन्न सक्दैनन् ? यसले हाम्रो समाज कतातिर जाँदै छ भन्ने पनि प्रस्ट पार्छ । पैसाभन्दा ठुलो भगवान् अर्को हुँदैन भन्ने विश्वास दिलाउँदै छन्, त्यस्ता अस्पताल ।

भगवानले गरोस् ! कोरोना भाइरसले नेपालमा महामारीको रूप नलियोस् । तर, मागे जति सबै पाइँदैन । नत्र माग्थ्येँ, यो संसारलाई कोरोनामुक्त बनाइ देऊ, प्रभु ! 

अहिले मुलुक सङ्कटको चौबाटोमा उभिएको । यसका सञ्चालकहरू नै के गर्ने र कसो गर्ने भन्ने अलमलमा छन् । नाकाबन्दीभन्दा कठोर अवस्थामा पुगेको छ, मुलुक । त्यसैले अब यो देशका हरेक नागरिक व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु पर्छ । कोरोनालाई हामी कुटेर, पिटेर जित्न सक्दैनौँ तर संयमित भएर जित्न सक्छौँ । यस्तो अवस्थामा यो देशको एक मुठ्ठी माटोमा जिउने आधार बनाएकाले सरकारका निर्णयलाई निर्देशन होइन, कर्तव्यका रूपमा लिनुपर्छ । थप आफूले पुर्‍याउने सहयोग र आफैँ कसरी बच्ने भन्ने योजना त बनाउनै पर्छ ।

समाजको चित्त दुखाएर कमाएको नाफाले कहिल्यै मिठो निन्द्रा दिँदैन । अहिले प्रत्यक्ष रूपमा कोरोनाविरुद्ध लड्नुपर्ने वर्गले यो कुरा बुझ्नै पर्छ । निजी अस्पतालहरूले पनि यो नाफा होइन, प्रशंसा कमाउने बेला हो भन्ने यथार्थलाई बुझ्नै पर्छ । कोरोना आणविक बम होइन, रोग हो । यो लाग्ने बित्तिकै मरिँदैन । त्यसले यो समय त्रसित हुने होइन, संयमित हुने बेला हो । बुझ्नै पर्छ ।
 

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि