असोज १९, २०८१, शनिबार
               

मसिनो

नयनराज पाण्डे
फागुन ३०, २०७६

ADVERTISEMENT

त्यतिबेला मैले मोटरसाइकल चलाउन जानेकै थिइनँ । डेरानजिकैको एउटा ड्राइभिङ इन्स्टिच्युटको गुरुजीसित केही दिनअघि पुतलीसडकको पुष्करको सेकुवामा चिनजान भएको थियो । त्यतिबेला म खसीको आँखा र जिब्रो फ्राइ खाँदै थिएँ । गुरुजी भने बोकाको राजखानी खाँदै थियो । राजखानी खाँदै गफ लगाएको थियो उसले- ‘राजखानी खायो भने पावर बढ्छ । गर्लफ्रेन्ड खुसी हुन्छन् ।’ 

निकै बेरपछि स्थिति केही शान्त भयो । प्रेमिका भागिन् । उसले पत्नीसित हात जोड्यो । पत्नी रुँदै घर फर्किन् । 

उसको इन्स्टिच्युट देखाउनका लागि मात्र खोलिएको थियो । खासमा ऊ लाइसेन्स बनाइदिने धन्दामा लागेको थियो । बाइक चलाउन नआए पनि लाइसेन्सचाहिँ लिइराख्न मन लाग्यो मलाई । एक बिहान उसको इन्स्टिच्युटमा गएँ । तर त्यतिबेला उनको कार्यालयबाहिर हिंस्रक स्थिति थियो । गुरुजीले आफ्नी प्रेमिकालाई कार्यालय सचिव बनाएर राखेका रहेछन् र हरेक बिहान उनीहरुबीच कार्यकक्षमै प्रेमलीला चल्दो रहेछ । यो कुरा गुरुजीकी जहानले थाहा पाएर बिहानै दुवैलाई रेड ह्याण्ड समातेकी रहिछन् । म पुग्दा उनले पालैपालो कैले लोग्ने र कैले निजकी प्रेमिकालाई भुत्ल्याइरहेकी थिइन् । जे होस्, निकै बेरपछि स्थिति केही शान्त भयो । प्रेमिका भागिन् । उसले पत्नीसित हात जोड्यो । पत्नी रुँदै घर फर्किन् । 

पत्नीले भुत्ल्याएको कपाल मिलाउँदै गुरुजीले मलाई एक जना सईको नाम दियो । बग्गीखाना गएर निजसित चिनजान गरेँ । लाइसेन्सको कुरा भयो । लेनदेनको कुरा भयो । लिखितमा पास भएको तेस्रो दिन ट्रायल दिन सिंहदरबारअगाडिको नेशनल ट्रेडिङ परिसर पुग्नु पर्ने भयो ।

साइकल चलाएको अनुभव छँदै थियो । नेपाली सिनेमा र सिरियलहरूमा खलनायकको भूमिकामा बेलाबखत देखा पर्ने गौतम थरका भाइले भोलिपल्ट दिनभरि बाइक चलाउन सिकाइदिए । तर ट्रायलको दिन त्यो सिकाई कामै लागेन । ट्रायलका लागि बाइकमा सवार हुने बित्तिकै मेरो दिमागमा बादल लाग्यो । कुन बेला, कसरी बाइक स्टार्ट भयो र अगाडि बढ्यो भन्ने थाहै भएन मलाई । त्यहाँ लहरै राखिएका छ सातवटा पोललाई नागबेली पार्दै क्रस गर्नु थियो । जसोतसो पहिलो पोल त क्रस भयो । तर त्यसपछिका एउटै पोल साविक रहेनन् । भटाभट बाइकसित ठोक्किँदै ढले । टाढाबाट हवलदार करायो- ‘बाइक रोक्नुस् ।’

हुलभित्र एक महिला र दुई पुरुषबीच हानाहान चलिरहेको थियो । थाहा भो, पति-पत्नी रहेछन् । पतिले आफ्नी स्वास्नीलाई उसको ब्वायफ्रेन्डसित रेडह्यान्ड समातेको थियो र पालैपालो स्वास्नी र ब्वायफ्रेन्डलाई भकुर्दै थियो ।

तर, कसरी रोक्नु ? ब्रेक लगाउने होस भए पो । दिमागमा बादल लागिसकेको थियो । एक्सिलेटर घुमाको घुमायै गरेँ । बाइक तीव्र गतिमा हुत्तिँदै नेशनल ट्रेडिङको भित्तातिर लाग्यो । अब ठोकियो कि तब ठोकियो । मुटु ठेगानमा थिएन । तर, भित्ता करिब डेढ दुई सय मिटर टाढा भएकोले झन्डै पचास मिटर बाँकी हुँदा मेरो दिमागबाट बिस्तारै बादल हट्न थाल्यो । त्यसपछि हत्तपत्त ह्याण्ड ब्रेक लगाइहालेँ । बाइक ठामका ठाम झ्याप्पै रोकियो । म असन्तुलित भएँ । लडेँ । ममाथि बाइक लड्यो । टाढाबाट लाइसेन्स मिलाइदिने सई साब मेरो ताल हेरिरहेका थिए । मैले पनि लडिरहेकै स्थितिमा उनलाई हेरेँ । उनले टाउकोमा हात राखे । एकछिनपछि नजिक आएर खुसुक्क भनेऔ- ‘अलिअलि सिकेर त आउनु पर्छ । तपाईँजस्तोलाई कसरी लाइसेन्स मिलाउनु ? अब मैले भनेरमात्र पनि हुन्न, इन्स्पेक्टर साबलाई पनि मिलाउनु पर्छ । एक हजार लाग्छ ।’

साँझ पुरानो बानेश्वरदेखि मैतीदेवी लाग्ने बाटोको उकालोतिर कुनै डान्स रेस्टुरेन्टमा भेट्ने कुरा भयो । मैले उनलाई त्यहीँ खानपिन गराएर एक हजार हस्तान्तरण गर्नु पर्ने भयो । उतिबेला काजल भन्ने डान्सर खुब चर्चित थिइन् । तिनले नाच देखाउने रहिछन् त्यहाँ । मस्त खाए सई साबले । लाग्यो उनलाई । मैले हजार दिएँ उनलाई । उनले त्यो हजार नृत्य गरिरहेकी काजलको चोलोमा हालिदिए ।

फर्किँदा डान्स रेस्टुरेन्टको ढोकैमा मारपिट भइरहेको देखेँ मैले । जिज्ञासावश यसो हुलभित्र पसेँ । हुलभित्र एक महिला र दुई पुरुषबीच हानाहान चलिरहेको थियो । थाहा भो, पति-पत्नी रहेछन् । पतिले आफ्नी स्वास्नीलाई उसको ब्वायफ्रेन्डसित रेडह्यान्ड समातेको थियो र पालैपालो स्वास्नी र ब्वायफ्रेन्डलाई भकुर्दै थियो । ब्वायफ्रेन्डको निधारमा ठुलै चोट लागेर खल्खली रगत बगिरहेको थियो । एकैछिनमा पुलिस भ्यान आयो । तीनै जनालाई झ्याइँकुटु पार्दै भ्यानभित्र हुल्यो पुलिसले । एउटा जँड्याहा फत्फताउँदै थियो- ‘असईलाई कुट्यो । हातखुट्टा भाँच्छन् आज पुलिसले त्यो लोग्ने भनाउँदाको ।’

०००

अर्को कुनै दिन । मैतीदेवी र डिल्लीबजारको बीचमा पुलिसको चेकिङ रहेछ । बाइक रोकेँ मैले । त्यहीबेला कानमा भाइब्रेट भयो । दिमाग ठेगानमा आयो मेरो । मोबाइल त मेरो कानैमा रहेछ । म आफ्नो मूर्खतामा हाँसेँ मनमनै । 

दृश्यहरू रोकिए । दृश्यसँगै जीवनजगतको एउटा सत्य पनि मेरो अगाडि स्थिर भएर रोकियो, जसमा स्पष्ट भएर आएको थियो समाजको बदलिँदो स्वरूप र धरापमा पर्दै गएको सम्बन्धहरूको एउटा मसिनो कथा । 

असईले मेरो लाइसेन्स हेर्‍यो । लाइसेन्समा मेरो सल्यानको ठेगाना थियो । त्यही देखेर उसले सोध्यो- ‘दाइ सल्यानको हो ?’

हो । मैले जवाफ दिएको थिएँ ।

‘मरिचमानलाई चिन्नु हुन्छ ?’

‘चिन्छु ।’

खासमा मैले मरिचमानका बारेमा सुनेको मात्र थिएँ । भेटघाट भएको थिएन । मेरो बुवाले उहिले उहिले मरिचमानको प्रसङ्ग आउँदा उत्साहित भएर भन्ने गर्नुहुन्थ्यो- ‘म सल्यानमा हेडमास्टर हुँदा मरिचमान मेरो अन्डरमा सहायक हेडमास्टर थियो ।’

मरिचमान प्रधानमन्त्री भएपछि मेरो बुवा उनलाई भेट्न काठमाडौँ आउनुभएको थियो । फर्कँदा भने उहाँको अनुहारमा खुसी थिएन । पछि भन्नु भयो- ‘बल्ल बल्ल भेट त भयो । तर चिनेजस्तै गरेन ।’

मैले असईको छातीको बिल्लामा त्यतिबेलै नाम हेरेँ । लामिछाने थर उल्लेख थियो । मैले नेपालगन्ज पढ्दा ताकाका एक जना लामिछाने थरकै साथी थियो । सल्यानबाट एक पुस्ताअघि नेपालगन्ज झरेको र नेपालगन्जमै राजनीति र जडीबुटीको तस्करीमा संलग्न भएर अकुत कमाएको थियो त्यो साथीले । मैले उसकै नाम लिएँ र सोधेँ असईसित- ‘उसलाई चिन्नु हुन्छ ?’

असईले उत्साहित हुँदै भनेको थियो- ‘अरे, किन नचिन्नु ? उहाँ त मेरो काका हो ।’

त्यतिबेला मेरो लाइसेन्स फिर्ता गर्दै भनेको थियो असईले- ‘उसो भए त तपाईँ पनि मेरो काका नै हुनु भयो । नमस्ते गरेँ काका ।’

मैले नमस्ते फर्काएँ । तर, मैले ऊसित सोधिनँ- ‘भतिज, केही महिनाअघि रेस्टुरेन्टमा एक जना महिलाको श्रीमानले तिमीलाई हिर्काउँदा निधारमा लागेको चोट कति दिनमा निको भयो ?’

०००

त्यसकै केही दिनपछिको कुरा त हो नि ! जमलमा पुलिस चेकिङ रहेछ । मेरो लाइसेन्स केही महिनाअघि एक्सपायर भैसकेको थियो ।

चेकिङमा भएका असईलाई चिनेँ मैले । मेरो नेपालगन्जको साथीको भतिजो । लामिछाने थरको । तर यसपटक भने भतिज झ्याप थियो । 
‘एक्सपायर भैसकेको लाइसेन्स लिएर हिँड्नु भारै'छ । जरिवाना लाग्छ । चिट काट्नु पर्छ ।’ 

‘सल्यानको हुँ । तिम्रो नेपालगन्ज बस्ने काकाको साथी ।’ 

मैले छुटकारा पाइहाल्छु कि भन्ने आशासाथ परिचय दिएँ । उसले एकछिन आँखा तन्काएर हेर्‍यो मलाई । चिन्यो बल्ल ।

‘लौ, काका पो पर्नु भएछ । उसो भए सय रुपियाँ दिएर जानुस् ।’

०००

आफन्तको छोराको व्रतबन्धमा नेपालगन्ज जानै पर्ने भयो । व्रतबन्धको भोलिपल्ट घरमा भव्य पार्टी थियो । मलाई त्यही दिन काम विशेषले गाउँ जानुपर्ने भयो । तर साँझसम्म फर्किने योजना थियो । आफन्तले नै मलाई बाइकको साँचो दिए र भने- ‘कालो बाइक छ । गेटबाहिर ।’

बाइक लिएर म हिँडेँ । धम्बोझी । धम्बोझीबाट कोहलपुर । कोहलपुरबाट बाँसगढीतिर । तर बाँसगढी नपुग्दै डुँडुवाखोलाको पुलनेरै बाइक रोकियो । जति गर्दा पनि स्टार्ट भएन । रिजर्भको स्विच झार्न खोजेँ । तर बाइक त पहिलेदेखिनै रिजर्भमा कुदिरहेको रहेछ । बाइकमा तेल सकिएको पक्कापक्की भयो । म आफन्तसित रिसाएँ । कमसे कम बाइकमा तेल छैन त भन्नुपर्छ नि ।

बाँसगढीमा पेट्रोल पम्प थियो । तर बाँसगढी दुई अढाई किलोमिटर टाढा थियो । चैतको महिना, गर्मी चढिसकेको थियो । अब बाइक डोर्‍याउँदै बाँसगढी पुग्नुबाहेक अर्को उपाय थिएन । असिनपसिन हुँदै म बाँसगढीको पेट्रोल पम्प पुगेँ । साँचोले ट्याङ्कीको बिर्को खोल्न खोजेँ । मरिगए खुलेन । अन्त्यमा नजिकैको मेकानिकै बोलाएर ट्याङ्कीको बिर्को फोड्नै पर्ने भयो । उपाय थिएन । फोडियो । 

फोडिएको बिर्कोलाई काम चलाउ हिसाबले अड्काइदिएर मेकानिक भाइले सुझाव दियो- '‘नेपालगन्ज गएर नयाँ बिर्को हाल्नु होला । यसले अब काम गर्दैन ।’

अन्ततः तेल हालेँ । गाउँ गएँ । केही घण्टा बिताएँ । र फेरि नेपालगन्जतिरै लागेँ । त्यहीबेला भेटियो मेरो स्कुले साथी । म नेपालगन्ज आएकोबेला ऊसित यदाकदा भेट हुन्थ्यो । स्कुलमा पढ्दा फिस तिर्ने पैसा हुँदैनथ्यो ऊसित । तर अचेल कार चढेर हिँड्ने भैसकेको थियो । काँग्रेसबाट राजनीति सुरु गरेको थियो उसले । त्यसपछि एमाले हुँदै जनयुद्धताका माओवादीमा लागेको थियो ऊ । जनयुद्धको बेलै काठ र जडीबुटी तस्करीमा लागेर उधुम कमाएको थियो उसले । तर बाँसगढीमा भेटिँदा भने ऊसित कार थिएन । पैदलै थियो । 

‘केन्द्रबाट कमरेडहरू जिल्ला भ्रमणमा आउनुभएको छ । आफ्नो कार उहाँहरूलाई दिएको छु ।’

मेरै बाइकमा नेपालगन्ज फर्किने भयो ऊ पनि । बाटोमा उसले गुनासो गर्‍यो- ‘बाँसगढीमा मेरो भारत पठाउने जडीबुटी समातेछ पुलिसले । आज सईलाई गोदेर आएको मैले ।’

उसको दाहिने हत्केलामा हल्का चोट पनि लागेको थियो । समयक्रमले ऊ मेरो मित्रभन्दा बढी एउटा नामुद तस्कर भैसकेको थियो । तस्करलाई आफ्नो बाइकमा राख्नुपरेकोले ग्लानि पनि भइरहेको थियो मलाई । 

कारकाँदो कटेर धम्बोझी चोकनिर आउँदा नआउँदै तीन-चारजना पुलिसले एकैपटक तीन चारतिरबाट सिटी बजाए । दौडादौड गरेर मेरो बाइक घेर्न आए । म भयानक आत्तिएँ । साथीलाई समात्नै दौडेका हुन् यी पुलिसहरू भन्ने पक्का भयो मलाई । तर नजिक आएपछि पुलिसहरूले साथीलाई नमस्कार पो गरे । केरकार त मसित पो भयो । ती पुलिसमध्ये एउटाले वाकीटकीबाट कसैलाई खबर गर्‍यो- ‘बाइक फेला पर्‍यो साब ।’

केहीबेर बाइक चोरलाई झैँ सोधपुछ भयो मसित । मैले आफन्तलाई फोन गरेँ । आफन्त पनि हस्याङफस्याङ गर्दै आइपुगेपछि बल्ल कुरो खुल्यो । मैले आफन्तको हैन, पार्टीमा आएका एक जना पुलिसकै बाइक पो लिएर हिँडेको रहेछु । निकै सकसपछि कुरो मिल्यो । 

मसित आएको मेरो तस्कर मित्र पनि जिल पर्‍यो । हाँस्यो मज्जाले । मलाई उसको हाँसो पटक्कै मन परेन । उसको हाँसो ठिक उसको भतिजको जस्तै थियो । भतिज अर्थात् त्यही असई, जसले मलाई काठमाडौँमा काका भनेर सम्बोधन गरेको थियो र जसलाई मेरै अगाडि कुनै बेला ड्राइभिङ इन्स्टिच्युटको गुरुजीले आफ्नी स्वास्नीसित लागेको निहुँमा निधार फुट्ने गरी कुटेको थियो ।

त्यहीबेला । एकदम अचानक । बाइकसित जोडिएका मेरा यी केही थान अनुभवहरू एक ठाममा गाँसिए । त्यसपछि तयार भयो एउटा संयोगले भरिएको एउटा फिल्मी कथा र त्यसमा जोडियो चरित्रहरूको एउटा शृङ्खला । सबैभन्दा पहिला देखा पर्‍यो गुरुजी, जसले यो कथाको आरम्भमै अर्की महिलासित लागेको आरोपमा आफ्नी श्रीमतीबाट कुटाइ खाएको थियो । त्यसपछि आइन् तिनै श्रीमती, जसलाई केही दिनपछि गुरुजी आफैँले ब्वायफ्रेन्डसित रेस्टुरेन्टमा भेटेको थियो र त्यहीँ भकुरेको थियो उसले आफ्नी श्रीमती र उसको असई ब्वायफ्रेन्डलाई । त्यो असईले फेरि यो कथामा मेरो साथीको भतिज भएर प्रकट भयो र मलाई काका भनेर नमस्कार गर्‍यो । कथामा त्यसपछि दृश्यवान् भएर आयो असईको काका अर्थात् मेरो साथी, जो काठ र जडीबुटीको तस्करी गरेर गरिबबाट धनी भएको थियो ।

दृश्यहरू रोकिए । दृश्यसँगै जीवनजगतको एउटा सत्य पनि मेरो अगाडि स्थिर भएर रोकियो, जसमा स्पष्ट भएर आएको थियो समाजको बदलिँदो स्वरूप र धरापमा पर्दै गएको सम्बन्धहरूको एउटा मसिनो कथा । 

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि