मंसिर ०७, २०८१, शुक्रबार
               

इन्दिरा, ओली अनि अहम् !

चेतन पाण्डे
फागुन १५, २०७६

ADVERTISEMENT

जब भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएर सारा शक्ति आफ्नो हातमा लिइन् । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली भने लक्का जवान थिए, त्यति बेला । 

राजनीतिमा हात हालिसकेका ओलीले पत्रपत्रिका र रेडियोबाट गान्धीको अधिनायक चरित्रको पराकाष्ठा बारे पढेका, सुनेका थिए नै होलान् । अहिले लाग्छ, उनी पनि कतै गान्धीबाट प्रभावित त थिएनन् । अनि, मुलुकमा अधिनायकवाद लादेका कारण गान्धीले कति आलोचना सहनु पर्‍यो भन्ने पनि उनलाई कसैले भन्नु पर्दैन होला । हुन त अधिनायकवादको प्रयोग नेपालको इतिहासमा पनि अनेकौँ पटक भएकै छन् । अधिनायकवादरुपी बीजको फल कस्तो फल्यो भन्ने पनि हेरेकै छौँ । चाखेकै छौँ ।

आफ्नै दलका वरिष्ठ नेता र अदालत विपक्षमा रहेको रिसको झोँक फेर्न इन्दिरा गान्धीले आफू निकट राष्ट्रपति फकरुद्दिन अहमदलाई प्यादा बनाएर भारतमा सङ्कटकाल मात्र लगाइनन्, विरोधी जति सबैलाई जेलमा कोचिन् पनि ।

भारतीय राष्ट्रिय काँग्रेसका उनीभन्दा वरिष्ठ नेताहरू गान्धीको कार्यशैलीबाट खुसी थिएनन् । वरिष्ठ नेताहरूले साथ छाडे पनि उनले आफ्नै बलमा सन् २०७१ को चुनावमा ‘गरिबी हटाओ’ नाराको दिएकै भरमा दुई तिहाइ बहुमत हात पारेकी थिइन् । तर, सन् १९६७ देखि ७१ सम्म शासन चलाउँदा उनले निरन्तर विरोधहरूको सामना गरिरहनु परेको थियो ।

उनको अहम् कै कारण सन् १९६९ मै भारतीय राष्ट्रिय काँग्रेस टुक्रिसकेको थियो । काँग्रेस (सी) र काँग्रेस (आर) का नाममा । इन्दिरा गान्धीले नेतृत्व गरेको काँग्रेस (आर) ले सन् ७१ को आम चुनावमा दुई तिहाइ सिट जितेपछि त्यो नै आधिकारिक काँग्रेस पार्टी बन्यो । उनको विरोधमा लागेका जयप्रकाश नारायण जस्ता नेता मूलधारको राजनीतिबाट केही समयका लागि बाहिरिए । उनको विरोधमा नारा लगाउन मै सीमित भए । काँग्रेस पार्टी भने गान्धी परिवारको औँलाको इसारामा चल्न थाल्यो । इन्दिराको नेतृत्वमा उनका जेठा छोरा सञ्जय गान्धी पार्टीका अर्का शक्तिशाली नेता बने ।

समयसँगै सन् १९७१ को चुनावमा प्रचण्ड सिट जितेको अहम् उनमा पलाउँदै गयो । अदालतदेखि कर्मचारीतन्त्रलाई आफ्नो कारिन्दा सम्झिन थालिन् । राज्यका मुख्यमन्त्रीहरू चयन राजनीतिक तवरबाटभन्दा पनि उनको खल्तीबाट हुन थाले । पार्टीभित्र चाकडी प्रथाले प्रवेश पायो । स्वाभिमानको राजनीति गर्नेहरूको भविष्य नै अन्योलमा पर्न थाल्यो । उनको क्याबिनेट पनि उनका केही विश्वासपात्रको भरमा चल्न थाल्यो । उनी कसैलाई नटेर्ने भइन् । सत्ताको मातले । त्यही समयमा उनले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट छुट्ट्याउन सफल भइन् ।

सन् ७२ मा बङ्गलादेशको गठन भएको एक महिना भित्रै उनले आफूलाई भारत रत्नको सम्मान समेत दिलाइन् । सर्वोच्च अदालतले आफुविरुद्ध एकपछि अर्को फैसला सुनाउन थालेपछि वरिष्ठ अन्य ३ न्यायाधीशको सट्टा ए एन रेलाई सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश समेत नियुक्त गराइन् । जसले उनी विरुद्ध रहेका प्रधानन्यायाधिसलाई कमजोर बनाउने उनको खेल सफल भयो । विशाल लोकतन्त्रको स्वतन्त्र न्यायालयमा पहिलो पटक राजनीति हाबी भयो ।

उनी यति अप्रिय भइसकेकी थिइन् कि त्यही वर्षको मार्च महिनामा सम्पन्न आम निर्वाचनमा उनको दलले मात्र नभएर उनी स्वयं र पुत्र सञ्जय गान्धी समेतले पराजयको स्वाद चाख्नु पर्‍यो । यति मात्र नभएर विहार र उत्तर प्रदेशका काँग्रेसका सबै उम्मेदवारले पनि पराजय व्यहोर्नु परेको थियो ।

सन् १९७१ को आम निर्वाचनमा इन्दिरा गान्धीसँग हारेका राज नारायणले उच्च अदालतमा उनले सत्ता र शक्तिको आडमा चुनाव जितेको आरोप लगाउँदै मुद्दा दायर गरे । नारायणका लागि शान्ति भूषणले लडेको सो मुद्दामा अलाहाबाद उच्च अदालतले गान्धीले सरकारीतन्त्रको गलत उपयोग गर्दै चुनाव जितेको फैसला गर्‍यो । राजीनामा दिनुको सट्टा उनी त्यो फैसला विरुद्ध सर्वोच्च अदालतमा पुगिन् ।

२४ जुन १९७५ मा सर्वोच्च अदालतका न्यायाधीश भि आर कृष्ण अय्यरले उच्च अदालतको फैसला सदर गर्दै गान्धीले सांसदका रूपमा पाउँदै आएको सबै सेवा सुविधा फिर्ता लिने फैसला गर्‍यो । त्यो फैसलापछि पनि गान्धीले प्रधानमन्त्रीबाट राजीनामा दिइनन् । उच्च अदालतको फैसलासँगै जयप्रकाश नारायण र मोरारजी देसाइको अगुवाइमा उनी विरुद्ध आन्दोलन सुरु भइसकेको थियो । त्यसैको झोँकमा उनले सर्वोच्चको फैसलाको भोलिपल्टै संसार कै विशाल लोकतान्त्रिक मुलुकमा अधिनायकवादको अभ्यास सुरु गरिन् । अङ्ग्रेजबाट स्वतन्त्रता पाएको ३ दशक पनि नबित्दै भारत एक व्यक्तिको कुण्ठाको जालोमा जकडियो ।

उनले २५ जुन सन् १९७५ मा विरोधिहरुलाई डन्डा लगाउन राष्ट्रपतिबाट घोषणा गराएकी सङ्कटकालले उनलाई नै भुङ्ग्रोमा पार्‍यो । उनको आग्रहमा राष्ट्रपतिले तत्काल सङ्कटकालको घोषणा गरे । साथै सङ्कटकाल घोषणा भएको मात्र ३ घण्टाभित्र छानी छानी प्रमुख पत्र पत्रिकाको कार्यालयको बिजुलीका लाइन काटिए । विरोधिहरुलाई जेलमा थुनियो । १८ जनवरी १९७७ मा सङ्कटकाल समाप्तिको घोषणा नहुँदासम्म उनी यति अप्रिय भइसकेकी थिइन् कि त्यही वर्षको मार्च महिनामा सम्पन्न आम निर्वाचनमा उनको दलले मात्र नभएर उनी स्वयं र पुत्र सञ्जय गान्धी समेतले पराजयको स्वाद चाख्नु पर्‍यो । यति मात्र नभएर विहार र उत्तर प्रदेशका काँग्रेसका सबै उम्मेदवारले पनि पराजय व्यहोर्नु परेको थियो । अर्को अर्थमा त्यो आम निर्वाचन जनताले अधिनायकवादलाई स्विकार्ने कि लोकतन्त्रलाई भन्ने आधारमा लडिएको थियो । विपक्षीको नारा पनि त्यही नै थियो ।

सत्ताको मातमा उनले लोकतन्त्रमाथि गरेको प्रहार कै कारण सङ्कटकालपछिको निर्वाचनबाट जनता पार्टीको गठबन्धनका मोरारजी देसाइ प्रधानमन्त्री निर्वाचित भएका थिए । इन्दिरा गान्धी कै हठका कारण देसाइले स्वतन्त्र भारतमा काँग्रेस बाहिरको पहिलो प्रधानमन्त्री बन्ने मौका पाए ।

सत्ताको उन्मादले राजनीतिलाई दाउमा लगाउने गान्धी मात्र संसारमा एक्ली नेता होइनन् । सत्ता उन्मादले मात्तिएकालाई जनताले लोप्वाको स्वाद चखाएका विदेशमा मात्र होइन नेपालमा पनि धेरै छन् । नाम लिइरहनु नपर्ला । 

अहिले प्रधानमन्त्री केपी ओलीमा पनि सत्ताको मात चढेको विपक्षीहरू आरोप लगाउँछन् । अधिनायकवाद उन्मुख भएको दाबी गर्छन् । आफ्नै दलभित्र पनि उनी अप्रिय बन्दै छन् ।

सत्ताको मात नै होला कसैलाई पनि प्याच्च भन्न बाँकी राख्दैनन् । पार्टी सचिवालयको निर्णयसमेत मान्न अटेरी गर्न थालेका छन् । बामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर उनका विश्वास पात्र मन्त्री युवराज खतिवडालाई मन्त्रिपरिषद् बाहिर राख्ने योजनामा पार्टीका अन्य नेता लागेको उनको बुझाइ छ । शायद सबैको बुझाइ पनि यही हो । केही दिन अघि मात्र उनका अर्का अर्का विश्वास पात्र मन्त्री गोकुल बास्कोटा मन्त्री मण्डलबाट हटिसकेका छन् । बास्कोटाको कमिसन काण्डलाई पनि उनले आफुविरुद्ध खेलिएको नियोजित खेलका रूपमा बुझेका रहेछन् ।

एकपछि अर्को गर्दै आफ्ना विश्वासपात्र माथि हमला हुन थालेपछि ओली जस्ता नेताको पारा नछुट्ने कुरै छैन । मनभित्र गाँठो पारेर राखेको आवेगलाई अन्ततः उनले सार्वजनिक गरी छाडे । पार्टी कै नेताहरूसँग वार कि पारको युद्ध लड्न गर्न तयार रहेको सूचना दिए ।

उता, उनकै कोटरीबाट बाहिरिएको समाचार अनुसार उनी राष्ट्रपतिको अधिकार पनि बढाउन चाहिरहेका छन् । राष्ट्रपतिमा सङ्कटकाल घोषणा गराउने अधिकारसम्म प्रत्यायोजन गराएर । शायद आवश्यक परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि फकरुद्दिन अहमद झैँ प्रयोग गर्न सकियोस् भन्ने मनसाय उनको छैन भन्न सकिँदैन । अहमद इन्दिरा गान्धीको पकेटको प्यादा थिए । अनि सोच विचार अनुसार राष्ट्रपति बनाइएका थिए, गान्धीकै चाहनामा । विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहराउने चाहना पनि ओलीकै थियो । ओलीका लागि यो कार्यकालमा भण्डारी झैँ सहज राष्ट्रपति अर्को कोही हुन पनि सक्दैन थियो ।

भारतमा सङ्कटकाल लगाएर अधिनायकवादको प्रयोग गर्दा गान्धीले पार्टीका सबै वरिष्ठ नेतालाई पाखा लगाएकी थिइन् । अहिले ओली शैली पनि त्यस्तै देखिन्छ । आफ्नो कोटरीभन्दा बाहिर बस्ने कसैको कुरा सुन्नै नचाहने, सुने पनि मान्दै नमान्ने ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले इन्दिरापथमा हिँडेर यो लोक अनि परलोकको बसाइँलाई बिगार्नुभन्दा केही समय स्वास्थ्यमा मात्र ध्यान दिएर उपचार र आराम गर्नु नै उपयुक्त हुन्छ कि ?

गान्धीलाई आफुविरुद्ध पत्रपत्रिकाले लेखेको मन पर्दैन थियो । हुन त कसैलाई मन पर्दैन । तर, राजनीति गर्नेले चाकडी मात्र होइन आलोचना पनि पचाउन जान्नु पर्छ । त्यसैले गान्धीले सङ्कटकालमा धेरै पत्रिका बन्द पनि गराइन् ।

नेपालमा पनि पछिल्लो समय सङ्कटकालको प्रयोग हुँदा पहिलो निशाना मिडिया नै बनेको थियो । अहिले हाम्रा प्रधानमन्त्री पनि पत्रकार र पत्रकारिता भने पछि निकै नै चिढिन्छन् । केही अघिसम्म आफ्ना विश्वासपात्र पूर्व मन्त्री गोकुल बास्कोटामार्फत मिडियामाथिको आफ्नो झोँक झार्ने गरेका थिए नै । शायद अब अर्को कोही बास्कोटा निकाल्छन् होला, पकेटबाट ।

हुन त प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका कारण पनि उनी अलि चिढ चिढे भएका होलान् । विज्ञानले नै सिद्ध गरिसकेको छ, बिरामी तथा नियमित औषधी सेवन गर्ने मानिसमा चिढचिढेपनको मात्रा बढी हुन्छ । शरीर कमजोर हुँदा उ मानसिकरुपमा बलियो रहेको देखाउन चाहन्छ । अनि अनेकौँ नाजायज हर्कत गर्छ । त्यसमाथि हाम्रा प्रधानमन्त्रीलाई एक होइन अनेकौँ रोगले गाँजेको छ ।

मिर्गौला, मुटुका रोगीलाई स्वाभाविक रूपमै ‘हाइपर टेन्सन’ वा उच्च रक्तचापको समस्या हुन्छ । उच्च रक्तचापका बिरामी पनि रिसाहा स्वभावका हुनु स्वाभाविकै हो । जुन अवगुण हाम्रा प्रधानमन्त्रीमा पनि देखिन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने बानी त उनको पुरानै हो । उनी सार्वजनिक भाषणमा हरेक पटक विरोधको सेखी झार्न छाड्दैनन् । यसैले होला पार्टीभित्र अरूको मिलनलाई उनी आफुविरुद्धको षडयन्त्र मान्न बाध्य हुन्छन् । रोगबाट उब्जिएको उनको कमजोरीलाई पार्टीका विरोधि खेमाले हतियारका रुपमा उपयोग गर्नु सही होइन । यसको अर्थ उनको हरेक गलत कदममा साथ दिनु पर्छ भन्ने पनि छैन ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले इन्दिरापथमा हिँडेर यो लोक अनि परलोकको बसाइँलाई बिगार्नुभन्दा केही समय स्वास्थ्यमा मात्र ध्यान दिएर उपचार र आराम गर्नु नै उपयुक्त हुन्छ कि ? अथवा कहिले काहीँ विरोधीका पनि सल्लाह मानेर आफ्नै नारा अनुसार देशको समृद्धिमा ध्यान दिँदा भोलिका दिनमा अझै दुई–चार बढी चोकमा उनका शालिक ठडिएलान् कि ? नत्र यो देश र उनी स्वयंको दलसमेत अहिले मात्र नभएर कहिल्यै पनि अधिनायकवादको प्रयोगमा उनको अवश्य साथ दिँदैनन् ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि