बैशाख १४, २०८१, शुक्रबार
               

एनआरएनए विश्व सम्मेलन : राष्ट्रवादी मत निर्णायक अवस्थामा

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन नजिकिँदै गर्दा चुनावी समीकरण र जोडघटाउ सुरु भएको छ । 

प्रतिनिधि छनोट विवादले तरङ्गित एनआरएनए सम्मेलनमा अध्यक्षका प्रत्याशीहरू नतिजा आफ्नो पक्षमा पार्न कसरतरत छन् ।

अध्यक्षमा डा. बद्री केसी, अघिल्लो पटकका प्रत्याशी कूल आचार्य, उपाध्यक्ष रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरू भूगोल एवं विचारका आधारमा पनि भोट बैंकहरू आफ्नो पक्षमा तान्न तल्लीन छन् ।

यो सम्मेलनमा राष्ट्रवादी मत निर्णायक बन्ने अवस्था छन् । अध्यक्षका प्रत्याशीहरूको ध्यान अहिले राष्ट्रवादी र राजावादी भोटतर्फ पुगेको छ । कतिपय राष्ट्रवादी अगुवाहरू अहिलेदेखि तानातानमा पर्न थालेका छन् । राप्रपा र राप्रपामा नरहेका राजावादीहरूको भोट यसपटकको सम्मेलनमा निर्णायक छन् ।

राप्रपाको प्रवासमा आफ्नै संगठन छ । प्रवासी नेपाली एकता समाजको नाममा २६ देशमा राप्रपाको संगठन विस्तार रहेको लामो समयदेखि प्रवास विभाग हेर्दै आएका राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य विजय खड्काले बताए । त्यसबाहेकका मुलुकमा पनि संगठनको सम्पर्क व्यक्ति रहेका छन् ।

खड्काका अनुसार विश्व सम्मेलनमा राप्रपाको संगठनमात्रैबाट तीन सयभन्दा बढी मतदाता हुनेछन् । उनका अनुसार समग्र राजावादीहरूको संख्या निकै धेरै रहेको छ ।

राप्रपा समर्थक एनआरएनहरू अहिलेसम्म पर्ख र हेरको अवस्थामा रहेका छन् । नेता खड्काले राष्ट्रवादी शक्तिले कसलाई समर्थन गर्ने भन्ने तय भई नसकेको बताए । उनले भने- 'राष्ट्रिय राजनीतिक, अन्तर्राष्ट्रिय परिवेश र प्रवासमा रहेकै साथीहरूको रायका आधारमा यस सम्बन्धी निर्णय हुनेछ ।'

राप्रपाको अमेरिकामा प्रेमकुमार श्रेष्ठ, राजेन्द्र शेरचन, लोक तिवारी, ज्ञानेन्द्र गुरुङ, रञ्जन थापा, रवि रावललगायत सक्रिय छन् । अस्ट्रेलियामा अजय राजवंशी, ऋषिकेष न्यौपाने, डा. रामकृष्ण निरौला, मिलन आचार्य, प्रमोद भण्डारी, दीपक गौतमलयायत प्रवासी नेपाली एकता समाजमा सक्रिय छन् । त्यसैगरी युरोप रोशन सापकोटा, भूपाल कार्की, तीर्थबहादुर मल्ल (अनिल), दीपेन्द्र केसी, अनिल थापा, महेन्द्र पन्त, अमिर गुरुङ, अर्जुन ओली, मिना कार्की र विजय शाहीलगायत क्रियाशील छन् । 

गल्फमा पनि समाज सक्रिय छ । तोयनाथ लम्साल, शशि सिलवाललगायतले गल्फ सम्हालेका छन् भने एसिया प्यासिफिकमा योगेन्द्र कुँवर, हेमराज सापकोटा, लक्ष्मी खापुङ, ईश्वर विक्रम शाह, नवीन शाही, रविन हुमागाईँलगायत क्रियाशील छन् ।

एनआरएनएको विश्व सम्मेलन कात्तिक ६ देखि ८ सम्म काठमाडौंमा हुने बताइएको छ । अनलाइनबाट मतदान हुने भएकोले यसपटक आफू बसेकै मुलुकबाट भोट हाल्न पाइने छ । 


कस्तो लाग्यो ?

यो पनि