चैत १६, २०८०, शुक्रबार
               

एनआरएनए अधिवेशन : उम्मेदवारी घोषणा सुरु

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

बर्लिन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्दै छन् ।

यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहेको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ । यहाँ एक हजार ५९५ सदस्य छन् । आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शंकर डाँगी विजयी भइसकेका छन् ।

अक्टोबर तेस्रो साता सुरु हुने अधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक र उपसंयोजकका उम्मेदवारका रूपमा जर्मनीबाट क्रमशः पूर्वआइसिसी सदस्य सन्तोष भट्टराई र जर्मनीका पूर्वअध्यक्ष डा. नवराज रोस्याराले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

यसपटक पहिलेको जस्तो परिस्थिति पनि नभएको र आफ्नो उम्मेदवारी समयको माग बनेकाले युरोप क्षेत्रको नेतृत्व लिने अठोटमा पुगेको उनिहरुको भनाइ छ । 

यसैगरी बद्री केसी, कुल आचार्य र रविना थापाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुन लागेको बताइएको छ । उपसंयोजक पदका उम्मेदवार डा रोस्यारा पनि अन्तिम अवस्थासम्म आउँदा केवल तीन जनाको मात्र उम्मेदवारी पर्नसक्ने भएकाले सर्वसम्मतरूपमा विजयी हुने दाबी गरेका छन् ।

विद्युतीय मतदान प्रणालीमार्फत अक्टोबरमा हुने निर्वाचनमा युरोप क्षेत्र संयोजकको लागि अहिलेसम्म पाँच जनाको नाम बढी चर्चामा छ । तीमध्ये जर्मनीबाट भट्टराई, बेलायतबाट कृष्णप्रसाद तिमल्सिना, आयरल्याण्डबाट शुक्रराज न्यौपाने, स्पेनबाट मुक्त गुरुङ र चिन्तामणि सापकोटा रहेका छन् ।

त्यस्तै उपसंयोजकको तीन पदका लागि जर्मनीबाट डा. रोस्यारा, अष्ट्रियाबाट सागर सुवेदी, बेल्जियमबाट चित्र सुवेदी, पोर्चुगलबाट भीमकमल केसी, नर्वेबाट कुमार पण्डित, आयरल्याण्डबाट सागर लामा, बेलायतबाट ललितकुमार न्यौपाने र दयानिधि तिवारी बढी चर्चामा छन् ।


कस्तो लाग्यो ?

यो पनि