बैशाख २६, २०८१, बुधबार
               

एआरएनमा चुनावी सरगर्मी बढ्दै, सचिवमा डा. बस्नेतको चर्चा

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने सम्मेलनको तयारीसँगै प्रतिस्पर्धा पनि जारी छ । 

चुनावी माहौलसँगै एनआरएनएको अबको नेतृत्व कसले लिने भन्ने चर्चा चल्न थालेको छ । 

यसपटकको विश्व सम्मेलनमा नीति र नेतृत्व दुवैले प्राथमिकता पाउने देखिएको छ । खासगरी एकेडेमिक व्यक्तित्वहरूले पनि संगठनको नेतृत्वमा रुचि र अग्रसरता बढाएका छन् ।

अध्यक्षमा डा. बद्री केसीको उम्मेदवारी पक्कापक्की भएको छ । यसअघिका प्रत्याशी कुल आचार्य पनि मैदानमा आउने सम्भावना छ । उपाध्यक्षमा डा. हेमराज शर्माको नाम चर्चामा छ । त्यसैगरी उपाध्यक्षमा महेश श्रेष्ठसमेतको नाम पनि सुनिएको छ ।

कोरियामा रहेका डा‍. देवीबहादुर बस्नेतले सचिवमा उम्मेदवारी दिँदै छन् । यसअघि सचिवमा प्रत्याशी भइसकेका डा. बस्नेतको उम्मेदवारीलाई हेभिवेट मानिएको छ । तर उनले अझै औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

संखुवासभामा जन्मिएर मोरङको तत्कालीन सिजुवा ७ (हालको रतुवामाई नगरपालिका ६) मा हुर्किएका बस्नेत सानैदेखि मेधावी छात्र थिए । उनको पढाइ र लगनशीलता देखेर स्थानीय सौँठा माविका शिक्षक निकै गर्व गर्दथे । 

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमएससी) गरेका थिए । अध्ययन र अनुसन्धानले उनलाई कोरिया पुर्‍यायो । अहिलेको उनको कर्मभूमि हो कोरिया । 

विराटनगरस्थित महेन्द्र मोरङ आइएससी र बीएससी गरेका उनले त्रिविबाट जैविक विज्ञानमा विशिष्टता गरेका थिए । डा. बस्नेतले एमएससीमा क्यान्सर निको पार्ने केमिकल (ट्याक्सोल छुट्याउने र त्यसको विशेषताको पहिचान गर्ने) को बारेमा अनुसन्धान गरेका थिए ।

मिलनसार स्वभावका  बस्नेत कोरियाबाट सन् २००५ मा जीव रसायनमा पिएचडी गरेका हुन् ।

डा. बस्नेत सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् । उनले नेपाली समाज तथा नेपालको आर्थिक विकासमा ऊर्जा थप्ने खालका कामहरू गर्दै आएका छन् ।

उनले कोरियामा विद्यार्थीहरूको एक मात्र संस्था (सोनसिक) को संस्थापक उपसभापति (२००४) भएर काम गरेका थिए । बस्नेत २०७२ सालमा नेपालमा भूकम्पबाट प्रभावित स्कुलहरूको मर्मतको लागि बनेको समितिको संयोजक रहेका थिए ।

बस्नेतले सन् २००६ मा एनआरएनए दक्षिण कोरियाको संस्थापक उपसभापति हुँदै एनआरएनसँगको आफ्नो यात्रा जोडेका हुन् । त्यसपछि महासचिव तथा तीन कार्यकालसम्म संरक्षक हुँदा विभिन्न नौला र रचनात्मक कामहरू गरेका थिए ।

बस्नेतले एनआरएनए आईसीसी सदस्यको रूपमा दुई कार्यकाल बिताइसकेका छन् । नेपाल बाहिर फैलिएको बौद्धिक वर्ग अझै एनआरएनएसँग आबद्ध हुन सकिरहेको छैन । डा. बस्नेतले एकेडेमिक व्यक्तित्वहरूलाई यसको मूल प्रवाहमा ल्याउनुपर्ने मान्यता राख्दै त्यसैअनुसार काम पनि गर्दै आएका छन् ।

उनले एनआरएनए आइसिसीका विभिन्न कमिटी तथा टास्क फोर्समा रहेर काम गरिसकेका छन् । उनले मुख्यतया 'स्किल, नलेज र इनोभेसन' कमिटीमा रहेर गैरआवासीय नेपाली संघमा योगदान पुर्‍याएका छन् । सन् २०२० मा भएको एनआरएनए एसिया प्यासिफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक भएर बस्नेतले काम गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि