बैशाख १७, २०८१, सोमबार
               

अफगानिस्तान यसकारण बन्दैछ पृथ्वीकै नर्क

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

काबुल । राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भीड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाँड्ने भएपछि सर्वसाधारणको भीड बढेको हो । 

तालिवानले भीडलाई शान्त राख्न दबाब दिइरहेको थियो । तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे । 

‘जाडो बढेको छ,’ एक पुरुषले भने, ‘अहिले रोटी बनाएर राख्न सकिन भने कसरी जाडो कटाउने भन्ने मलाई थाहा छैन् ।’

चिसो बढेसँगै अफगानिस्तान पृथ्वीकै नर्क बन्ने जोखिम छ । अधिकांश क्षेत्रमा खडेरी परेका विवरण सार्वजनिक भइरहेका छन् । कृषि उत्पादन नहुँदा भोकमरीका घटना दिनहुँ बढेका छन् । 

अफगानिस्तानमा भोकमरीमा परेका २२ लाख मानिसको खाद्य सुरक्षा गर्न डब्लूएफपीलाई चुनौती छ । 

अन्य हिउँदभन्दा यो वर्षको हिउँदमा जाडो बढ्ने विज्ञहरुले साबधानी दर्शाएका छन् । खडेरी र भोकमरीले अफगानिस्तानको ठूलो जनसंख्या प्रभावित हुने उनीहरूले बताउँदै आएका छन् ।   

अफगानिस्तानको अवस्था कल्पना गरेभन्दा पनि भयाबह भएको डब्लूएफपीका निर्देशक डेभिड बिस्ले बताउँछन् । अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या भएको उनको भनाई छ । 

अफगानिस्तानका ९५ प्रतिशत मानिसलाई पर्याप्त खाना नभएको र २३ लाख मानिसहरु भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ । ६ महिनाभित्र अफगानिस्तानमा ठूलो मानवीय दुर्घटना हुन सक्ने डब्लूएफपीको अनुमान छ ।  

अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गर्नुअघि तत्कालिन राष्ट्रपति असरफ गनी नेतृत्वको सरकारले हिउँदको चुनौती सामना गर्न सक्ने अनुमान गरिएको थियो । 

किनकी, यसअघिका हिउँदमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा ठूलो सहयोग प्रदान गर्दै आएको थियो । तर, तालिवानको सत्तपलटसँगै दातृ राष्ट्रले अफगानिस्ताबाट आफ्नो हात झिकेका छन् । 

पश्चिमा मुलुकहरुले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग पनि रोक्का गरेका छन् । देशमा कठोर शारिया कानुन लागू गरिएको र छात्राहरुलाई विद्यालयबाट बन्चित गरिएको भन्दै पश्चिमेली मुलुकहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको घोषणा गरेका हुन् । 

के पश्चिमा मुलुकहरु लामो समयसम्म आफ्नो अडानमा रहेर अफगानिस्तानका लाखौं मानिसहरुलाई भोकमरीमा बाँच्न बाध्य पार्लान ? अहिलेको यक्ष प्रश्न यही हो ।
डब्लूएफपीले विश्वका सरकारहरुलाई अफगानिस्तानमा तत्काल मानवीय सहयोग प्रदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

‘विश्व नेता र खर्वपतिहरु ! एक पटक कल्पना गर्नुहोस त ! तपाईका साना छोराछोरी भोकमरीका कारण मृत्युको मुखमा धकेलिँदैछन् ।’ विश्व समुदायलाई अफगानिस्तानमा सहयोगको आह्वान गर्दै निर्देशक डेभिड भन्छन् ।

अहिले पृथ्वीमा ४०० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भए पनि लाखौं बालबालिकाको भोकमरीका कारण मृत्यु भइरहेको र यसले सबैलाई लाज लाग्नुपर्ने उनको भनाई छ । 

‘भोकका कारण कुनै बच्चाको मृत्यु हुन्छ भने त्यसले हामीलाई लाज लाग्नुपर्छ । त्यो बच्चा कहाँको हो भन्ने अर्थ रहँदैन’,  उनी भन्छन् ।

‘जाडो बढेसँगै मेरो मनमा त्रास बढेको छ । बालबालिकालाई दिने खानेकुरा केही छैन्, चाँडै मैले सडकमा माग्दै हिड्नु पर्छ’, मध्ये अफगानिस्तानको बामियान सहरकी फातिमा भन्छिन् । उनका ७ ओटा सन्तान छन् । उनका पतिको क्यान्सरका कारण केही महिनाअघि मृत्यु भएको थियो । 

भोमकरीका कारण केही अभिभावकले आफ्ना सन्तान बेचेका छन् भने केहीले आफ्ना छोरीलाई पाका मानिससँग विवाह गरिदिएर केही रकम लिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि