जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालिन् ।
जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि विवाहको मिति तय भएको थिएन ।
जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकाे हाे । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका हुन् । विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएको छ । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन् ।
यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो ।