तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ ।
तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो ।
उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ ।
तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ''सबै रणनीतिक स्थानमा'' उपस्थित रहेको बताउँदै ''लडाइँ जारी राख्ने'' जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए ।
''तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु,'' उनले भने ।
तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो ।
भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन् ।
यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन ।
सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो ।
पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढ बनाइदिएका छन् ।
बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर-पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वत शृङ्खला नजिक छ ।
उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत्का बाँधहरू र वायुऊर्जा केन्द्र रहेका छन् ।
अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडिओ टावर निर्माणमा सहयोग गरेको छ ।
तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन ।
यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन ।
सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो ।
स्थानीय कबिलाका नेता अमहम मसूदले अहिले तालिबानविरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेका छन् । यसअघि उनका पिताले सोभियत सेना र तालिबानको प्रतिरोध गरेका थिए ।
तर सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो ।