बैशाख २४, २०८१, सोमबार
               

तालिबानले चीन फर्काइदिने त्रासमा अफगानिस्तानमा रहेका चिनियाँ शरणार्थी उइगुर

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काबुल । अफगानिस्तानको सत्तामा तालिबानको कब्जापछि त्यहाँ रहेको उइगुर मुस्लिमहरु त्रसित बनेका छन् । उनीहरु डराउनुको कारण तालिबानले उनीहरुलाई चीन फर्काइदिन्छ कि भन्ने हो । चीनको सिनजियाङ प्रान्तबाट अफगानिस्तान पुगेका उइगुरहरु अहिले त्रसित बनेको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ ।

चीनको सिनजियाङ् प्रान्तका उइगर मुस्लिम समूदायमाथि चिनियाँ सरकारले दमन गरेको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आपत्ति जनाउँदै आएका छन् ।

सिनजियाङमा दमन भएपछि शरणार्थीका रुपमा अफगानिस्तान पुगेका उइगरहरुको संख्या करिब ३ हजार रहेको बताइएको छ । ती मध्येकी एक तुहानले तालिबानको कब्जापछि आफूहरुमाथि ज्यानकै खतरा रहेको सीएनएनसँग बताएकी छन् । उनले आफू र आफ्नो परिवारलाई तालिबानले चीन फर्काइदिएपछि के हुने हो भन्ने चिन्ता लागेको बताएकी छन् ।

तुहानको परिवार सिनजियाङलाई चिनियाँ कम्युनिष्ट पार्टीले कब्जामा लिएपछि ४५ वर्ष पहिला अफगानिस्तान पुगेका थिए । त्यतिबेला काबुललाई एसियाको पेरिस भनिन्थ्यो । तर हाल अफगानिस्तानमा तालिबानको कब्जापछि उइगुर मुस्लिम समुदाय तालिबानले चीन फर्काउने संत्रासमा छन् ।

तालिबान र चिनियाँ संस्थापनको सम्बन्ध सुमधुर रहेकाले पनि उनीहरुमा त्रास बढेको हो । चीन र अफगानिस्तानको सीमामा चीन विरोधी इस्लामिक धार्मिक समुदाय सक्रिय रहने चिन्ता चीनलाई छ । त्यसैले पनि उसले उइगुरहरुलाई अफगानिस्तानबाट फर्काउन तालिबानको सहयोग लिने सम्भावना छ ।

सिनजियाङका उइगुरहरुमाथि चिनियाँ कम्युनिष्ट सरकारले दमन गरेको, थुनामा राखेको, मानवअधिकारको उल्लंघन गरेको र जबरजस्ती काममा लगायतको अमेरिकालगायत पश्चिमा मुलुकहरुले आरोप लगाउँदै आएका छन् । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि