जेठ ०६, २०८१, आइतबार
               

तालिबानले अल्पसङ्ख्यक हजारा पुरुषहरूको यातना दिएर हत्या गरेको खुलासा

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

एजेन्सी । अफगानिस्तानको पहाडी मध्य भागमा बस्दै आएका हजाराहरूलाई तालिबानले यातना दिएर मारेको बिबिसीले जनाएको छ ।  तालिबानले हालै अफगानिस्तानको अल्पसङ्ख्यक हजारा समुदायका पुरुषहरूको "आमहत्या" गर्नुका साथै कतिपयलाई "क्रूरतापूर्वक यातना दिएको" एक अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेसनलले जनाएको छ ।

जुलाई महिनाको आरम्भमा अफगानिस्तानको गजनी प्रान्तमा तालिवानले त्यहाँका धेरै मानिसहरूको ज्यान लिएको घटनाका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आइतबार अफगान राजधानी काबुलमाथि कब्जा जमाएपछि तालिबानले आफूहरूको केही नरम छवि प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । तर, एम्नेष्टीका अनुसार उक्त हिंसात्मक घटना तालिबान शासनको "भयानक सङ्केत" हो ।

बिहीबार सार्वजनिक गरिएको एम्नेष्टीको प्रतिवेदनमा भनिएको देशको पूर्वी गजनी प्रान्तको मालिस्तान इलाकामा जुलाईको ४ र ६ तारिखका बीच नौजना हजारा पुरुषहरूलाई मारिएको थियो । स्थानीय गाउँलेहरूले सरकारी सेना र तालिबान लडाकुहरूबीच लडाइँ चर्किएपछि आफूहरू पहाडतर्फ भागेर गएको बताएका थिए । विवरणहरूका अनुसार ६ जनालाई गोली हानी मारिएको थियो । ती मध्ये धेरैलाई टाउकोमा गोली हानिएको थियो । र अन्य तीन जनालाई यातना दिएर मारिएको थियो ।

एकजना प्रत्यक्षदर्शीले तालिबान लडाकुहरूलाई तिमीहरूले किन यस्तो क्रूरता देखाएको भनेर प्रश्न गरेको बताएका छन् । एम्नेष्टीका अनुसार तालिबानको नियन्त्रणमा रहेका कतिपय क्षेत्रमा मोबाइल फोन सेवा काटिएको छ । त्यसका कारण पनि त्यहाँ भएको उक्त घटनाका बारे जानकारी हालसम्म बाहिर आउन सकेको थिएन ।

एम्नेष्टीले यस्ता घटनाका बारे छानबिन गर्न र जोखिममा रहेकाहरूको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गरेको छ । -बिबिसी


कस्तो लाग्यो ?

यो पनि