काठमाडौं । तालिबान विद्रोहीले शुक्रबार अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार कब्जा गरेको छ । लडाकुहरुले काबुलको सीमा नजिकैको प्रान्तीय राजधानी फुल–ए–आलम पनि नियन्त्रणमा लिएको छ ।
प्रमुख शहर तथा राजधानीमा कब्जा जमाउनुलाई तालिबानको ठूलो जित मानिएको छ । बीबीसीका अनुसार तालिबानले कब्जा गरेको प्रान्तीय राजधानी फुल–ए–आलम लोगार प्रान्तमा पर्दछ। लोगार प्रान्त काबुलदेखि मात्र ५० किलोमिटर टाढा छ । यहाँबाट केन्द्रीय राजधानी काबुल पुग्न मात्र दुई घण्टा लाग्छ ।
यसको मतलब जतिबेला पनि तालिबानले आक्रमण गरेर काबुल कब्जा गर्ने लक्ष्यनजिक पुगेका छन् । यससँगै तालिबानले ३४ मध्ये हालसम्म १४ वटा प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको छ ।
यसरी मुख्य मानिएका शहर तथा प्रान्तीय राजधानीलाई नै कब्जामा लिनु भनेको तालिबानको ठूलो जित हो । कान्दहार, हेरातजस्ता ठाउँमा सरकारी सेनाको बलियो उपस्थिति थियो, यद्यपि उनीहरुलाई हराएर तालिबानले देशै कब्जा गर्ने दृढतालाई थप मजबुत बनाएको छ ।
२० वर्षपछि अमेरिका लगायत नेटोमा आबद्ध विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किँदै गर्दा तालिबानको शक्ति मजबुत भएको छ । तालिबानहरु राजधानी काबुल नजिकैको शहरसम्मै पुगिरहँदा हजारौं विस्थापित भएका छन् ।
यसरी तालिबानले देश नै कब्जा गर्ने देखिएपछि अमेरिका र बेलायतले अफगानिस्तानबाट आफ्ना सबै नागरिक तथा कूटनीतिज्ञहरु फर्काउने तयारी थालेको छ । अमेरिकाले ३० दिनभित्र काबुल पनि तालिबानको हातमा जाने अनुमान गरेको छ । यद्यपि, तालिबानले त्यो भन्दा कम समयमै काबुल कब्जा गर्ने देखिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अफगान द्वन्द्वमा गत महिना मात्र एक हजारभन्दा बढी आमनागरिकको मृत्यु भएको थियो । सेना र लडाकुबीचको युद्धमा परेर उनीहरुको मृत्यु भएको हो ।