जेठ ०२, २०८१, बुधबार
               

यमनको मरिब भिडन्तमा कम्तीमा १११ जनाको मृत्यु

एजेन्सी
असार १५, २०७८

ADVERTISEMENT

साना । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ ।

हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो ।

बिहीबार र आइतबार भएका भिषण लडाईंमा सरकार समर्थित २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ । तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन ।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छन् ।संयुक्तराष्ट्र संघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरुले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् । यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ ।

यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताएका छन् । मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरुले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन् ।

यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ । राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ । युद्धका कारण यमनका दशौं लाख व्यक्ति विस्थापित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि