जेठ ०२, २०८१, बुधबार
               

अस्ट्रेलियाका विभिन्न सहरहरूमा कोरोना भाइरसकाे नयाँ प्रकोप देखिँदै

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

कोरोना भाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ।

अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ। उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ।

अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोना भाइरस सङ्क्रमण देखिएको हो। सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपत्‌कालीन छलफल गर्ने छन्।

विभिन्न राज्यहरूले सङ्क्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनवर्गले यो राष्ट्रका लागि ''निकै महत्त्वपूर्ण समय'' रहेको बताएका छन्।

''मलाइ लाग्छ की बढी सङ्क्रामक डेल्टा भेरिअन्टसँगै हामी महामारीको अर्को चरणमा प्रवेश गर्दैछौँ,'' फ्राइडनबर्गले सोमवार एबीसी न्यूजसँग भने। कोभिड सङ्क्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न सहरहरूमा लकडाउन लागू गरिएको छ। झन्डै ५० लाख मानिसहरू बसोबास गर्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको बिबिसीले जनाएकाे छ । 

महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कनट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोना भाइरस सङ्क्रमितको दर निकै कम छ।

यो वर्ष त्यहाँ कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३० हजार ४५० छ ।


कस्तो लाग्यो ?

यो पनि