बैशाख २५, २०८१, मंगलबार
               

इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरे । 

आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका हुन् ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । साठी वर्षीय हर्जोगले भने, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।”

हर्जोग यसअघि लाबोर पार्टीको पूर्वप्रमुखका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता थिए । उनी सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए । 

राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नु पर्दछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि