चैत १६, २०८०, शुक्रबार
               

भारतमा संक्रमितका लागि नयाँ औषधि प्रयोग गर्न अनुमति

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन रूपमा अनुमति दिएको हो ।

कोरोनाबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा औषधि कोभिडबाट पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक रहेको उल्लेख छ ।

तर केही आलोचकहरूले कोरोना उपचारको लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको औँल्याएका छन् ।

टू–डीअक्सी–डी–ग्लुकोज वा टू–डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ) ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो । भारतमा कोरोना संक्रमणका कारण मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।

‘क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन् । उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्दा समेत स्वीकृत नगरिएको उनीहरूले औँल्याएका छन् । 


कस्तो लाग्यो ?

यो पनि