बैशाख २०, २०८१, बिहीबार
               

१२ देखि १५ वर्षका अमेरिकीलाई कोभिड खोप दिइने तयारी

एजेन्सी
बैशाख २१, २०७८

ADVERTISEMENT

न्यु योर्क । अमेरिकाले १२ देखि १५ वर्षका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वीकृति दिने तयारी गरेको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृति दिने तयारी गरेको सङ्घीय अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम सले जनाएको छ ।

आउँदो साताको सुरुमा एफडिएले सो स्वीकृति जारी गर्ने तयारी गरेको उल्लेख छ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी गरिएको हो । खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिकामा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो ।

फाइजर खोपको आपतकालीन प्रयोग बालबालिकामा पनि बिस्तार गर्ने तयारी स्वरूप छलफल तथा परामर्श भएको एफडिएले बताएको समाचार संस्था रोयटर्सले पनि उल्लेख गरेको छ ।

फाइजरको खोप १६ वर्षमाथिका लागि अमेरिकाले यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ । फाइजरले भने बालबालिकामा पनि खोप स्वीकृत गर्ने बारे भइरहेको तयारीका सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) की निर्देशक रोशेल वालेन्स्कीले अप्रिलको सुरुमा फाइजर बालबालिका र किशोरकिशोरीका लागि मेको मध्यसम्ममा खोप स्वीकृत गर्न सकिने बताएकी थिइन् ।

मोदेर्ना तथा जोन्सन एन्ड जोन्सनले पनि आ–आफ्ना खोप १२ देखि १८ वर्षसम्मका बालबालिका तथा किशोर किशोरीमा सुरक्षित तथा प्रभावकारी रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरिरहेका छन् । मोदेर्नाको अध्ययनको नतिजा चाँडै आउने सम्भावना छ ।

फाइजर र मोदेर्नाले खोपको प्रभावकारिता ६ महिनादेखि ११ वर्षसम्मका बालबालिकामा कस्तो छ भनेर हेर्नका लागि पनि परीक्षण गरिरहेका छन् । ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २०२२ को सुरुमा तयार हुने दुवै कम्पनीले बताएका छन्।


कस्तो लाग्यो ?

यो पनि