अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः सुरु भएको बताएकाम छन् ।
उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण सुरु भइसकेको जानकारी दिएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी सुरु गरिसकेको पनि जनरल मिलरले बताए । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेकाे थियो ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताएका थिए । यसै महिनाको सुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गरेका थिए ।
अमेरिकाको वर्ल्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल–कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो । जनरल मिलरले काबुलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले तालिबान समूहका जिम्मेवार सदस्यहरुलाई देशभित्र हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेको बताए । यदि हिंसात्मक गतिविधि पुनः सुरु भए त्यो अफगानी जनता र देशकै लागि दुर्भाग्यपूर्ण हुने सन्देश आफूले तालिबानी नेताहरूलाई दिएको पनि जानकारी दिए ।
तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिबानीको सत्ता पतन भएको थियो ।
सन् २०२० मा तालिबानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्वनिर्धारित कार्यसूची रहेको छ ।
जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडाहरू अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिए ।