बैशाख २५, २०८१, मंगलबार
               

नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन् । हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो ।

गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाई भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूका अघिल्तिर सरकार गठनमा निकै ठूलो चुनौती छ । इजरायलको राजनीतिक इतिहासमा नेतन्याहू सबैभन्दा लामो अवधिसम्म अर्थात् १२ वर्षदेखि प्रधानमन्त्रीका रुपमा छन् । 

प्रधानमन्त्री नेतन्याहूले आफ्ना राजनीतिक प्रतिस्पर्धीसँग गठबन्धन बनाउन छ हप्ताको समयावधि पाएका हुन् । तर प्रधानमन्त्रीले विपक्षीहरूको समर्थन प्राप्त गर्ने सम्भावना ज्यादै न्यून रहेको जानकारहरूले बताएका छन् । यसैबीच, उनका प्रतिस्पर्धी दलहरूले पनि नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रयासलाई तिब्र बनाएका छन् । 

सत्तारुढ लिकुड पार्टीका सदस्यहरूसँगको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नेतन्याहूले आफू यहुदी र अरब, धार्मिक तथा धर्मनिरपेक्ष समेतका सबै इजरायली जनताको प्रधानमन्त्री हुन चाहेको बताए । 

“हामी सबैलाई समानताको व्यवहार गर्नेछौं,” भन्दै उनले पटकपटकको चुनावी चक्रबाट इजरायललाई बाहिर निकाल्ने तथा सबै इजरायली नागरिकका लागि बलियो सरकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इजरायलमा विगत दुई वर्षको अवधिमा कुनै पनि दलले संसदमा बहुमत सिद्ध गर्न नसकेपछि चौथो पटक संसदको निर्वाचन भएको हो । 

विगतमा झैं राष्ट्रपति रिभलिनले सोमबार इजरायली संसद नेसेटमा निर्वाचित भएका १३ दलका नेताहरूसँग परामर्श गरेका थिए । उनले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार छनौटका लागि उक्त परामर्श गरे पनि निकास निस्कन सकेको थिएन । 

बैठकमा प्रधानमन्त्री नेतन्याहू वा उनका मुख्य प्रतिस्पर्धी याइर लापिडबीच पनि सहमति जुटेको थिएन । उनीहरु दुबैले बहुमत सांसदको समर्थन प्राप्त गर्न असफल भएका थिए । इजरायली संसद १२० सदस्यीय रहेको छ । 

नेतन्याहूले २८ दिनभित्र संसदमा बहुमत हासिल गर्नु पर्नेछ । त्यस अवधिमा पनि बहुमत नजुटेको अवस्थामा राष्ट्रपतिले अरु दुई हप्ता थप गर्न सक्ने संवैधानिक प्रावधान छ । 


कस्तो लाग्यो ?

यो पनि