मंसिर ०६, २०८१, बिहीबार
               

म्यानमार आन्दोलन : शनिवारको सैनिक दमनको राष्ट्रसंघ, अमेरिकालगायत विश्वसमुदायद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनाप्रति राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबलेलगायतका अन्य मुलुकको नेतृत्वले दुःख व्यक्त गरेको छ । 

घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन् । 

उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।” 

म्यानमारस्थित अमेरिकी दूतावासले यसअघि नै सुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य ‘कू’ पछिको सबभन्दा बढी मानिस मारिएको वा घाइते भएको दिन भनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । शनिबार एक सयभन्दा बढी मानिस मारिएको बताइएको छ ।

शनिबारको सैनिक दमनपछि पनि राजधानी याङ्गुनका सडकमा टायर बाल्दै प्रदर्शनकारी सशक्त रूपमा सेनाको ‘अप्रजातान्त्रिक’ कदम र त्यसपछिका निरन्तर अभ्यासहरूको प्रतिकार गरिरहेका छन् ।
सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू सहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको बताइएको छ ।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले ९१ जना मारिएको जनाएको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमले उक्त सङ्ख्याभन्दा धेरै व्यक्ति हताहत भएको जनाएका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

आङ सान सु चीको दल ‘नेशनल लिग फर डेमोक्रेशी’ले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि