बैशाख १७, २०८१, सोमबार
               

म्यानमारमा के भएको हो ?

नारायण निरौला
चैत १५, २०७७

ADVERTISEMENT

शनिबार म्यानमारमा सैनिकले प्रदर्शनकारीमाथि दमन गर्दा ११४ भन्दा बढीले जनाले ज्यन गुमाएका छन् ।

फेब्रुवरी १ मा सैनिकले शासनसत्ता आफ्नो कब्जामा लिई जननिर्वाचित नेतृ आङसाङ सुकीसहित उनको दल नेस्नल लिग फर डेमोक्रेसीका नेता र अन्य सयौँलाई गिरफ्तार गरेयता म्यानमारमा देशभर आमविरोध तथा प्रदर्शन हुँदै आएको छ । 

यसरी सैनिक शासनविरुद्ध विरोध प्रदर्शनमा उत्रिनेहरुमाथि म्यानमार सैनिकले हिंसात्मक गतिविधि विस्तारै बढाउँदै लगेको छ । जसका कारण विरोध तथा प्रदर्शनमा उत्रिनेहरुमध्ये दर्जनौँले ज्यान गुमाएका छन् । सोही क्रममा शनिबार मात्रै ११४ जना बढीले ज्यान गुमाए भने सैनिक कुको विरोध गर्ने क्रममा सर्वप्रथम म्या थ्वे थ्वे काइङ प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए ।

पछिल्लो समय म्यानमारमा जे भइरहेको छ त्यसबारे संयुक्त राष्ट्रसंघ र अमेरिकालगायत अन्य देशले आपत्ति जनाउँदै आएका छन् । त्यसैगरी, माघ १९ मा नेपाल सरकारले म्यानमारमा भएको गतिविधलाई आफूले नजिकबाट नियालिरहेको बताएको थियो । आइतबार नेपाली कांग्रेसले म्यानमारमा शनिबार भएको घटनालाई लिएर आपत्ति जनाएको छ ।     

म्यानमारमा भएको के हो र किन ?
म्यानमारमा सेनाले शासन सत्ता आफ्नो हातमा लिएको छ र एक वर्ष लामो संकटकालको घोषणा गरेको छ। आङ साङ सुकी को एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आमनिर्वाचनपछि गत फेब्रुवरी महिनामा सेनाले सत्ता कब्जा गरेको हो।

सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका थिए। देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दावीलाई पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो।

नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुन लाग्दा त्यहाँ सैनिक कु भएको हो। घरमै नजरबन्दमा राखिएकी र भिडिओ-लिंकमार्फत् अदालतमा उपस्थिति जनाएकी नेतृ आङ सान सुकीलाई गैरकानुनी रूपमा वाकीटकी यन्त्र राखेको, गत वर्षको निर्वाचन प्रचारका क्रममा कोभिड-१९ सम्बन्धी सुरक्षा प्रतिबन्ध उल्लंघन गरेको र देशमा  चिन्ता तथा डर फैलाउने जानकारीहरू सार्वजनिक गरेको लगायतका अभियोग लगाइएको छ।

प्रधानसेनापति मिन आङ लाइङ ले सत्ताको बागडोर आफ्नो हातमा लिएका छन्। उनले पहिलेदेखि नै उल्लेखनीय राजनीतिक प्रभावको अभ्यास गर्दै आएका थिए र देश प्रजातन्त्रतर्फ अघि बढेको भए पनि म्यानमारको सेनामा उनले बलियो नियन्त्रण कायम राखेका थिए।

देशका जातीय अल्पसंख्यक समुदायहरूमाथि सेनाले गरेको आक्रमणमा रहेको भनिएको उनको भूमिकाका निम्ति उनलाई अन्तर्राष्ट्रिय रूपमा आलोचना गरिनुका साथै विभिन्न प्रतिबन्ध लगाएको छ । 

सैनिक कुपछिको उनको पहिलो सार्वजनिक टिप्पणीमा जेनरल लाइङले सत्ता कब्जा गर्ने कदमको औचित्य सावित गर्ने प्रयास गरेका थिए। उनले सेना जनताको पक्षमा रहेको भन्दै छिटै नै सच्चा र अनुशासित प्रजातन्त्र गठन गरिने बताएका थिए।

संकटकालको अन्त्यभएपछि देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराइने सेनाले बताएको छ। जनताले कस्तो प्रतिक्रिया जनाएका छन्?
सेनाले कु गरेपछि देशमा सन् २००७ मा भएको केशरी आन्दोलन भनिएको विरोध प्रदर्शनयता सबैभन्दा ठूला प्रदर्शन भएका छन्। त्यसबेला सैनिक शासनविरुद्ध केशरी रंगको पोशाक लगाउने हजारौँ बौद्ध भीक्षुहरूले प्रदर्शन गरेका थिए।

हाल सेनाको कदमका विरुद्ध जारी प्रदर्शनहरूमा शिक्षक, कानुन व्यवसायी, विद्यार्थी, बैंकका कर्मचारी र सरकारी सेवाका कर्मचारी पनि सहभागी भइरहेका छन्। सरकारले कर्फ्यु आदेश जारी गर्नुका साथै मानिसहरूको जमघटमा समेत प्रतिबन्ध लगाएको छ।

विरोध प्रदर्शनकारीहरूमाथि सुरक्षा सैन्यले पानीको फोहोरा, रबर गोली र साँच्चीकै गोलीगट्ठाको समेत प्रयोग गरेको छ।

बुहभाषी बसोबास गर्ने म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गोन हो भने राजधानी शहर नेप्यीडो हो। धेरैले मान्ने धर्म बौद्धधर्म हो। त्यहाँ रोहिन्ज्या मुस्लिम सहित थुप्रै जातीय समूह पनि छन्।

म्यानमार सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्रता हासिल गरेको हो। सन् १९६२ देखि २०११ सम्म त्यहाँ सैनिक शासन लागू थियो। र त्यहीबेलादेखि नयाँ सरकारले देशमा गैरसैनिक शासन फर्काउने प्रयास आरम्भ गरेको थियो।

बिबिसी विवरणमा आधारित

पत्रकार निरौला राजनीति तथा समसामयिक विषयमा कमल चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि