उइगर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै कैयौँ पश्चिमा देशहरूले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएका छन्।
धेरैजसो मुस्लिम भएको उक्त समुदायका मानिसहरूलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखी उनीहरूलाई यातना दिइएको, श्रममा लगाइएको र यौन दुर्व्यवहार गरेको चीनमाथि आरोप छ ।
युरोपेली सङ्घ, युके, अमेरिका र क्यानडाले समन्वय गरेर चीनमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।
चीनले आफूले दुर्व्यवहार गरेको भन्ने आरोप अस्वीकार गरेको छ। आतङ्कवादसँग जुध्नका लागि ती शिविरहरू ‘पुन: शिक्षा’ को सुविधाका लागि बनाइएको चीनको दाबी छ ।प्रतिक्रियास्वरूप चीनले पनि युरोपेली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।
युरोपेली सङ्घले सुरुमा प्रतिबन्ध घोषणा गरेपछि चीनले सोमबार त्यसलाई ‘केवल मिथ्या सूचना र असत्यमा आधारित’ भनेको थियो।