जेठ ०५, २०८१, शनिबार
               

फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गएरातिदेखि फेरि ‘लकडाउन’ सुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार यो लकडाउन कार्यक्रमको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री क्यास्टेकले फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा धेरै बढेको बताउँदै अब फ्रान्ससँग लकडाउन बाहेकको अर्काे कुनै पनि विकल्प नरहेको बताएका हुन् । भाइरसको प्रकोप बढेका यहाँका १६ ओटा राज्यमा लकडाउनको घोषणा गरिएको छ तर सो लकडाउन विगतको जस्तो नभएर केही हल्का भने गरिएको बताइएको छ ।

यो लकडाउनका समयमा मानिसहरूलाई अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्कने अनुमति दिइनेछ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ । विद्यालयहरू यहाँको सरकारले तय गरेका मापदण्डहरू पूर्णरुपमा लागू गरेरमात्र खोल्न सकिने बताइएको छ । त्यसैगरी काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

त्यसैगरी रेस्टुरेन्ट, बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् भने विद्यालय र उद्योगहरू खुला हुनेछन् । फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ भने दैनिक ३० हजारभन्दा बढी सङ्क्रमित थपिँदै गएका छन् ।

फ्रान्समा अहिलेसम्ममा ४२ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको सङ्ख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि