मंसिर ०७, २०८१, शुक्रबार
               

अस्ट्राजेनिकाको विवाद कायमै

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरूले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरू जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।

विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए)ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरूको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरिन् । उनले भनिन्, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।”

विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरूले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरूले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।

तैपनि, इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गर्नु भएको छ । कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ ।

नर्वेको राजधानी ओस्लोमा कोरोनाभाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरू घोषणा गरिएका छन् । यहाँ माध्यमिक विद्यालयहरू पनि बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

ओस्लो नगरका मेयर रेमन्ड जोहान्सेनले महामारी फैलिएयता पहिलोपटक यो सबैभन्दा कडा प्रतिबन्ध रहेको जानकारी दिनुभयो । “यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ ।”

बोस्नियामा पनि कोभिड अस्पतालहरू भरिभराउ भएका छन् र सरकारले बाध्य भएर आपतकालीन स्थितिको घोषणा गरेको छ ।

अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेखेकाे सन्देशमा अस्पतालका कर्मचारीहरू थकित भइसकेको उल्लेख छ । “हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरू बिरामी पर्न थालेका छन् ।” इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । यहाँ स्कुल, रेस्टुराँ, पसल र सङ्ग्रहालयहरू सबै बन्द गरिएका छन् । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरूले देशमा कोभिडको तेस्रो लहर शुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरू घोषणा गर्न अपिल गरेका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सोमबार नयाँ स्वास्थ्य मन्त्री नियुक्त गरे । यहाँ पनि कोभिडका नयाँ बिरामीको संख्या बढ्नुका साथै कोभिडको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि खोप प्रभावकारी हुनसक्ने भन्दै खोप निर्माणमा अभूतपूर्व प्रयत्न गरिएको थियो, र अहिले विश्व समक्ष केही विकल्पहरू तयार भइसकेका छन् ।

तर, निर्यात नियन्त्रण, कुटनीतिक असमझदारी र उत्पादनसँग सम्बन्धित मामिलाका कारण खोपको उपलब्धतामा प्रभाव परिरहेकै अवस्थामा अस्ट्राजेनिकाको प्रयोग स्थगनले अर्को समस्या थपेको छ । जर्मनीका अर्थमन्त्रीले जोन्सन एन्ड जोन्सनको खोप उत्पादन जर्मनीको आइडिटी बायोलोजिकाले उत्पादन गर्न लागेकाले त्यसबाट युरोपलाई फाइदा पुग्ने बताए ।

साथै रसियाको स्पुतनिक भी खोपका निर्माताहरूले केही प्रमुख युरोपेली मुलुकमा आफ्नो खोप उत्पादन हुने चरणमा रहेको बताएका छन् ।

चीनले पनि कोभिडका खोपहरू विकास गरेको छ र विश्वका धेरै मुलुकमा बिक्री गरिरहेको छ । चीनका खोपहरू युरोप, मध्यपूर्व र दक्षिण अमेरिका पुगेका छन् । सोमबार, चीनले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि तीन लाख डोज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । भारतले यसअघि नै शान्ति सेनाका लागि दुई लाख डोज दिने बताइसकेको छ । तर दुबै मुलुकले शान्ति सेनालाई कुन खोप दिने हुन् भन्ने खुलाएका छैनन् ।

चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याइसकेको छ, तर विदेशबाट कोभिड भित्रिने आशंकामा कडा यात्रा नियमहरू लगाइरहेको छ । तर खोप लगाएका फिलिपिनी नागरिकका लागि चीन भ्रमणलाई खुकुलो बनाएको सोमबार चीनले घोषणा गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि