जेठ ०२, २०८१, बुधबार
               

प्रदर्शनकारीलाई म्यानमारको सेनाको आह्वान

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर देखिएको छ । 

सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सोमबार पनि देशभरी शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन् ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । प्रदर्शनकारीहरूले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरै तिरबाट विरोध भइरहेको छ ।  सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि