जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा कोरोनाविरुद्धको खोप ५० लाखले लगाए

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या  बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र सात जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकैदिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि