जेठ ०१, २०८१, मंगलबार
               

युरोपेली मुलुकहरुमा कोरोना खोप अभियान सुरु

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेको छ । 

युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । 

फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिहरूलाई दिइने जनाइएको छ ।

कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । महामारी पूर्वतयारी सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताउनुभयो ।


कस्तो लाग्यो ?

यो पनि