मास्क नलगाई समुन्द्री किनारमा एक महिलासँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई तीन हजार पाँच सय अमेरिकी डलर जरिवाना गरिएको छ ।
डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन् ।
चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ ।
डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए ।
राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए ।
फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उनीहरुबीचको दूरी पनि कम देखिन्थ्यो ।