अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ ।
देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा भएको छ । उनको जितले आधिकारिकता पाएको छ ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन् । यस्तै, २३२ इलेक्टोरल कलेज मत पाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयले पनि औपचारिकता प्राप्त गरेको छ । अमेरिकी प्रणाली अनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् ।
बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गरेका छैनन् । उनले आफू इलेक्टोरल कलेज मतमा विजयी हुने दाबी गर्दै आएका थिए ।
विभिन्न प्रतिस्पर्धात्मक राज्यमा नतिजा उल्याउनका लागि गरेको ट्रम्पको प्रयास असफल भयो । उनले दायर गरेका मुद्दा प्रमाणको अभाव र आधारहिन आरोप भन्दै तल्लो देखि सर्वोच्च अदालतसम्मले खारेज गरेका छन् । तर पनि ट्रम्पले नतिजा भने स्वीकार गरेका छैनन् ।
सामान्यतया इलेक्टोलर कलेज सदस्यले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रियाले त्यति चासो पाएको हुँदैन ।
तर यो वर्ष ट्रम्पले नतिजा अस्वीकार गरेको र इलेक्टोरल कलेज मतमा नतिजा उल्ट्याउन प्रयास गरेकाले चासोको केन्द्रमा यो प्रक्रिया रहेको हो ।
अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिनेछन् ।