अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् ।
एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् । ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले एरिजोनामा १६ लाख ६८ हजार ६ सय ८४ मत प्राप्त गर्दा ट्रम्पले १६ लाख ५७ हजार २ सय ५० मत प्राप्त गरे ।
बाइडेन विजयी भइसक्दा निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुल २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सन् १९९६ यता पहिलो पटक एरिजोनामा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् ।
यसअघि सन् १९९६ मा बिल क्लिन्टन एरिजोनामा विजयी भएका थिए । फक्स न्युज र समाचार संस्था एपीले भने चुनाव सम्पन्न भएकै राति एरिजोनामा बाइडेन विजयी हुने प्रक्षेपण गरेका थिए ।
शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।
१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी नै छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् ।