बैशाख २२, २०८१, शनिबार
               

म्यानमारको सेना समर्थित पार्टीद्वारा फेरि मतदान गराउन माग

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

याङ्गुन । म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।

पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउन समेत माग गरेको समाचारमा जनाइएको छ । गत आइतबार मतदान भइ मंगलबार सार्वजनिक भएको मत परिणाममा सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी पार्टीले अत्याधिक ठाउँमा जित हासिल गरेको छ ।

नोवेल शान्ति पुरस्कार विजेता साङ साङ सूकी नेतृत्वको पार्टीले दोस्रो पाँच वर्षे कार्यकालका लागि जित हासिल गरेको हो । सैन्य शासनका विरुद्धमा लामो समय संघर्ष गरेकी सूकीको पार्टीले यसअघि पनि सन् २०१५ मा अत्यधिक बहुमत ल्याएर अहिलेसम्म सरकार सञ्चालन गरेको थियो । अहिलेको निर्वाचनले पनि सूकीको पार्टीलाई सत्तामा रहन निरन्तरता दिएको छ ।

असन्तुष्ट विपक्षी दलका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडि प्रदर्शन पनि गर्दै निर्वाचनको बैधता, निश्पक्षता, विश्वसनीयता र तटस्थतामा समेत प्रश्न उठाएका छन् । म्यानमारको संसद ३२२ सिट ल्याएमा बहुमत हुने भएपनि सूकीको पार्टीले ३६१ सिटमा जित हासिल गरेको छ ।

सेना समर्थित विपक्षी पार्टीले २१ सिटमा मात्रै सफलता प्राप्त गरेको छ भने अन्य दलहरुले ४८ ठाउँबाट जितेका छन् । सन् २०१५ को निर्वाचनमा सूचीको पार्टी ३९० स्थानमा विजयी भएको थियो भने सेना समर्थित पार्टीले ४१ सिटमा विजय प्राप्त गरेको थियो ।

म्यानमारमा साठी वर्षभन्दा बढी समय शासन गरेको सेनाको समर्थन प्राप्त दल यूएसडीपीले पुनः निर्वाचनको माग गरेपछि त्रास उत्पन्न भएको छ । कोरोना भाइरस महामारीका कारण आयोगले व्यवस्था गरेको अग्रिम मतदानमा अनियमितता भएको आरोप सेना समर्थित पार्टीले लगाएको छ ।

सेनाको सहभागितामा निर्वाचन आयोगले फेरि निर्वाचन गर्नुपर्ने उनीहरुको माग छ । निर्वाचन आयोगले भने प्रमुख प्रतिपक्षी दलले लगाएको आरोपको खण्डन गर्दै फेरि निर्वाचनको सम्भावना नरहेको स्पष्ट पारेको छ ।

निर्वाचन पर्यवेक्षण गरेका राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय संस्थाले पनि म्यानमारमा स्वतन्त्र र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको भन्दै निर्वाचन आयोग र राजनीतिक दलहरुलाई बधाई दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि