जेठ ०१, २०८१, मंगलबार
               

नव निर्वाचीत अमेरिकी राष्ट्रपति बाइडनले कोरोनाको महामारीलाई पहिलो प्राथमिकता दिने

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

एजेन्सी । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन् ।

उनको टोलीका अनुसार अमेरिकामा कोरोना भाइरस परीक्षणको दायरा बढाइनेछ भने सर्वसाधारणहरूलाई मास्क लगाउन भनिने छ । बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

तर, ट्रम्पले हार स्वीकारेका छैनन्

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडनको जित प्रक्षेपणमै सीमित छ । साथै, केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी रहेको छ ।

तर, अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्नेछ । त्यस्तै, अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ ।

ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन्। 

‘निको हुने समय’

राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो ‘निको हुने समय’ भएको बताएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई विभाजित हैन एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शनिबारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।

‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ उनले भने, ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु, जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य अमेरिका देख्छ ।’ 

यो पनि