जेठ ०४, २०८१, शुक्रबार
               

बाइडेनको जित्ने दाबी, ट्रम्पको कानुनी चुनौती : संक्रमणकालीन वेबसाइट सुरू

एजेन्सी
कात्तिक २०, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ ।

मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको अमेरिकाको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन् ।

क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा 'कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाण' नरहेको बताएका छन् ।

अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए ।

'हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहने छौँ', क्रेब्सले भने ।

शपथग्रहण

स‌ंयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनामा गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण जनवरी २० मा मात्रै हुन्छ  ।

निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति-निर्वाचित उम्मेदवारले 'सङ्क्रमणकालीन टोली' बनाउने गर्छन् ।

संक्रमणकालीन वेबसाइट

अहिलेसम्म अमेरिकी निर्वाचनको मतगणनामा जो बाइडेन वा डोनल्ड ट्रम्प कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन् ।

दुवै उम्मेदवारले आफू विजयतर्फ उन्मुख भएको दाबी गरिरहेका छन् ।

यसैक्रममा बाइडेनको टोलीले भने नयाँ बेवसाइट सुरु गरेको छ ।

यसमा लेखिएको छस् 'देशले सामना गरिरहेको सङ्कट गम्भीर छ- महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङ्क्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ जसले गर्दा बाइडेन-ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस् ।'

बुधवार बाइडेनले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पहिलो दिनमा पुनस् जोडिने वाचा दोहर्‍याएका थिए । सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय स्वरूप बुधवार नै अमेरिका औपचारिक रूपमा छुट्टिएको छ ।

कडा प्रतिस्पर्धा

मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ ।

जो बाइडेनले आफ्नो महत्त्वपूर्ण अग्रता देखिएपछि भनेका छन्, 'जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।'

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सिल्भेनिया र जोर्जिआमा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ ।

त्यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो ।

मत परिणाम

पछिल्लो मतगणना अनुसार बाइडेनले २४३ इलेक्ट्रोल मत पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । ​बाइडेनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ । 

बाइडेनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको अग्रता कायम राखेमा निर्वाचन जित्ने भएका छन् । 

ट्रम्पले भने मतगणनामा धाँधली भएको भन्दै कानुनी दाउपेचमा लागेका छन् । साथै, ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाँधली भएको भन्दै यो मत गणना हुन नहुने बताउँदै आएका छन् । 

कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको जनाइएको छ । 

यो पनि