मंसिर ०७, २०८१, शुक्रबार
               

इङ्गल्यान्डमा पुनः राष्ट्रव्यापी लकडाउनको घोषणा, पारिवारीक भेटघाटमै कडा नियम

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

लण्डन । बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाको लागि स्वास्थ्य तथा नैतिक संकट रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस निकै फरक हुनसक्ने बताएका छन् ।

उनले कोरोना भाइरस महामारी नियन्त्रणको लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारको सदस्यहरूबीच भेट हुनसक्ने वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गरेका छन् ।  

प्रधानमन्त्रीले रेष्टुरेन्ट, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताएका छन् । तर, यस अघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ । 

पछिल्लो निर्णय अनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

प्रधानमन्त्री जोनसनले भनेका छन्, ‘यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ, तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्नसक्ने स्थिति आउन सक्छ ।’

प्रधानमन्त्रीले ‘डाउनिङ स्ट्रीट’मा पत्रकार सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि दुखी भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने नीति नोभेम्बरसम्म जारी हुने बताएका छन् ।

एप्रिलमाभन्दा अझ बढी कोरोना संक्रमण दर र मृत्यु दरका कारण नयाँ बन्दाबन्दीको घोषणा गरिएका बताउँदै उनले कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले त्यसलाई नजरअन्दाज गर्न नसक्ने धारणा राखेका छन् । 

अहिले कोरोना संक्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोनसनले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि