चान्सलर एन्जेला मार्केलले जर्मनीमा दोस्रो चरणको लकडाउन घोषणा गर्दा सार्वजनिक कार्यक्रम, सभा सम्मेलन एवं बार, रेस्टुरेन्ट, थिएटर, कन्सर्ट हल, जिम र ट्याटू पार्लरहरू बाध्यात्मक रुपमा सबै बन्द गरिएको छ। लकडाउन अवधिमा विद्यालय र केयर सेन्टरहरू भने खुलै रहने बताइएको छ ।
महामारीबीच शैक्षिक संस्था खुला राख्नुको आलोचना भएको छ । तर, उच्च सतर्कता र सुरक्षा मापदण्ड पूरा गरी शिक्षक र विद्यार्थीलाई पठनपाठनका लागि तयार आह्वान गरिएको छ । न्यूयोर्क टाइम्सले जनाए अनुसार महामारी सुरु भएदेखि प्रभावित पढाईलाई निरन्तरता दिन विद्यालय खुला राखिएका हुन् ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले पनि नयाँ चरणको लकडाउनमा शैक्षिक संस्थाहरू बन्द नगर्ने बताए । आयरल्याण्डले पनि यस महिनाको सुरुवातमै राष्ट्रव्यापी लकडाउन घोषणा गर्यो । त्यहाँ पनि विद्यालयहरू बन्द गरिएका छैनन् ।
आइरिस प्रधानमन्त्री मिसेल मार्टिनले लकडाउनका कारण देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई केही न्यून गर्न पनि शैक्षिक संस्था खुला राखेको बताए । उनले भने,'हामी हाम्रा बालबालिका र युवाको भविष्यलाई एउटा भाइरसकै कारण रोकिराख्न सक्दैनौं । उनीहरूलाई शिक्षा दिन आवश्यक छ ।'
स्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम विद्यालयमा कम हुने बताएपछि प्राय युरोपेली देशले पठनपाठन ठप्प गरेनन् । विद्यार्थीहरूलाई अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न लगाइएको छ ।