बैशाख २१, २०८१, शुक्रबार
               

भक्तपुरमा लुटपाट गर्ने महिलासहितकाे समूह पक्राउ

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले डलर देखाएर अर्कालाई लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमिस्थित विभिन्न क्षेत्रमा अमेरिकी डलर देखाउँदै विभिन्न व्यवसायी, व्यापारी र विदेशबाट आएका व्यक्तिहरुलाई लुटपाट गरेको आरोपमा एक महिलासहित पाँचजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ निवासी हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्दै आएका ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर निवासी तथा हाल मध्यपुर थिमि नगरपालिका–९ बस्दै आएका ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट दुई लाख ४२ हजार ९३५ रुपैयाँ, विभिन्न कम्पनीका पाँच थान मोबाइल, दुई थान मोटरसाइकल र डलर भनी झुक्याउन तयार गरेको कागजको बिटो दुई बण्डल समेत बरामद गरेको छ ।

उनीहरुले व्यापारी, व्यवसायी र विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै आफूसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र डलर सस्तोमा साटिदिन्छु भनी बहाना बनाएर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ ।

सोही क्रममा गत भदौ ८ गते सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिक काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई पाँच लाख रुपैयाँ लुटपाट गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

सो घटनामा संलग्नहरुको खोजतलास गर्दै जाँदा शुक्रबार साँझ मध्यपुर थिमि–९ बाट प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानमा तीनजनाको लुटपाटको घटनामा संलग्नता नदेखिएपछि तत्काल छाडिएको प्रनाउ गिरीले बताए। प्रहरीले घटनामा संलग्न अन्यको खोजी गरिरहेको जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि