काठमाडौं । भारतमा पछिल्ला दिनमा कारोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख २० हजार ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिए छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २९० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसको कारण भारतमा ८२ हजार ६६ जनाको मृत्यु भइसकेको छ ।
भारतमा ३९ लाख ४२ हजार ३६१ संक्रमित निको भएर घर फर्किएका छन् । साथै नौ लाख ९५ हजार ९३३ संक्रमित निको हुन बाँकी छन् ।
संक्रमित संख्याको आधारमा भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने दोस्रो मुलुक हो ।
पहिलो स्थानमा अमेरिका छ । अमेरिकामा अहिलेसम्म ६६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।