जेठ ०४, २०८१, शुक्रबार
               

रुसले बनाएको खोप प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव : अध्ययन

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भिक परीक्षणले देखाएको उल्लेख गरेका छन् ।

मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट पनि नदेखिएको उल्लेख छ ।

रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वको पहिलो देश हो ।

रुसले हाल प्रारम्भीक परीक्षणको नतिजा सार्वजनिक गरेर आलोचकलाई जवाफ दिन खोजेको हो । गएको महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए ।

कुनै पनि नयाँ खोप बन्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको स्वीकृतिका लागि तीन चरणको परीक्षण हुनु पर्ने भए पनि रुसले त्यो पूरा गरेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि